शनिबार ११ मंसिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्भावित चुनावी अभियानमा लागेको चर्चा हुन थालेको छ । विशेषगरी ओली सरकारको विकल्प तयार पार्न नसकेपछि प्रचण्ड मुलुक चुनावमा जान सक्ने अनुमान लगाउँदै यसको तयारीमा लागेको टिप्पणी हुन थालेको छ ।

हाल सिन्धुलीमा व्यस्त देखिएका प्रचण्डले आफ्ना कार्यकर्तासँगको कुराकानीमा एमालेका नेता तथा कार्यकर्ता आफ्नो पक्षमा ल्याउन सफल भएको बताएका थिए । साथै प्रतिनिधि सभा पुनर्स्थापित गरेर ठूलो राजनीतिक लडाइँ जित्न सफल भएको अभिव्यक्ति दिएका प्रचण्डले जितको खुसियाली मनाइरहँदा एमाले र माओवादी केन्द्र अदालतले ब्यूँताइदिएर टाउकोमा हानेको टिप्पणी पनि गरे ।

हरिबोल गजुरेलको साथमा सिन्धुली पुगेका प्रचण्ड नयाँ सरकार बनाउन कांग्रेस, जसपाले सहयोग नगरेपछि अब मुलुक चुनावमा जान सक्ने अनुमान लगाउन थालेका छन् । त्यसमाथि सरकारले संसद्लाई बिजनेस नदिएर प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि गर्न लागेको माओवादी केन्द्रको बुझाइ छ ।

यी पेरिफेरिले पनि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई मध्यावधि निर्वाचनमा लैजान खोजेको प्रचण्डले अनुमान लगाउँदै अघोषित चुनावी अभियानअनुसार प्रचण्ड कार्यकर्ताहरुलाई फकाउन हिँड्न थालेको बताइन थालिएको छ ।

चितवन ३ बाट प्रतिनिधि सभामा निर्वाचित प्रचण्डले अब निर्वाचन क्षेत्र पनि परिवर्तन गर्न सक्ने कार्यकर्ताहरु बताउँछन् । प्रचण्डले प्रायःजसो निर्वाचन क्षेत्र परिवर्तन गरिरहन्छन् ।

यसअघि पहिलो संविधान सभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट र दोस्रो संविधान सभा निर्वाचनमा सिरहा ५ बाट निर्वाचित प्रचण्ड गत प्रतिनिधि सभा निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए ।

अब उनले सिन्धुलीलाई आफ्नो निर्वाचन क्षेत्र बनाउन लागेको हो कि भन्ने चासो र जिज्ञासा उठ्न थालेको छ । सिन्धुली पुगेर प्रचण्ड कार्यकर्तालाई मुलुकको राजनीतिबारे ब्रिफिङसहित हाँसो ठट्टा गरेको देखिन्छ ।

रामबहादुर थापा बादलको सहयोगले चितवनमा प्रचण्ड निर्वाचित भएको भनिएको थियो । तर, अहिले बादल ओलीको नेकपा एमालेमा गएपछिको अवस्थामा प्रचण्डले चितवनको विकल्पमा जान सक्ने अनुमान गर्न थालिएको हो ।

माओवादी केन्द्रको नामसमेत परिवर्तन गर्ने तयारीमा पुगेका प्रचण्ड चुनावी अभियानकै लागि केही दिनदेखि सिन्धुली बसेको अनुमान नेताहरुले लगाएका छन् ।


Last Updated on: March 20th, 2021 at 7:40 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया