सोमबार १३ मंसिर २०७८

काठमाडौं – नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले जसपा पार्टीका निलम्बित सांसद चौधरीलाई भेटेका हुन् । ज्यान मुद्दामा सजाय भोगिरहेका चौधरीलाई बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश दिएको स्रोतको दाबी छ ।

जसपाले पनि सरकारलाई समर्थनका लागि रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई शर्तका रुपमा अघि सारेको छ । यसबारे एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरले गठन गरेको कार्यदलले सम्वाद गरिरहेको छ ।

रेशम चौधरीलाई कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ९ जनाको ज्यान जाने गरी ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको छ । उक्त घटनासम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले केही उल्टी गरेपनि रेशमको जन्मकैदलाई भने सदर गरेको थियो ।


Last Updated on: March 26th, 2021 at 3:16 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया