मंगलबार १४ मंसिर २०७८

एजेन्सी – मानिसहरुलाई कुनै कुरामा चित्त बुझेन भने रिस उठ्छ। त्यो सामान्य कुरा हो। तर, कोहीकोहीको रिस ज्यानै लिने वा ज्यानै दिने किसिमको हुन्छ। भारतमा एक महिलाले रिसाएर आफ्ना तीन जना छोराहरुलाई विष खुवाएर आफूले पनि विष खाएकी छिन्।

उनको रिसको कारण अचम्मलाग्दो छ। उनले देवरको आफ्नो बिहेमा भन्दा धेरै गहना किनिएको रिसमा त्यस्तो कुकर्म गरेकी हुन्। बुधबार राती विष पिएकी यी महिला र उनका एक छोराको मृत्यु भएको छ। अन्य २ छोराहरु जीवितै रहेको बताइएको छ।

हिन्दूस्तान दैनिकका अनुसार भारतको उत्तर प्रदेशको देवरियाकी ३२ वर्षकी रंगीता देवीका देवर अम्बुजको बिहे हुने तय भइसकेको छ। यसको लागि १० दिन पहिले गहना किनिएको थियो। रंगीता देवीलाई बिहेमा जति गहना दिइएको थियो त्यो भन्दा अहिले कानको टपहरु बढी किनिएको थियो। उनले यसबारे घरमा आफ्नो असन्तुष्टि प्रकट गरेकी पनि थिइन्।

घरकाले उनको कुरालाई खासै चासो दिएनन्। बुधबार राती खाना खाएपछि उनी छोराहरु लिएर सुत्न गइन्। रिसमा रहेकी उनले किटनाशकको घोल बनाएर छोराहरुलाई खुवाएर आफूले पनि खाइन्।

रंगीता र उनका छोराहरु १० वर्षका जयराज, ६ वर्षका शिवराज र ५ वर्षका रामराजलाई अस्पताल लगियो। बरहज स्वास्थ्य केन्द्र पुग्दा रंगीताको मृत्यु भइसकेको थियो। तीन छोराहरुलाई जिल्ला अस्पताल रिफर गरिएकोमा माइला छोरा शिवराजको पनि मृत्यु भयो। अन्य दुई छोराहरुलाई भने स्वास्थ्यमा सुधारपछि डिस्चार्ज गरिएको छ।


Last Updated on: March 7th, 2021 at 7:07 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया