सोमबार १३ मंसिर २०७८

लन्डन (बीबीसी)। पूर्वी अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मागाफुलीले उनको देशले कोरोनाभाइरसमाथि विजय प्राप्त गरेको दाबी गरेका थिए भने खोपको खरिद आदेश दिन पनि अस्वीकार गर्दै आएका थिए।

तर बितेको ११ दिनदेखि सार्वजनिक कार्यक्रमा देखा नपरेपछि उनको स्वास्थ्यलाई लिएर प्रश्नहरू उब्जिएका छन्। तान्जानियाका मुख्य विपक्षी दलका नेता टुन्डु लिसुले राष्ट्रपति मागाफुली कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि सिकिस्त हालतमा केन्याको राजधानी नाइरोबीस्थित एक अस्पतालमा रहेको सूत्रहरूबाट थाहा पाएको बताएका छन्। बीबीसीले यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

कोभिड व्यवस्थापनमा आलोचना

मागाफुलीको सरकारले कोभिड-१९ को व्यवस्थापनलाई लिएर निकै आलोचना बेहोरिरहेको छ। उनको सरकारले कोभिडविरुद्ध खोप समेत किन्न अस्वीकार गरिरहेको छ। तान्जानियाले देशमा कोरोनाभाइरस मामिलाका विवरण मे महिनायता प्रकाशन गर्न पनि छाडिसकेको छ।

६१ वर्षीय राष्ट्रपति मागाफुलीले भाइरसलाई हराउन बरू प्रार्थना गर्न अनि जडिबुटीसहित बाफ लिन आह्वान गर्दै आएका थिए। मृत्यु भएका एकजना वरिष्ठ सहयोगीको अन्तिम संस्कारमा केही साता अगाडि बोल्दै राष्ट्रपति मागाफुलीले तान्जानियाले कोभिडलाई गत वर्ष पनि पराजित गरेको र यो वर्ष पनि पराजित गर्ने बताएका थिए।

देशको अर्ध स्वायत्त जन्जिबार टापुका उपराष्ट्रपतिको कोभिड-१९ को उपचारका क्रममा मृत्यु भएको केही घण्टापछि ती सहयोगीको मृत्यु भएको थियो।

‘गैरजिम्मेवार मौनता’

निर्वासित अवस्थामा हाल बेल्जियममा रहेका विपक्षी नेता टुन्डु लिसुले बीबीसीसँग बोल्दै राष्ट्रपति मागाफुलीलाई सोमवार राति विमानबाट नाइरोबी अस्पताल लगिएको बताए। उनका अनुसार राष्ट्रपतिलाई हृदयाघात समेत भएको छ र उनी सिकिस्त हालतमा छन्।

सरकारले यसबारे कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन। उसले राष्ट्रपतिको स्वास्थ्यबारे अपुष्ट सामग्री नछाप्न सञ्चारमाध्यमहरूलाई सचेत गराएको छ। मागाफुलीलाई पछिल्लोपटक फेब्रुअरी २७ मा राजधानी दारेसलाममा देखिएको थियो।

नाइरोबीस्थित अस्पतालले पनि टिप्पणी गर्न अस्वीकार गरेको छ। विपक्षी नेता लिसुले सरकारले प्रतिक्रिया नजनाएर गैरजिम्मेवार र घातक हुनसक्ने काम गरिरहेको बताएका छन्। सरकारको मौनताले हल्ला फिँजिएको भन्दै उनले राष्ट्रपतिको स्वास्थ्य निजी विषय हुन नसक्ने बताए।

भाइरसको महामारीका समयमा बेवास्ता गर्दै आएकाले उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको भए त्यसलाई मानिसहरूले आश्चर्यको विषय नमान्ने लिसुले बताए। “उनले कहिलेपनि मास्क लगाएनन्। विश्वभरि मानिसहरूले अपनाइरहेका सावधानी नअपनाई उनी ठूला सभाहरूमा हिँडडुल गरिरहे,” लिसुले भने।

“उनले बारम्बार अनि सार्वजनिक रूपमै स्थापित औषधिहरूको साटो प्रार्थना अनि अपुष्ट जडिबुटीमा भर गरिरहे।”


Last Updated on: March 11th, 2021 at 4:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया