मंगलबार ०९ कार्तिक २०७८

५ वटा भुस्याहा कुकुरको समूहले आक्रमण गर्दा ४ वर्षकी एक अबोध बालिकाको ज्यान गएको छ । ती बालिका आफ्नो घरबाट बाहिर निस्किनासाथ उनीमाथि भुस्याहा कुकुरहरुले आक्रमण गरेका हुन् । बालिकाको नाम शाहद भएको खुलाइएको छ तर उनको पूरा नाम खुलाइएको छैन । बालिका साउदी अरेबियामा परिवारको विदा मनाउने घरबाट बाहिर निस्किएका बेला आक्रमणमा परेकी थिइन् ।

कुकुरको आक्रमणमा परेपछि बालिकाले चिच्याएको उनकी आमाले सुनिन् । आमा दौडिएर बाहिर आउँदा छोरीलाई कुकुरहरुले आक्रमण गरिरहेको देखिन् । उनले सहयोगको लागि चिच्याएपछि आएका बटुवाहरुले कुकुरहरुलाई लखेटे । बालिकालाई तत्कालै अस्पताल लगिएको थियो तर उनको मृत्यु भयो । मृतक बालिकाका काका अब्दुल्लाह हज्जाम अल अबद अल सलमले गल्फ न्यूजसँग कुरा गर्दै यो घटनाले परिवारलाई ठूलो धक्का लागेको बताए ।

‘हामीले भतिजीलाई नजिकैको अस्पताल लगेका थियौं र हामी बेलुकी करिब साढे ५ बजे अस्पताल पुगेका थियौं’ उनले भने ‘मेडिकल स्टाफले उनको स्थिति स्थिर भएको भनेका थिए । कोभिड १९ को सावधानीसम्बन्धी नियमका कारण हामी अस्पतालबाहिर पर्खिरह्यौं । बेलुकी ७ बजेर ५० मिनेटतिर हामीलाई बालिकाको निधनको खबर दिइयो । यो हाम्रो लागि ठूलो धक्का थियो ।’

अल सलमका अनुसार यो क्षेत्रमा लामो समयदेखि आवारा जनावरको कारण निकै समस्या भइरहेको छ तर प्रशासनले यस समस्यालाई सम्बोधन गर्न केही गरेको छैन । उनले प्रशासनसँग यहाँका आवारा कुकुरहरुलाई नियन्त्रण गर्न आग्रह गरेका छन् किनकि यो क्षेत्रमा सप्ताहान्तमा बालबालिकासहितका परिवार आउँछन् । घटना अल वशिला क्षेत्रमा भएको हो जुन ठाउँ देशको राजधानी रियाधबाट करिब १६ माइल टाढा छ ।


Last Updated on: April 1st, 2021 at 5:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया