मंगलबार ०८ आषाढ २०७८


झापा। देशमा राजावादीहरूले राजसंस्था पुनस्थापनाको माग गर्दै आन्दोलन गरिरहेका वेला पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएका छन्। सार्वजनिक कार्यक्रममा विरलै देखिने पूर्वराजा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको एक सार्वजनिक कार्यक्रममा शनिबार सहभागी भए। यद्यपि, उनले भाषण भने गरेनन्।

भद्रपुर-२ स्थित गौरीशंकरमा रहेको सिंहदेवी आधारभूत विद्यालयमा हिमानी ट्रस्टले आयोजना गरेको राहत वितरण कार्यक्रममा उनी सहभागी भएका हुन्। कार्यक्रमस्थलमा उनी करिब एक घन्टा रहे। उक्त कार्यक्रममा शाहसँगै पूर्वयुवराज्ञी हिमानी र छोरा हृदयेन्द्र पनि सहभागी भएका थिए। कार्यक्रममा सहभागी पूर्वराजाले जातीय पहिरनमा सजिएका बालिकाहरूलाई स्टेजमै बोलाएर केहीबेर सँगै बसे।

पूर्वराजा आएपछि विद्यालय परिसरमा भेला भएका राजावादीहरूले उनको पक्षमा नारा लगाएका थिए। एक महिनाअघि झापामा राजसंस्थाको पुनस्थापनाको माग गर्दै भएको प्रदर्शनमा समर्थनको बाक्लो उपस्थिति भएपछि उनी राजा समर्थक झापाली नेताहरूसँग खुसी थिए। पूर्वराजा शाह दुई सातादेखि झापामै छन्। उनी दमकस्थित हिमालय महालक्ष्मी चियाबगानभित्र रहेको मिनी दरबारमा बस्दै आएका छन्।


Last Updated on: January 13th, 2021 at 6:50 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया