आइतबार १९ मंसिर २०७८

२५ वर्षकी छोरीले आफ्नी आमालाई आफूले बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा पढ्नको लागि स्थान पाएको भनेर ढाँटिन् । आमासँग पैसाको नाममा केही पनि थिएन । ती आमाले आफ्नी छोरीलाई विदेशमा पढ्ने खर्च जुटाउनको लागि वर्षौंसम्म फूल बेचेर पैसा कमाएर छोरीलाई पठाइरहिन् ।

टर्कीकी मेर्वे बोज्कर्ट नामकी ती युवतीले ५७ वर्षकी आमा गुलसेरेनलाई आफूले अक्सफोर्ड विश्वविद्यालयमा डिग्री लिनको लागि पढ्ने क्रममा लाग्ने खर्च तिर्न थप पैसा चाहिने बताएकी थिइन् । तर, आमाले पठाएको पैसाले उनी विलास जीवन बिताउँथिन् र मोजमस्ती गर्थिन् ।

बेर्वेले आमालाई ढाँटेकी थिइन् जबकि उनीसँग पासपोर्टसमेत थिएन । उनले देश नै छाडेकी थिइनन् र उनले इस्तानबुलमा रियलस्टेट एजेन्टको रुपमा काम गरेर बसेकी थिइन् । जब एक स्थानीय टेलिभिजनले उनकी आमाको कठिन परिश्रम र परिवारको लागि उनले गरेको अतुलनीय त्यागको बारेमा एक फिचर रिपोर्ट बनाएपछि मात्रै ती छोरीको पोल खुलेको थियो ।

ती वृद्ध महिलाको सन्तानप्रतिको समर्पण तत्कालै भाइरल भयो । यससँगै उनलाई आर्थिक सहयोगदेखि उनकी छोरीलाई पाँचौं वर्षको अध्ययन पूरा गर्दासम्मको लागि पढाइको सबै खर्च ब्यहोरिदिनेसम्मका प्रस्ताव आए ।

वृद्ध महिलाको कठिन परिश्रमको कथा भाइरल भएसँगै उनकी छोरीको खोजी सुरु भयो तर अक्सफोर्ड विश्वविद्यालयमा त्यो नामकी कुनै पनि विद्यार्थी भेटिइनन् । डेली सबाहको रिपोर्टअनुसार कुनै विकल्प नभएपछि ती छोरीले अन्ततः आफ्नो झुट स्वीकार गरेकी थिइन् । ती छोरीले पछि सार्वजनिक रुपमा माफी माग्दै आफ्नी आमालाई निराश पारेकोमा आफू लज्जित भएको बताएकी छिन् । उनले आफूले सबैले पत्याउनेगरी झुटो कहानी बनाएको बताएकी छिन् ।

अर्कोतर्फ २ सन्तानकी आमा गुल्सेरेनका अनुसार उनले आफ्नो परिवारको गुजारा चलाउनको लागि १ दशकभन्दा धेरै समयदेखि अन्ताक्या सहरमा फूल बेचिरहेकी छिन् र यसअघि उनले आफ्नो छोराको पढाइ खर्च पनि यसैगरी पूरा गरेकी थिइन् । छोरीको वास्तविकता खुल्नुअघि स्थानीय टेलिभिजनसँग कुरा गर्दै उनले भनेकी थिइन् ‘मेरा श्रीमानले जतिबेला सक्नुहुन्छ काम गर्नुहुन्छ तर उहाँले सधैं काम पाउन सक्नुहुन्न । कहिलेकाहीँ उहाँ कब्रिस्तानमा मलाई सहयोग गर्न आउनुहुन्छ । मैले फूल बेचेर कमाएको पैसाले छोराछोरीको पढाइ खर्च चलाउँछु ।’

‘यदि कुनै मानिस स्वस्थ छ भने उसले गर्न सक्ने सबैभन्दा राम्रो कुरा भनेको काम गर्ने हो । मैले कमाएको पैसा छोराछोरीको लागि खर्च गर्दा राम्रो लाग्छ । म चाहन्छु हरेक महिला काम गरेर आफ्नै खुट्टामा उभिउन् । यस्तो काम गर्नु लाज मान्नुपर्ने कुरा होइन बरु काम गर्न सक्दा पनि अभावमा बाँच्नु लाजको कुरा हो । मलाई काम गर्न मन पर्छ’ उनले भनेकी थिइन् ।


Last Updated on: March 17th, 2021 at 6:22 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया