आइतबार १९ मंसिर २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीको समकालिन अन्य नेताहरुभन्दा फरक एउटा विशेषता छ । अरु नेताहरु जस्तोसुकै कार्यक्रममा भाषण गर्दा पनि राजनीतिबाहेकका कुरा गर्दैनन् । ओलीचाहिँ कार्यक्रमको विषयवस्तुअनुसार सहभागीको नाडी छामेर आफ्नो भाषणलाई ‘स्पेसलाइज्ड’ गर्न माहिर छन् ।

राजनीतिक भाषणमा विरोधीहरुलाई घोचपेच गरेर घाइते तुल्याउने प्रधानमन्त्री ओलीले गैरराजनीतिक कार्यक्रममा भाषण गर्दा उनको विद्वताको स्तर झल्किन्छ । इतिहासदेखि भूगोलसम्म, विज्ञानदेखि आध्यात्मसम्म कुनै पनि विषयवस्तुमा उनी लामो र रोचक प्रवचन दिन सक्छन् ।

बिहिबार प्रधानमन्त्री ओली कृषि मन्त्रालयको कार्यक्रममा भाषण गर्न पुगे । कार्यक्रमको सन्दर्भ थियो, नेपाल ४ वटा पशुपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा । यो सरकारीस्तरमा कार्यक्रमै आयोजना गरेर घोषणा गर्नुपर्ने विषय त थिएन, तर ओलीलाई रहर चल्यो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका उनले १ घन्टाभन्दा लामो भाषण गरे । तर, राजनीतिक विषयलाई कहिँकतै प्रवेश गराएनन् । उनी कृषि क्षेत्रमै सेरोफेरोमा केन्द्रित भए ।

ओलीले आफ्नै शैलीमा सरकारको कामको बढाइचढाइ गरेर मन्तव्य सुरु गरे । ‘हरेक दिन एक कदम अगाडि’ को अवधारणामा सरकारले काम गरिरहेको भन्दै उनले दिनहुँजसो देशमा नयाँ-नयाँ उपलब्धी हासिल भइरहेको गफ दिए ।

‘हाम्रो तरिका त्यो हो,’ ओलीले भने, ‘हामीलाई एकै ठाउँमा उभिएर बस्ने छुट छैन ।’

ओलीले पाउडर दुधसहित चार उत्पादनमा नेपाल आत्मनिर्भर भएको विषय उठान गरे । उनले आजैबाट सरकारले पाउडर दुध उत्पादन गरेर बजारमा पुठाउन थालेको बताए । तर, पाउडर दुधलाई ‘ह्वाइटनर’ भनिएकोमा उनले सम्वन्धित निकायसँग असन्तुष्टि प्रकट गरेः

‘आजैबाट हामीले धुलो दुध बजारमा पुर्याउन थाल्यौं । तर, यसलाई ह्वाइटनर भनिएको रहेछ । मिल्क ह्वाइटनर…। ह्वाइटनर भनेको त सेतो बनाउने कुरा हो । यो नाम किन राख्नुभयो, कसरी राख्नुभयो म बुझ्दिन । अंग्रेजीका पछि किन कुद्नुभो थाहा छैन । तर, यो सेतो बनाउने कुरा होइन । यो दुध नै हो । पाउडर दुध वा धुलो दुध भन्नुपर्छ मेरो विचारमा । कमसेकम मिल्क पाउडर भन्नुस् । ह्वाइटनर भनेपछि त मलाई नै पत्यार लाग्दैन । चियामा हाल्दा सेतो बनाउने त होला भन्ने हुन्छ । त्यसकारण यसलाई नेपालीमा ‘धुलो दुध’ न लेख्दा राम्रो हुन्छ ।

एउटा दुध हुन्छ, गाई–भैंसीबाट दुहेको । मेसिनले ड्राइ गरेर सुख्खा बनाएपछि यो धुलो दुधमा परिणत हुन्छ । त्यही फरक हो । हामीले खाली सुकाएर धुलो बनाएको मात्रै हो । परिणत गरेर झोल दुधलाई प्रविधिले धुलोमा परिणत गर्यौं । डेरी ह्वाइटनर भन्दा पनि धुलो दुध नै हो भन्ने मेरो विश्वास छ ।’

पाउडर दुधलाई कसरी सुरक्षित राख्ने भन्ने उपाय ओलीले सिकाए । उनले यसलाई खोलेर लामो समय ओसिलो ठाउँमा राख्नु नहुने बताए ।

‘मैले अस्ति पनि भनेको, यो बजार पठाउनसँगै कसरी राख्ने र कसरी प्रयोग गर्ने कसरी भन्ने पनि बताउन जरुरी हुन्छ उपभोक्तालाई । ओसिलो ठाउँमा राखिदियो भने दुध डल्ला पर्छ, बिग्रिन्छ, गन्हाउँछ । अनि डेरीलाई आरोप लाग्छ । अलिकति प्वाल पालेर अनि १० दिन ओसिलो ठाउँमा राख्नु् हुँदैन । प्याकेट खोलेपछि लगातार खानुपर्छ । लोभ गरेर राखे बिग्रिन्छ, फटाफट खानुपरो ।

उपभोक्तालाई विश्वास दिलाउनुपर्छ कि यसको प्रयोग र दुधको प्रयोगमा खासै फरक छैन । दुध बरु ढाडिएपछि राम्रो हुँदैन । पाउडर दुध ढाडिँदैन, सुख्खा बस्छ । लामो समय ताजा बस्छ । यो झोल दुधभन्दा प्रयोग गर्न सजिलो छ । किनभने फाट्ला कि भन्ने पिर हुँदैन । झोल दुध त गर्मी लागेपछि फाट्छ । तर यो फाट्दैन । ओभानो ठाउँमा राख्यो भने बिग्रिदैन ।’

प्रधानमन्त्री ओलीले इनर्जी ड्रिंंक्सका ठाउँमा मोही पिउन सल्लाह दिए । उनले भने, ‘हामीकहाँ इनर्जी ड्रिंक्स आउछ नि । पिएपछि ड्रिंक्स त भन्नैपर्यो । तर, त्यो ड्रिंस्क्स पनि होइन र त्यसले इनर्जी पनि दिँदैन । यो म्याङ्गो, रियल केकेजाती भनेका सबै केमिकल फ्लेभर हुन् ।

हामीले त मोही पिउनुपर्छ । मोहीमा बानी पार्नुपर्छ । यो गर्मीमा कहाँको इनर्जी ड्रिंक्स ? मोही खान छोडेर कहाँबाट बोकेर ल्याएको बासी पानी खाने ? त्योभन्दा मोही कस्तो गजब छ । आज र भोली खान मिठो हुन्छ, पर्सीबाट अमिलो हुन्छ । त्यसैले त्यसलाई ल्याएपछि फ्रिजमा राख्ने । मोहीमा जुन तागत र तत्व हुन्छ कहाँ अरु ड्रिंक्समा पाउनु ?

दुधको उत्पादन बढी भयो भने त्यसबाट दही मोही मात्र होइन, चकलेट बनाएर विदेश पठाउनुपर्ने प्रधानमन्त्रीले बताए । मिल्क होलिडेको अवधारणा नै गलत रहेको उनको भनाइ थियो ।

‘अहिलेसम्म मान्छेहरुलाई दुध–दहीमा मात्रै बानी परोको छ । मैले भनेको छु, डेरी प्रोडक्ट धेरै भयो भने पाउडर बनाउनुस् । त्यो पनि नभए चकलेट बनाएर निर्यात गरौं । किन स्वीट्जरल्याण्डको, बेल्जियमको चकलेट यहाँ ल्याउने ? हामील हिमालयन चकलेट, अन्नपूर्ण चकलेट, माछापुच्छ्रे चकलेट, फोक्सुन्डो चक्लेट अरु पनि विभिन्न नाम हुन सक्छन् । यसरी ब्रान्डिङ गर्न सकिन्छ ।

हाँसो गुञ्जिन्छ…

‘हामीले प्रयोग गर्न नसकेर दुध फ्याकिरहेका छौं । डेरीले मिल्क होलिडे मनाउने भन्छन् । के हो यो मिल्क होलिडे ? खपत गर्न नसकेर त हो नि । नत्र मिल्कमा पनि होलि डे हुन्छ ? गाइ–भैंसीले शनिबार थाहा पाउँछ ? मिल्क होलिडे भनेको त धेरै भएर हामी किन्न सक्दैनौं, पोख भनेको न हो । भाषा अंग्रेजीमा मिलाइदिएको न हो । होलिडे–सोलिडे होइन सदुपयोग गर्नुपरो अधिकतम । हाम्रो आवश्यकता त्यो हो ।

दुधबाट उक्लेर ओलीले च्याङ्ग्राको मासुको चर्चा गर्न थाले :

‘हाम्रो चौरीको दुध, चौरीको दुधबाट बनेका चीज इत्यादिलाई हामीले… च्याङ्ग्राको दुध र मासुमा औषधीय गुण हुन्छ । त्यसैले अलिक महंगो पर्छ । दुई–चार दिन खाइहेर, इनर्जी आएन भने हामीलाई भन भनेर मार्केटिङ गर्नुपर्यो । यो साँचो कुरा हो । हामी भूट्ट बोल्नै पर्दैन । मुस्ताङको च्याङ्ग्रा दशैंमा काठमाडौं आइपुग्न भ्याउँछ ? पोखराले बीचमै झ्याप पार्छ । दमौलीको पुल त तर्दै तर्दैन । किनभने त्यसमा औषधीय गुण छ भन्ने मान्छेलाई थाहा भइसक्यो । बिक्दैन भन्ने नै छैन ।

ओलीले कुनै पनि वस्तुलाई विदेशमा निर्यातयोग्य बनाउनका लागि ठूलो स्केलमा उत्पादन आवश्यक रहेकोमा जोड दिए । ठूलो उत्पादनका लागि पैसा र श्रमको सन्तुलन मिल्नुपर्ने उनको भनाइ छ ।

‘लगानी भन्दा मान्छेले सोझो हिसाबले पैसा मात्रै बुझ्छन् । पैसाको लगानी मात्रै गरेर हुन्छ र ? श्रम र प्रविधिको लगानी पनि त्यत्तिकै चाहियो । तीनै चिजको लगानीको सन्तुलन मिल्नुपर्छ । होइन भने टन्न पैसा डोकामा लगेर बारीमा छरेर फल्छ त ?

दुग्धजन्य उत्पादनको आपूर्तिमा कुनै पनि व्यवधान आउनु नहुने ओलीले बताए । यसलाई चिनाउनका लागि मन्त्रालयले लोगो समेत बनाएको उनले जानकारी दिए ।

‘आज हामीले एउटा लोगो पनि बनाएका छौं । यस लोगोले गर्दा… हुन त अब नेपालमा हड्तालको आवश्यकता छैन । तर कहिलेकाहीँ झोक चल्यो भने… श्रीमतीसँग झगडा गरेर बाहिर सडक जाम गर्छन् । पार्टीमा झगडा बाहिर सडक जाम गर्छन् । यस्तो देशमा कतिबेला सडक जाम हुन्छ भन्न सकिने स्थिति हुँदैन । त्यसैले लोगो भएपछि सजिलो हुने भयो ।

लोगो देखाउँदै…

‘गाइले दुध बोक्या छ यहाँ । थोपा–थोपा संकलन गरेर जम्मा गरिएको संकेत पनि छ । यो चिन्ह हामीले सबैलाई चिनाउनुपर्छ । यो अत्यावश्यक सेवाभित्र पर्छ । बिमारीलाई, बालबालिकालाई, जेष्ठ नागरिकलाई खुवाउने चिज हो नि ।’

प्रधानमन्त्री ओलीले कृषि क्षेत्र निर्वाहमुखी मात्र नहुनेमा जोड दिए । यो क्षेत्रलाई आधुनिकीकरण गरेर कृषकको जीवनस्तर माथि उठाउनुपर्ने उनको भनाइ छ ।

‘दुईवटा बाख्रा पालेर जिविका चल्दैन । ५० वटा बाख्रा पाल्यो भने चल्छ । १०० वटा वाख्रा पाल्यो भने राम्रै मुनाफा कृषकले कमाउँछ । १०–२० वटा पालेर त अल्झिने काम मात्रै हुन्छ । अल्प रोजगार हुन्छ ।

किसानको आम्दानीलाई बचतमा जानेगरी उत्थान गर्नुपर्यो । त्यसैगरि हाम्रा फ्याक्ट्रीलाई वचतको स्थितिमा जानुपरो । तवमात्रै सस्टेन हुन सक्छ । नत्र कति दिन घाटा व्यहोर्न सक्छन् ?’

ओलीले कृषिबिमाको प्रसंग पनि उठाए । उनले कृषि बिमाको प्रिमियममा अनुदान दिने काम बन्द गरिने संकेत गरे ।

‘म बैंकहरुलाई पनि आग्रह गर्न चाहन्छु । कृषि बिमाको प्रिमियम कम गर्नुस । विस्तारै सरकारले प्रिमियममा दिने अनुदान हटाउँदै लैजान्छ । प्रिमियममा अनुदान दिइरहनुपर्ने नै होइन । मुनाफा बिमा कम्पनीले कमाउने, फाइदा उसले लिने अनि किसानका नाममा अनुदान सरकारले किन हालिरहने ? त्यसैले बिमाको प्रिमियम किसान आफैंले तिर्नसक्ने गरी घटाउनुपर्छ ।

त्यसो त उनले बिमा कम्पनीहरुलाई पनि कसरी फाइदामा जाने भनेर आइडिया दिन छुटाएनन् ।

‘बिमालाई ब्यापक विस्तार परेपछि घाटा पर्दैन । सानो स्केलमा गरेपछि घाटा पर्न जाने हो । जस्तो कि जम्माजम्मी एउटा केराबारीको बिमा गर्नुभयो भने त्यसमा हुरी चलेर ढल्न सक्छ । अनि बिमा कम्पनीलाई घाटा हुन्छ । प्रिमियमले अफिस पनि मेन्टेन नहोला । त्यसैले उसले केरा खेति कति छ भन्ने हेरेर बिमा गर्नुपर्यो । कृषकले पनि यति उत्पादन गर्नुपरो कि जहाँ बिमा कम्पनी आकर्षित हुन सकोस । कम्पनीले धान, मकै, फलफुल, आँप लिची, पशुपंक्षी सबैमा बिमा गर्यो भने केही ठाउँमा नोक्सान भए पनि बाँकीले फाइदामा लैजान्छ । त्यसैल बिमाको क्षत्र बढाएर प्रिमियम घटाउनुपरो । कृषि क्षेत्र सुरक्षित सम्मानित फलदायी हुनुपर्छ । सुरक्षित हुनका लागि बिमा नै हो ।

सरकारले रसायनिक मलको अभाव पूर्ति गर्न सरकारले चाँडै मल कारखाना खोल्ने तयारी गरिरहेको ओलीले जानकारी दिए ।

‘कृषि क्षेत्रमा आत्मनिर्भर हुनु छ भने रसायनिक मलको कारखाना खोल्नैपर्छ । हामीले नेपालमै मल कारखाना खोल्ने भनेका छौं । हाम्रोलागि सबैभन्दा सजिलो विद्युतबाट हुन सक्छ । यस सम्वन्धमा छलफल भइरहेको छ । महंगो पर्छ भने पनि केही छेन । एउटा प्रोजेक्ट नै डेडिकेटेड गर्न सक्छौं ।

एटोमिक थर्मलमा त कुनै हालतमा जाँदैनौं, त्यसबाट दुर्घटना हुन सक्छ । अर्को भुस, कोल इत्यादि थर्मलमा पनि जाँदैनौं । अर्को ग्यासको प्रयोगबाट जाने एउटा वाध्यताका स्थिति देखिन्छ । सबैभन्दा सििजलोसँग हुने त्यसैमा हो । अष्ट्रेलिया, जर्मनमा विद्युतले महंगो पर्ने भएकाले गर्न सकेका छैनन् भन्ने कुराहरु छन् । हामी त्यसलाई हाइड्रोजनको प्रयोगबाट गर्न सक्छौं कि ? एकपटक खर्च हुन्छ । त्यसपछि आत्मनिर्भरताको बाटोमा जान्छ ।

‘दुग्ध उत्पादनमा आत्मनिर्भर हुनुको अर्थ पशुपालन हाम्रो राम्रो छ । हामी कम्पोस्ट मल र प्राङ्गारिक मलमा काम गर्न सक्छौं । संगठित ढंगले लान सकिन्छ । अर्को काम विद्युत उत्पादन पनि गर्ने र मल उत्पादन पनि गर्ने । आफ्नो फार्ममा, आफ्नो पोल्ट्रीमा आफैंले विद्युत र मल उत्पादन गरेर विक्री गर्न सकिन्छ । त्यस्ता काम गर्न सक्छौं । बहुद्देश्यीय खालका आयोजना पनि चलाउन सक्छौं । त्यसको एउटा सर्कल पनि बनाउन सक्छौं । यसमा ‘चेन अफ युज’ मा ध्यान दिनएर अगाडि बढौं ।

‘हाम्रो कृषि क्षेत्रमा दुइतिहाइ जनसंख्या निर्भर छ । त्यो जनसंख्यालाई अन्त सिफ्ट गराउन चाहन्छांैं । ३० प्रतिशत बाँकी राखेर अरुलाई अरु क्षेत्रमा विस्ताफित गर्ने उद्देश्य छ । यसबाट डरानुपर्ने आवश्यकता छैन । कृषिलाई आधुनिकीकरण, मसिनीकरण गरिन्छ । कृषिमा आंशिक रोजगारीको स्थितिबाट उपलब्धीपूर्ण रोजगारी सिर्जन गछौं ।

रोजगारी दिएको भनेको छ । दुईटा बाख्रा पालेको छ । एक सर्को बारी छ । तील लगायो भने दुई माना तेल हुन्छ । दूई माना तेलले के हुन्छ ? फिरंगे भन्ने हुन्छ नि अचार खाने । त्यो दुई माना पनि आउँदैन । दुई माना फिरिंगे उमारेर कृषकले रोजगारी पायो ? जमिनसँगको नाता भनेर के हुन्छ ? जमिनसँगको नाता तोडेर पनि अर्को राम्रो काम दिन सकिन्छ ।

हामीलाई कृषकको कामको वचत चाहियो । उसको कामबाट आएको आम्दानी वचतको स्थितिमा पुग्नुपरो । त्यसका लागि यही पेशासँग सम्वन्धित हुनुपर्छ भन्ने होइन । अर्को पेशामा जानुपर्यो भने पनि ठीक छ । जुन पेशामा छ, त्यो पेशामा दक्ष हुनुपरो । मलाई क्यामरामा राखिदिनुभयो भने गतिलो फोटो आउला ? तालीमप्राप्त चाहिन्छ । फोकस कसरी गर्ने, जुम कसरी सेट गर्नु जान्नुपरो, तब न फोटो गतिलो हुन्छ । त्यसैले हरेक ठाउँमा स्किल्ड म्यानपावर र प्रविधिको प्रयोग हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले फेरि एकपटक लामा चामलको चर्चा गरे । लामा सीता भएका चामल नक्कली हुने र त्यसले कुनै पौष्टिकता नदिने उनले ठोकुवा गरे ।

‘खाद्यान्न मात्र होइन, खाद्य वस्तुहरुमा हामी आत्मनिर्भर छौं । तर आनीबानी आदिको कारणले हामीलाई भात धेरै खानुपर्छ । सब्जी कम खान्छौं । सब्जी खाउँ मजाले भने कसैले किन्न सक्ला, कसैले सक्दैन । भातबाट धेरै सब्जी खाने भयौं भने सब्जीको सप्लाइ नै पुग्दैन । दलहनहरुबाहेक धेरै सब्जी ताजा हुन्छन् । साग यताउति । ताजा चिज खान पाइन्छ । यतापट्टि जान जरुरी छ ।

बोक्रा उप्काएपछि कुनै पनि चिज ‘डेड’ हुन्छ । धानको बोट उप्कायो भने त्यो जिवित नै हुन्छ । त्यसलाई रोप्दा विरुवा पलाइहाल्छ । तर बोक्रा उप्काएपछि डेड भो । डेड चिज जति लामो समय राख्यो त्यति बिग्रन्छ । डेड चिज इज डेड चिज । बिस्तारै पौष्टिकता खतम भएर जान्छ ।

हामी अहिले यति लामो–लामो सिता भएको चामल खान्छौं । त्यो चामल नै होइन । चामललाई पिठो बनाएर पेलेर चामलको जस्तो सिता बनाएको हो । एक इन्च लामो धान देख्नुभएको छ कतै ? एक इन्च लामो सिता भन्नेबित्तिकै त्यो नक्कली कुरा हो । हामी त किसान हौं । मैले सबै काम गरेको छु । धान कस्तो हुन्छ थाहा छ नि ।

हाम्रो शास्त्रले के भन्छ भने पहिलो वर्षको अन्न बिउमा लगाउँ । बिउका लागि त्यो राम्रो, फ्रेस हुन्छ । दोस्रो वर्षको चामल खानामा प्रयोग गरौं । तेस्रो वर्षको होम होमादीलाई काम लाग्छ । होम होमादीलाई पनि काम नलाग्ने भएर बिग्रेपछि त्यही लामो चामल भएर हाम्रोमा आउँछ । धुलोपिठो, किराले खाएको सबै पिसेर लामा लामा चामल बनाइन्छ । आकर्षक नाम हुन्छन्- लालकिल्ला, इन्डिया गेट केकेजाति । तर यो कुनै सक्कली चामल होइन । मैले यसो भन्दा व्यापारीले भन्लान् प्रधानमन्त्रीले हाम्रो चामलको किन खेदो गरेको होला भनेर । तर म त जनस्वास्थ्यको हिसाबले भनिरहेको छु । मैल भन्नैपर्छ ।

लामा चामलमा पौष्टिकता हुँदैन । यसबाट सुगर बढ्दैन रे । के चैं बढ्नु ? के छ र त्यसमा ? न सुगर ने केही । खाएका बेला पेट चाहिँ एकछिन बढ्छ । तर पौष्टिक तत्व केही हुँदैन ।

हामीले ताजा खाने गनुपर्छ । यस वर्ष उत्पादन गरो यसै वर्ष खायो । यो शैली ठिक छ । दोस्रो वर्षभन्दा उता गएपछि सड्छ ।

हाम्रो खानेकुराका आनीबानी बदल्ने छौं । उत्पादन हाम्रो पपुलेसनलाई पुग्न गरी छ । तर आनिबानीले गर्दा हामी अर्बौंको आयात गरिरहेका छौं । चामल मात्रै ३५ अर्बको किन्छौं । कृषि प्रधानदेश भयो त यसरी ? यो त आयातप्रधान भयोउ । किनेर खाने प्रधान भयाउे । यस देशलाई निर्यातप्रधान बनाउनुपर्छ । कृषिप्रधान नै बनाउने हो भने आधुनिकताले थिच्नुपर्छ । हाम्रो परम्परागत ज्ञानमा आधुनिक परिक्षणबाट आएका प्रतिफललाई जोड्नु पर्छ ।’


Last Updated on: March 26th, 2021 at 8:46 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया