बिहिबार १० आषाढ २०७८

प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिन्धुपाल्चोकको बाह्रविसे पुगे । बाह्रविसेमा देउवाले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको धारणा त राखे । सँगसँगै सर्वोच्च अदालतबाट संसद बिघटनको पक्षमा निर्णय आए पार्टीले चुनावमा भाग लिन्छ भन्न भने छुटाएनन् । ‘कांग्रेस स्वतन्त्र अदालतको सम्मान गर्छ,’ देउवाले भने, ‘स्वतन्त्र रुपले अदालतले काम गर्न पाउनु पर्छ । अदालतले जे निर्णय गर्छ, कांग्रेसले मानेर अघि बढ्छ’ उनले भने ।

अदालतलाई पार्टीले स्वतन्त्र मान्छ । पुनःस्थापना भए सक्रियतापूर्वक चुनावमा भाग लिन्छौँ । बिघटनकै पक्षमा निर्णय आए पनि स्वीकार्छौँ ।’ ‘प्रजातान्त्रिक पार्टीले अदालतमा विचाराधिन मुद्दामा आन्दोलन, जुलुस गर्न मिल्दैन । त्यसैले यस विषयमा कांग्रेस केही बोल्दैन ।’ उनले चुनावलाई ध्यानमा राखेर कांग्रेसले गाउँ–गाउँमा चुनावी गतिविधि थालिसकेको पनि बताए । उनको भनाइले उनी निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्छ ।

देउवा प्रधानमन्त्री बन्न पाउने लालसामा ओलीको कदमको पक्षपोषणमा लागेको विश्लेषण गर्न थालिएको छ । नेकपा विभाजनको फाइदा उठाएर निर्वाचनमा जाने र त्यसबाट आफ्नो दल ठूलो हुने आशामा देउवा देखिएका छन् ।

आफ्नै दलभित्रको विवादले उग्र रुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरे । यसले उनको दल दुई समूहमा विभाजित भयो । प्रतिनिधि सभा विगटनले नेकपा मात्रै होइन कांग्रेसमा पनि दुई धार छ । यस विषयमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका विपरीत धारणा छन् । सरकारले असंवैधानिक र अलोकतान्त्रिक भएको कांग्रेसको ठहर छ । यसका विरुद्धमा कांग्रेस एक चरण विरोध प्रदर्शन पनि गरिसकेको छ ।

देशभर भएका विरोध सभामा कांग्रेसका अधिकांश नेताले ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताए । तर सभापति देउवाले भने यस विषयमा खासै टिप्पणी गर्न चाहेनन् । सर्वोच्चमा विचाराधीन मुद्दा भएकोले टिप्प्णी नगर्ने उनको भनाइ छ । देउवाको यही भनाइले उनी संसद पुनःस्थापना भन्दा पनि निर्वाचनको पक्षमा रहेको देखिन्छ ।

उता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने संविधान बचाउन पनि संसद पुनःस्थापना गराएरै छोड्नुपर्ने बताउँदै आएका छन् ।


Last Updated on: January 13th, 2021 at 6:09 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया