सोमबार १३ मंसिर २०७८

मेरो बिहे विनोद मानन्धरसँग १८ वर्षमा भयो । भर्खरै चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिएँ । सही–गलत छुट्याउन सक्ने पनि भइसकेकी थिइनँ । त्यसैले चलचित्र क्षेत्रमा अभिभावक आवश्यक पर्ने महसुस गरेर विनोदजीसँग बिहे गरेकी हुँ ।

विहे गरेपछि पहिलो पटक दुई महिना लगातार महिनावारी रोकियो । ठूलै रोग पो लाग्यो कि भनेर आत्तिएँ । जँचाउन अस्पताल गयौं । परीक्षणपछि डाक्टरले भने, ‘तपाईंलाई बधाई छ । आमा बन्दै हुनुहुन्छ ।’

डाक्टरको कुराले म आत्तिएँ । मैले अनुमान पनि गरेकी थिइनँ कि, गर्भवती भएँ हुँला भनेर । विनोदजी पनि तनावमा पर्नुभयो । किनकि हामी बच्चा जन्माउने मनस्थितिमा थिएनौं । बच्चा जन्माउनका लागि मेरो शरीर कच्चा नै थियो, करिअरको हिसाबले पनि बच्चा जन्माइहाल्नु गलत हुने विनोदजीको मत थियो । त्यसैले उहाँले गर्भपतन गराउन सुझाव दिनु भयो ।

मैले ‘एक–दुई दिन सोचेर मात्रै जवाफ दिन्छु’ भनेँ । गर्भमा बच्चा छ भन्ने सुनेपछि ममा मातृत्व जागेको थियो । गर्भपतन गराउने कुराले रातभर निदाउन सकिनँ । जतिबेला पनि आँखा रसाइरहन्थ्यो । विनोदजीले नदेख्ने गरी ठूलो आवाज निकालेर रोएँ, नसुन्ने गरी त कति रोएँ, रोएँ ।

त्यही बेला भुवन केसीले ‘सपना’ चलचित्रका लागि ‘अफर’ लिएर आउनुभयो र काम गर्न निकै अनुरोध गर्नुभयो । उहाँलाई म गर्भवती छु भन्ने थाहा थिएन । कुरा चल्दै गर्दा विनोदजीले भुवन दाइको प्रस्ताव स्विकार्नुभयो । त्यतिबेला म यति दोधारमा थिएँ कि, करिअर रोजौं कि बच्चा ! यसबारे विनोदजी र मबीच धेरै छलफल भयो । मैले पनि धेरै नै सोचें । र, मन नलागी–नलागी गर्भपतन गराउने निष्कर्षमा पुगें । गर्भपतन गराएँ पनि । तर, आँसु रोकिएन । त्यो कुरा सम्झँदा अहिले पनि पीडा हुन्छ ।

त्यही बेला भुवन केसीले ‘सपना’ चलचित्रका लागि ‘अफर’ लिएर आउनुभयो र काम गर्न निकै अनुरोध गर्नुभयो । उहाँलाई म गर्भवती छु भन्ने थाहा थिएन । त्यतिबेला म यति दोधारमा थिएँ कि, करिअर रोजौं कि बच्चा !
त्यसपछि पनि हामीले परिवार नियोजनका कुनै पनि साधन प्रयोग गरेनौं । पहिलो गर्भपतन गराएको तीन वर्षपछि फेरि महिनावारी रोकियो । त्यतिबेला २१ वर्षकी थिएँ, पहिले जस्तो डर पनि लागेन । हामी अस्पताल गयौं । डाक्टरले उसैगरी बधाई दिए । मलाई औधी खुसी लाग्यो । पहिलो गर्भ नै पतन गराएका कारण फेरि सन्तान नहुने पो हो कि भन्ने चिन्ता थियो । चिन्ता मेटियो ।

त्यसपछि सम्झौता गरेका चलचित्र पनि रद्द गरें । नौ महिना पूरै आराम गरें । अन्तरजातीय बिहे भएकाले सासूआमाले मलाई स्विकार्नु भएको थिएन । आमाले नै मेरो हेरचाह र स्याहार–सुसार गर्नुभयो । सुत्केरी हुने समय आउनै लाग्दा कामको सिलसिलामा विनोदजी बेलायत जानुपर्ने भयो, जानुभयो । डाक्टरले डेट दिएको अघिल्लो दिन उहाँ नेपाल आउने कुरा थियो । मेरो मनले उहाँलाई खोजिरहेको थियो । तर, उहाँ मसँग हुनुहुन्त्थ्यो । त्यो कुराले पीडा हुन्थ्यो ।

डेलिभरी हुने अघिल्लो दिन म महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गएर भर्ना भएँ । डेलिभरीका लागि अस्पताल भर्ना भएसँगै मेरो मनमा जिज्ञासामिश्रित डर भरियो । मुटुको धड्कन बढ्यो । मेरो वार्ड ग्राउन्ड फ्लोरमा थियो । झ्यालमा पनि बार थिएन । एकदम डर लाग्यो । श्रीमानको अभाव अनुभूति भयो । मसित आमा हुनुहुन्थ्यो । तर, त्यस्तो बेला श्रीमान् भएजस्तो नहुने रहेछ ।

श्रीमानको अभाव अनुभूति भयो । मसित आमा हुनुहुन्थ्यो । तर, त्यस्तो बेला श्रीमान् भएजस्तो नहुने रहेछ ।
मलाई यतिधेरै छटपटी भयो कि, खप्नै सकिनँ । अनि आमा ट्वाइलेट जानु भएको मौका पारेर झ्यालबाट हाम फालेँ र घर गएँ । विनोदजी घर आइपुग्नु भएको रहेछ । उहाँले फेरि अस्पताल पुर्‍याउनुभयो । आमाले त म अस्पतालबाट भागेकै पत्तो पाउनुभएन ।

दोस्रो गर्भ बसेपछि नौ महिना खासै गाह्रो भएको थिएन । वाकवाकी लाग्ने, रिँगटा लाग्ने केही भएको थिएन । उतिसारो ढाडपेट पनि दुखेन । त्यतिबेला सालिफा खुब खाएँ ।

अस्पताल भर्ना भएको भोलिपल्टदेखि पानी बग्न थाल्यो । त्यसपछि मलाई लेबर रुममा लगियो । त्यहाँ पुगेपछि मलाई खास प्रसवपीडाको अनुभूति भयो । अरु महिलाहरू छटपटाइरहेका थिए, चिच्याई–चिच्याई रोइरहेका थिए । म भने रोइनँ । तर श्रीमान् सँगै भइदिए हुन्थ्यो जस्तो लागेको थियो । तर त्यतिबेला विनोदजी घरमै बस्नुभयो । मैले डाक्टरलाई उहाँसित टेलिफोन सम्पर्क गराइदिन आग्रह गरें । फोन लगाइदिनुभयो । तर केही बोल्नै सकिनँ । भकानो फुट्ला जस्तो भयो । यति भनें, ‘सारै सुप पिउन मन लाग्यो, ल्याइदिनुस् न !’

मलाई सूप पिउनुभन्दा पनि बच्चा जन्मनुअघि श्रीमानको अनुहार हेर्नु थियो । तर उहाँ आउनु भएन । उहाँको अभावबीच नै मैले पहिलो सन्तान कवितालाई जन्म दिएँ । राति पौने दश बजे हाम्रो शरीर छुट्टियो । आफ्नो बच्चाले पहिलोपटक रोएको आवाज सुन्दा व्यक्त गर्नै नमिल्ने प्रकारको अनुभूति हुँदो रहेछ ।

मलाई सूप पिउनुभन्दा पनि बच्चा जन्मनुअघि श्रीमानको अनुहार हेर्नु थियो । तर उहाँ आउनु भएन । उहाँको अभावबीच नै मैले पहिलो सन्तान कवितालाई जन्म दिएँ । राति पौने दश बजे हाम्रो शरीर छुट्टियो । आफ्नो बच्चाले पहिलोपटक रोएको आवाज सुन्दा व्यक्त गर्नै नमिल्ने प्रकारको अनुभूति हुँदो रहेछ ।
बच्चा जन्मनेबित्तिकै मैले डाक्टरलाई ‘छोरा कि छोरी ?’ भनेर सोधेछु । ‘छोरी’ भन्ने सुन्नेबित्तिकै मनमा खिन्न लाग्यो । त्यो बेलाको सोच सम्झेर अहिले आफैंलाई ग्लानि हुन्छ । त्यो खिन्नताप्रति छोरी कवितासँग नेपाली पब्लिकको यहीं स्तम्भमार्फत क्षमा चाहन्छु । अहिले, छोरीको जन्मलाई दुखाइपछिको आनन्दका रूपमा लिएकी छु । हो, आमा भएपछि अर्को जन्म भएको अनुभूति भयो । मलाई गर्व छ, कविताजस्ती छोरीकी आमा हुनुप्रति ।

छोरी जन्मिएको दुई वर्षसम्म पनि मैले कुनै प्रोजेक्टमा काम गरिनँ । र, कविताको जन्मपछि नै मैले विनोदजीको घरमा भित्रिन पाएँ । त्यसपछि उहाँकाे परिवार पनि खुसी हुनुभयो ।


Last Updated on: March 17th, 2021 at 5:29 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया