आइतबार १९ मंसिर २०७८

जनकपुरधाम । यो वर्ष महामूर्खको उपाधि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरिएको छ । प्रत्येक वर्षझैँ यसपालि पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मह जोडी महामूर्ख घोषित भएका हुन् । आफूलाई ‘महामुर्ख’को उपाधि अथवा ‘मुर्ख’को उपाधि दिइयोस् भन्ने ईच्छाका साथ जनकपुरधामको जानकी मन्दिरमा कयौँ गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।

सबै आ-आफ्नो मुर्खत्वको उपाधि पाउनका लागि लालायित थिए। मञ्चमा उपस्थित व्यक्तत्वहरुमध्ये मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलनमा ‘महामुर्ख’को उपाधि महजोडीको नामले परिचित मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्य लाई दिएको छ। ‘महामुर्ख’को उपाधि पाएपछि महजोडीको अनुहारमा अनौठो मुस्कान समेत देखियो। उनलाई प्रशस्ती पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला र दोसल्ला ओढाएर सुशोभित गरेर सम्मान गरिएको छ।

सम्मान ग्रहण गर्दै मदनकृष्णले ४० वर्षको करियरमा कयौँ पुरस्कारहरु पाएपनि मिनापले दिएको महामुर्खको उपाधि धेरै नै खास रहेको बताए । उनले भने, ‘हामीलाई सबैले विद्वान भन्थे तर हामी के हौँ हामीलाई मात्रै थाहा छ । बल्ल मिनापले हामीलाई चिनेर यो उपाधि प्रदान गरेको छ। मिनापसँगको ३० वर्षको सहकार्यकै कारण हामीलाई वास्तवमा चिन्न सम्भव भएको होला भन्ने मलाई लागिरहेको छ।’

हरिवंश आचार्यले ४० वर्षसम्म निरन्तर गरेको कामको प्रतिफल आज पाएको बताए । उनले आफूहरुलाई साँचो अर्थमा संयुक्त रुपमा यो सम्मान प्रदान गरेर एक बनाएको छ । हाँस्य ठट्यौलीका साथै भएको सो सम्मेलनमा सहभागी कविहरुले आ-आफ्नो कविताको माध्यमबाट विभिन्न विषयवस्तु माथि कटाक्ष गरेका थिए। मिनापले आयोजना गरेको महामुर्ख सम्मेलनमा यस वर्ष मुर्खशिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरेको छ।

‘महामुर्ख’ को उपाधि दिने विगत २२ वर्षको परम्परा अनुसार यस अघि मिनापले कवि नरेश ठाकुर, एमाले नेता शत्रुधन महतो, जसपा नेता डा विजय कुमार सिंह, वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, माओवादी केन्द्रका नेता रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, जसपाका नेता वृषेशचन्द्र लाल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका विशिष्ट व्यक्तित्वलाई ‘महामुर्ख’को उपाधि प्रदान गरिसकेको छ।


Last Updated on: March 28th, 2021 at 9:05 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया