सोमबार १३ मंसिर २०७८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको झगडाले उग्र रूप लिएपछि पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय भयो । प्रचण्ड प्रधानमन्त्री बन्न खोज्दा ओलीले हुन नदिएपछि झगडा चर्किएको थियो ।

यस्तै झगडामा संसद विघटन भएपछि पार्टी विभाजन भयो । प्रचण्ड पक्षका मन्त्रीहरू राजीनामा दिएर सरकार छाडेर हिँडे । यसरी राजीनामा दिने मन्त्रीहरूमा प्रचण्डकी बुहारी बिना मगर समेत थिइन् ।

खानेपानीमन्त्री बिना मगरले आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौं ल्याउने सपना देखेकी थिइन् । यस्तो सपनाबारे विभिन्न भाषणमा बताउने पनि गरेकी थिइन् । तर ससुरा प्रचण्डको झगडाका कारण उनले मेलम्चीको पानी काठमाडौं नल्याएरै राजीनामा दिनुपर्ने अवस्था आयो ।

आज शनिबार मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलसम्म आएको छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिवार पानी सुन्दरीजलमा खसालिएको हो । परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिवार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताएका छन् ।

यस्तो विशेष अवसरमा आफ्नो नाम लेखाउने मौका बिना मगरले गुमाउनुपरेको छ । मेलम्चीको पानी काठमाडौं ल्याउने दशकौंदेखिको सपना उनकै कार्यकालमा पूरा भएको भए उनको नाम इतिहासमा लेखिन्थ्यो । तर उनले इतिहासमा नाम लेखाउन नपाई मन्त्री पदबाट हात धुनुपर्‍यो ।

अब प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री मणि थापाको नाम इतिहासमा लेखिने देखिएको छ । प्रधानमन्त्री ओलीले सुरुङको अवलोकन गरेपछि बटम थिचेर मेलम्चीको पानी सुन्दरीजलमा झरेको छ ।

फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा दोस्रो पटक सुरुङ परीक्षण थालेको थियो । आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सुरुङ परीक्षण सुरू गरिएको छ ।

सुरुङ परीक्षणलाई सुन्दरीजल प्रशोधन केन्द्र परीक्षणका लागि २ महिना छुट्याइएको छ । त्यसपछि मेलम्चीको पानी संघीय राजधानी काठमाडौंमा वितरण सुरू गर्न सकिने आयोजनाले जानकारी दिएको छ । पहिलो चरणको पानी फोहोर आएकाले बागमती नदीमा मिसाइएको हो ।

यसअघि १२ दिन पहिले खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कन्ट्रोल रुममा रहेको स्वीच अन गरी पानी सुरुङतर्फ पठाएका थिए ।

करीब २ दशकअघि सुरू भएको आयोजनाको म्याद पटक–पटक सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल ल्याइएको छ । अम्बाथानबाट २६ किलोमिटर सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजल ल्याउन लागिएको हो । परीक्षणका क्रममा प्रतिसेकेन्ड २६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको आयोजनाले जनाएको छ ।

यसअघि असार २१ गते पहिलो पटक सुरुङ परीक्षण गरिएको जनाइएको छ । त्यसको ९ दिनमा असार ३० गते १७ नम्बर गेटको ढोका फुटेर आयोजनाका कर्मचारीको मृत्यु समेत भएको थियो । दुर्घटनापछि प्राविधिक रूपमा अध्ययन गरी पूर्ण रुपमा मर्मत गरेर सुरुङ परीक्षण गरिएको छ ।

आयोजनाको काम सन् २०१३ सेप्टेम्बरमा सक्ने गरी २००९ सेप्टेम्बरमा सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिइएको भए पनि कम्पनीले ठेक्का तोडेपछि इटालियन कम्पनीलाई काम दिइएको थियो । त्यो कम्पनीले समेत अन्तिम समयमा सम्झौता तोडेपछि पुनः ठेक्का गरी चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको फिनिसिङ सकेपछि आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको हो । त्यसको ७ वर्षपछि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी भएको छ ।

मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने अन्तिम तयारी भइरहँदा लामो समय खानेपानीमन्त्री रहेकी बिना मगर भने टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आएको छ । ओली र प्रचण्डको सम्बन्ध धेरै बिग्रिएका कारण बिना मगर सरकारका मन्त्री वा ओलीसँग सार्वजनिक कार्यक्रममा सँगै देखिने अवस्थामा समेत छैनन् ।मिडिया डबलीबाट


Last Updated on: March 7th, 2021 at 7:13 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया