शनिबार ११ मंसिर २०७८

काठमाडौ । सर्वोच्च अदालतले नेकपा भंग गर्दै पुर्ववत अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र ब्युझाईदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शनिवार केन्द्रीय समिति बैठक बोलाएको छ । ओलीको कार्यशैलीका कारण रिसाएका माधव नेपाल र झलनाथ खनाल पक्ष भने ओलीले बोलाएको केन्द्रीय समितिको बैठक र संसदिय दलको बैठकमा सहभागी नहुने निष्कर्षमा पुगेको छ ।

सो समुहले शुक्रवार बनेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका ती दुवै बैठकमा वरिष्ठ नेता नेपाल तथा झलनाथ खनाल नेतृत्वको समूह सहभागी नहुने निर्णय गरेको नेताहरुले बताएका छन् ।

बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखिएको छ । उनीहरुले प्रधानमन्त्री ओलीले केन्द्रय समिति र संसदिय दलको बैठक वालुवाटारमा राखेर पार्टीलाई निजिकरण गर्न खोजेको आरोप लगाएका छन् ।

‘बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने,’ निर्णयमा भनिएको छ, ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने।’

उनीहरुले नेकपा–एमालेका सबै सांगठनिक संरचना र पार्टीका निर्णयहरुलाई २०७५ जेठ २ गतेका अवस्थाबाट सुरुवात नगरेसम्म ओलीले आयोजना गर्ने बैठकमा सहभागी नहुने बताउँदै आएका छन्। सो पक्षका नेताहरुले संसदीय बोर्डमा पनि सहभागी नहुने बताएका छन्। ओलीले बिहीबार संसदीय बोर्डको गठन गरी नेपाल र खनाल दुवैलाई सो बोर्डको सदस्यको रुपमा मनोनयन गरेका थिए।


Last Updated on: March 19th, 2021 at 8:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया