मंगलबार १४ मंसिर २०७८

दुई दाजुहरू विद्यालय गएको देख्दा इन्द्रा आलेलाई पनि विद्यालय जान साह्रै रहर लाग्थ्यो । तर बा-आमा ‘छोरीको जातले पढेर होइन, परेर जान्नुपर्छ’ भन्ने मान्यताका थिए । पढ्नभन्दा घरधन्दा सिक्नुपर्छ भन्ने ध्याउन्न भयो । काम धन्दा सिके घर गरी खान सजिलो हुन्छ भन्ने बाआमाको आदेश इन्द्राले मानिन् ।

उनी विद्यालय जान पाइनन् । दाजुहरू झोला बोकेर विद्यालय गएको देखिरहँदा एक दिन त आँट गरेरै बुबासँग विद्यालय जाने रहर राखिन् तर, फेरिपनि बाले उनका कुरा एक कानले सुनेर अर्को कानले उडाइदिए । अलिक पछि घरमा भाइ जन्मियो । इन्द्राको काम अझ बढ्यो । उनी भाइको हेरचाहमा खटिन थालिन् ।

उनी १७ वर्षकी हुँदा घरमा बिहेको कुरा आयो । धेरै जग्गा जमिन भएको केटा भएकाले दाँया बायाँ नसोची बा-आमाले बिहेको कुरा पक्कापक्की गरिदिए । बिहेपश्चात् श्रीमान् लाहुरे हुन इन्डियातिर लागे । सासु-ससुरासँगै उनी घर व्यवहारमै व्यस्त भइन् ।

पढ्ने रहर पूरा भएन । तर मरेको थिएन । छोराछारी जन्मिए । हुर्कँदै गए । नमरेको भएपनि पढ्ने रहर उनले बिर्सँदै गइन् ।

इन्द्रा आले ।
बुढेसकाल लाग्यो । बुढेसकालमा झोलामा किताब बोकेर विद्यालय जाने कुराको सम्झना होस् पनि कसरी ? उमेरको अंक ६४ पुगिसकेको थियो । एक दिन कान्छी छोरीले उनलाई पढ्ने कुरा सुनाइन् । कुरा सुनेर उनलाई हाँसो उठ्यो । किन जिस्क्याएको भनेर छोरीलाई सोधिन् । तर छोरीले इन्द्रालार्ई जिस्काएकी थिइनन् ।

छोरीले विविध कारणले विद्यालय जान नपाएका महिलाहरुलाई पढाउने विद्यालय छ भन्ने कुरा बुझाइन् । यो कुरा सुनेपछि उनलाई मनको कुनै कुनामा थन्किएको पढ्ने रहर फेरि जागेर आयो । उनी खुशीले पुलकित बनिन् । इन्द्रा प्रेरणा विद्यालयमा १ कक्षामा भर्ना भइन् । ब्याग बोकेर विद्यालय जान थालिन् । ६ महिनामै उनको बढुवा भयो । उनी दुई कक्षामा पुगिन् । लगाव र मेहनतका कारण उनले राम्रो अंक ल्याइन् ।

तीन कक्षामा पुग्दा त उनले विद्यालयकै सर्वोत्कृष्ट अर्थात् ‘स्कुल टप’ भइन् । फेरि बढुवा भइन् । चार कक्षा पढ्दै नपढी उनी पाँच कक्षामा पुगिन् । ७० वर्षकी इन्द्रमाया अहिले आठ कक्षामा पढ्दैछिन् । ललितपुर-१४ कुसुन्तीमा रहेको घरबाट सातदोबाटोमा रहेको विद्यालयमा उनी कहिले हिँड्दै त कहिले गाडी चढेर पुग्छिन् ।

पढेर के हुँदो रहेछ त ? उनी भन्छिन् ‘धेरै हुन्छ नि, बाहिरफेर हिँड्दा के लेखेको छ भन्ने सोध्नुपरेन, मनका कुराहरू लेख्न सकियो, किताब, चिठीपत्र, पत्रपत्रिका पढ्न सकियो, अर्काको भर पर्नुपरेन ।’ झोला बोकेर विद्यालय हिँडेको देख्दा छिमेकीहरुले गुड भन्दै बुढी औंला देखाएर हौसला दिँदा गर्वले छाती फुल्ने उनले मकालु खबरलाई सुनाइन् ।

अब कति वर्षसम्म पढ्ने त ? ‘समय र स्वास्थ्यले साथ दिए क्याम्पससम्म पढ्ने धोको छ ।’ उनी दृढ सुनिइन् । तर पछिल्लो समय आँखाको समस्या देखिन थालेकाले उनी अलि दुःखी भएकी छन् । डाक्टरले उमेरका कारण पनि आँखा कमजोर भएको हो भन्दा उनलाई डर लाग्छ । भन्छिन्, ‘विद्यालयले मेरो भित्री आँखा खोलिदियो तर बाहिरी आँखाले पो समस्या पार्ने हो कि ?

०००

बिनादेवी मानन्धर काठमाडौं, नयाँ बजार बस्छिन् । काठमाडौंको महँगी, छोराछारी पढाउनुपर्ने बाध्यता अनि श्रीमानको मात्र कमाइ । पालिन नै धौधौ भयो । आफैं केही गर्नुपर्‍यो भन्ने सोचिन् । व्यवसाय थाल्नपनि वा जागिर खानपनि पढाइ मूख्य कुरा थियो ।

बिनादेवी मानन्धर ।
अनि साथीहरुको सल्लाहमा उनी प्रेरणा विद्यालयमा १ कक्षामा भर्ना भइन् । उनका श्रीमानलाई भने यो कुरा मन परिरहेको थिएन । ‘बुढेसकालमा के को पढाइ ?’ भन्ने श्रीमानको कुरा नसुनी उनी विद्यालय जान थालिन् । परीक्षामा प्रथम भइन् । जोश जाँगर बढ्यो । पढाइले निरन्तरता दिइन् । बिनादेवी अहिले ५९ वर्षकी भइन् । ७ कक्षामा पढ्दैछिन् । ‘सकेसम्म धेरै पढ्छु’ दंग पर्दै उनले सुनाइन् ।

०००

एसएलसीमा फेल भएपछि बाग्लुङकी गौमाया राना मगरको परिवारले उनको बिहे गरिदिए । बिहेपछि पनि पढ्ने मन त थियो तर वातावरण थिएन । पढाइलाई बिर्सनुपर्ने भयो । बालबच्चा भए । उनीहरूको खुसी, उनीहरूको शिक्षा-दिक्षालाई आफ्ना खुशी र रहरका रुपमा लिनुपर्ने भयो । दुई छोरा जन्मिए । विद्यालय जान थाले । बोर्डिङ् स्कुलमा पढेर फर्किने छोराहरू र श्रीमानले अंग्रेजीमा कुरा गर्न थाले ।

अलिअलि अंग्रेजी आए पनि सबै कुरा बुझ्न नसक्दा उनलाई म पनि उनीहरुका कुरा बुझ्ने हुन्छु भन्ने अठोट पलायो । एसएलसी फेल भएको अनि घरमा आफूले नबुझ्ने गरी अंग्रेजीमा गफ गर्ने गरिएकाले इखजस्तो पलायो । तर फेरि बुढेसकालमा विद्यालय जाँदा देख्नेले पनि खिसी गर्लान् भन्ने लाज पनि अलिअलि छँदै थियो ।

गौमाया राना ।
एक दिन श्रीमानले उनलाई विद्यालय लिएर गए । प्रहरीबाट अवकाशप्राप्त श्रीमानले विद्यालयमा भर्ना गरिदिए । श्रीमानले नै हौसला दिएपछि लाज हरायो । अठोट पलायो । उनी ८ कक्षाबाट पढ्न थालिन् । अहिले ५५ वर्षकी उनी प्रेरणा विद्यालयमा १० कक्षामा पढिरहेकी छन् । विद्यालय जान सकुन्जेल पढ्ने उनको अठोट छ ।

०००

कठिन यात्रा पार गर्दै प्रेरणा
कोभिड शुरु हुनु अघि पाँच सयको हाराहारीमा विद्यार्थी रहेको प्रेरणा विद्यालयमा अहिले दूई सय जना जति विद्यार्थी मात्र छन् । कोभिडका कारण धेरै विद्यार्थी विद्यालयले जनाएको छ । उनीहरू सबै १४ वर्षमाथिका र कुनै न कुनै कारणले पढाइ छुटेका वा पढ्न नपाएका महिलाहरू हुन् ।

२०५५ सालमा स्थापना भएको प्रेरणा विद्यालयबाट २०५९ सालमा पहिलो ब्याचले एसएलसी दिएको हो । हालसम्म १८ वटा ब्याचले एसएलसी दिइसकेको र ५ सयभन्दा धेरैले एसएलसी/एसईई उत्तीर्ण गरेको विद्यालयले जनाएको छ । यो विद्यालयमा, १४ वर्ष उमेर पुगी पढ्न छुटेका वा पढाइ रोकिएका महिलाले पढ्न पाउँछन् ।

अहिलेसम्म प्रेरणा विद्यालयबाट एसएसली पास गरेका २०/२५ जनाले स्नातकोत्तर तहसम्मकै अध्ययन पूरा गरेको र ६० वर्षीया विष्णु थापाले पिएचडी गरेको विद्यालयका सिनियर शिक्षक शम्भु अर्यालले मकालु खबरलाई जानकारी दिए ।

अवसर नपाएका र वञ्चित भएका महिलाका लागि विकासमा महिला सशक्तीकरण केन्द्र नामक गैरसरकारी संस्थाले विद्यालय सञ्चालन गरेको हो । संस्थापकहरू राधादेवी तिमल्सिना, जनककुमारी चालिसे, प्रभा कुइँकेल चालिसे र प्रमिलाशर्मालगायतले पढ्न नपाएका महिलाका लागि विद्यालय स्थापना गरेका हुन् ।

विद्यालय त खुल्यो तर विद्यार्थी खोज्न सजिलो भएन । शिक्षक अर्यालका अनुसार विद्यालयबारे जानकारी दिन घरदैलो कार्यक्रम गरियो । २५ जना विद्यार्थीले नाम लेखाए । तर पढ्नका लागि ७/८ जनामात्र आए ।

त्यसक्रममा धेरेजनाले अब पढेर के गर्नु, बुढेसकालमा कहाँ झोला बोकेर विद्यालय जानु, देख्नेले के भन्छन्, खिसिट्युरी गर्लान् भन्ने गरेको विद्यालयका प्रधानाध्यापक तथा संस्थापक प्रभा चालिसे कुइँकेलले बताइन् ।

प्रेरणा विद्यालयकी संस्थापक तथा प्रधानाध्यापक प्रभा कुइँकेल चालिसे ।
घरघरमा पुगेर तपाईँका पढ्न छुटेका छोरी बुहारीलाई पढ्न पठाउनुभन्दा कति ठाउँमा गाली पनि खानुपर्‍यो । त्यो बेला सम्झिँदै उनले भनिन्, ‘कतिपयले पैसा कमाउनका लागि विद्यालय खोलेको पनि भने ।’

तर निरन्तर लागिरहँदा अहिले भने धेरैले स्याब्बासी दिँदा खुशी लाग्ने गरेको उनले बताइन् । सबैभन्दा बढी खुसी त कुनै न कुनै कारणले विद्यालय जान नपाएका तर पढ्न चाहने महिलाहरु खुशी भएको देख्दा मिल्ने गरेको पनि उनले सुनाइन् ।


Last Updated on: March 25th, 2021 at 8:46 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया