शनिबार ११ मंसिर २०७८

सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप लगाउने जनप्रतिनिधि र संचारकर्मीको संख्यात्मक उपस्थिति अतिनै कम रहेको जनाएको हो ।

सोमबार साँझ सम्म प्राप्त विवरणका आधारमा स्वास्थ्य कार्यालयले तयार पारेको रिपोर्टमा खोप लगाउनेमा सबै भन्दा कम संख्या स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको रहेको ।कार्यालयका अनुसार जनप्रतिनिधि र कर्मचारी तर्फ मात्र ९ प्रतिशत अर्थात २ सय २६ जना कोरोनाको खोप लगाएका छन् ।त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर जम्मा ५४ जना संचारकर्मीले कोरोना विरुद्धको खोप लगाएका छन् । उक्त संख्या भने २० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।दोस्रो चरण अन्र्तगत थालिएको खोप अभियानमा सोमबार सम्म ४ हजार ३ सय १२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त संख्या कुल लक्षित वर्गको ६० दशमलव २ प्रतिशत हो ।सुनसरीमा दोस्रो चरणमा खोप लगाउनेमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतको संख्या ६ सय १३ रहेको छ । त्यसैगरी निजामति सेवाका कर्मचारी ८ सय २० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जनपथ प्रहरी ५ सय ३० , बीओपीमा खटिएका सशस्त्र प्रहरी ८ सय ६२ र बैंक तथा वित्तिय संस्थाका कर्मचारी ७ सय १७ जनाले खोप लगाएको कार्यालयले जनाएको छ ।खोप लगाउनेमा प्राधिकरणका कर्मचारीको संख्या ३ सय २९ जना रहेको छ भने अदालतका न्यायाधिश लगायत सरकारी वकिल, कानुन समूहका कर्मचारी गरी ३१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिङ्थेपले जानकारी दिइन् ।लिङ्थेपले जनमानसमा व्याप्त गलत धारणाका कारण खोप लगाउनेको संख्यामा कमी देखिएको बताइन् । उनले स्वयं सचेत र जिम्मेवार नागरिकलेनै खोप नलगाउँदा सर्वसाधारणमा अन्यौलता बढेको बताइन् ।

यद्यपि खोप लगाउनेको संख्या भने क्रमशः बढ्दै गएको उनले बताइन् । उनले केही पालिका र स्थानमा माग बमोजिम खोप केन्द्र थप गरिएको समेत बताइन् ।यसैबिच लिङ्थेपले खोप प्रतिको नराकात्मक धारणा चिर्नको लागि जिल्लामा छिट्टै सचेतना मूलक कार्यक्रम थाल्न लागेको बताइन् । संचारकर्मी मार्फत जनमानसमा रहेको भ्रम चिर्ने प्रयास चाल्न लागेको उनले बताइन् ।उता स्वास्थ्य प्रमुख सागर प्रसाईले कोरोना खोप लगाउनेको संख्या सुरुवातमा कमी देखिएपनि विस्तारै बढ्दै गएको बताए । उनले खोपकै कारण नेपालमा कसैमा पनि गम्भिर समस्या नदेखिएको बताउदै ढुक्क रहन आग्रह गरे । प्रसाइले स्वयं जिम्मेबार नागरिकको वेवास्ताको कारण आशातित सफलता भने हात लाग्न नसकेको बताए ।सुनसरीमा पहिलो चरणमा ५ हजार ४ सय २० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए ।


Last Updated on: March 4th, 2021 at 6:43 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया