आइतबार १९ मंसिर २०७८

केही दिन यता मुलुकको हिमाली, पहाडी, तराई र केही संरक्षित क्षेत्रमा आगोलागी हुँदा वायु प्रदुषण उच्च विन्दुमा परेको छ भने जनस्वाथ्यमा समेत गम्भीर असर पर्न थालेको छ।

वायु प्रदुषण उच्च विन्दुमा पुगेपछि सरकारले मुलुकभरका शिक्षण संस्था बन्द चार दिनका लागि बन्द गरेको छ। मंगलबारदेखि केहीहदसम्म डढेलो नियन्त्रणमा आएपनि पूर्णरुपमा नियन्त्रण हुन जेठ दोस्रो सातासम्म लाग्ने अनुमान राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अधिकारी मालती पन्तले बताइन्।

मुलुकका विभिन्न भागमा डढेलो फैलिएपछि दुर्लभ वन्यजन्तु र वासस्थान प्रभावित बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो एक महिनाको तथ्याङ्क अनुसार देशभर आगलागी र डढेलोको कारण ८६ जनाको मृत्यु भइसकेको छ। ३५३ जना घाइते, २९५५ परिवार संख्या प्रभावित भएका छन्।

त्यस्तै ६२१ घरधुरी आंशिक रुपमा प्रभावित भएको छन् भने पूर्णरुपमा ९६८ घरधुरी संख्या प्रभावित भएका छन्। यो समाचार तयार पार्दा सम्म ३९ जिल्लाका वनमा आगलागी भइराखेको छ। सबै भन्दा धेरै डोटी जिल्लामा १२ स्थानमा डडेलो लागिरहेको छ।

सूचना अधिकारी पन्तका अनुसार देशभर आगो लागेको जंगलमा डिभिजन वन कार्यलयले तालिमप्राप्त जनशक्ति परिचालन गरेको छ। आगोको स्वरुप ठूलो भएकाले नियन्त्रण ढिलो भएको बताइएको छ। उनले डढेलोको मौका छोपी वन्यजन्तुको चोरी शिकारी हुने जोखिम भएकाले ठूलो रुपमा कर्मचारी खटाइएको जानकारी आएको बताइन्।

डढेलो किन लाग्छ ?

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी मालती पन्तका अनुसार वनमा डडेलो लाग्नुको प्रमुख कारण मानवीय लापरवाही भएको बताउँछिन्।

हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समय सुख्खा हुने भएकाले यो यामलाई वन डढेलोको याम भनेर चिनिन्छ। प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ।

यसरी हरेक वर्ष लाग्ने डढेलोले सुन्दर प्राकृतिक वन र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ। गत वर्षमात्र करिब १४ लाख हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको, डढेलो नियन्त्रण गर्ने क्रममा करिब २० जना स्थानीयको मृत्यु भएको र १०० भन्दा बढी मानिस घाइते भएका तथ्याङ्क छ। वनमा लागेको डढेलोले जंगलमात्र नभई मानव बस्तीहरुमा पसेर ठूलो मानवीय र भौतिक क्षति बनाउने जोखिम उच्च हुन्छ।

पन्त भन्छिन्, ‘सुख्या याम छ, मानिसहरु चुरोट तथा बिँडीका ठुटाहरु जताभावी फाल्ने गरेकाले डढेलो लाग्ने गरेको हो। त्यस्तै केटाकेटीहरुले प्रज्वलनशील पदार्थहरु खेलाउने क्रममा पनि सानै झिल्कोबाट डढेलोको जोखिम उच्च भएको तथ्याङ्कहरु छन्। अर्को कुरा किसानहरुले सुकेका पतिङ्गर जलाई मलको रुपमा प्रयोग गर्ने गर्छन् हावाहुरीले त्यही सानो झिल्को उडाई अन्य स्थानमा आगोलागी र डढेलोको जोखिम बढ्छ।’


Last Updated on: March 31st, 2021 at 3:40 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया