शनिबार ३० आश्विन २०७८

म एकदमै बलियो मानिस हो । मैले सानो उमेरदेखि नै जागिर गरेर आफू पढ्ने, घरव्यवहार सम्हाल्नेदेखि भाइबहिनी पढाउने पनि गरेँ । तर जतिसुकै बलियो मानिसलाई पनि कमजोर हुन समय नलाग्ने रहेछ ।

दुई चार महिनाको तनावले मेरो जीवनको गति कहाँबाट कहाँ पुग्यो । लगभग एक वर्ष जस्तो त समय वर्वाद भयो । त्यो बेलाको जस्तो अवस्था अहिलेसम्म रहेको भए त मेरो जिन्दगी बरबाद नै भएको थियो । तर मानिस सही हुनपर्दो रहेछ । समयले नै सबै कुरा सही बनाउन सहयोग गर्दो रहेछ जुन म आफैंले अनुभव गरेको छु ।

म घरको जेठी छोरी हुँ । आठ कक्षा पढ्दादेखि नै आफ्नो बुवाको दुःख र घरको समस्या देखेर काम गर्थेंं । एसएलसी दिएपछि जागिर गरेर नै आफूले आफूलाई पाल्दै अघि बढेँ । मलाई बाल्यकालको सुखसयल भनेको के हो भोग्ने अवसर नै मिलेन । बाल्यकालको हाँसखेल, साथीसँगको घुमाघाम मैले केही पनि अनुभव गर्न पाइनँ । मेरो काँधमा मेरो र परिवारको जिम्मेवारी थियो । त्यो मैले आफ्नो क्षमताले भ्याएसम्म पूरा गरेँ ।

मैले १२ कक्षाकाे पढाइ सकेपछि मेरो बिहे भयो । बिहे भएपछि केही समय त घरपरिवार सबैतिर राम्रोसँग नै चल्यो । तर बिहेको केही समयपछि विस्तारै मलाई डिप्रेसनको समस्या हुन थाल्यो । हाम्रो नेपालमा पढेर पनि जागिर नपाउने अवस्था छ । मैले त झन आफैंले कमाएर घर परिवार हेरिरहेको थिएँ । तर बिहेपछि घरव्यवहार र परिवार सँगसँगै बढाउ अप्ठेरो भयो । श्रीमानको साथ त पाएँ तर काम गर्न परिवारको साथ पाइनँ ।

परिवारले जागिर गर्छे, काम गरेर घर परिवार हेरिरहेकी छ भनेर साथ र सहयोग गरेन । परिवारको साथ नहुँदा मलाई काम गर्दै घर चलाउन गाह्रो भयो । श्रीमान् पनि टाढा हुनुहुन्थ्यो । नयाँ ठाउँमा धेरै कुरामा थाहा पनि नहुने । तर स–सना कुरामा परिवारले तनाव दिन थाले । म चाहिँ सामान्य पनि अति सामान्य परिवारको छोरी हुँ । पढाइ पनि थोरै । तर श्रीमानले राम्रो विषय पढ्नुभएको थियो । मलाई त्यही कुरामा पनि घरमा होच्याउने व्यवहार हुन थाल्यो ।

बिहान, दिउँसो र साँझ सधैँ कम पढेकी केटी भनेर सुन्नु पर्ने । तर विस्तारै त्यो पनि सामान्य नै लाग्न थालेको थियो । जसोतसो चित्त बुझाइरहेकी थिएँ । १२ कक्षा मात्र उत्तिर्ण गरेको मानिसले कति कमाउन सक्छु १७/१८ हजार त हो । त्यो पनि मैले त पहिलेदेखि नै मेहनत गर्दै आएकाले मात्र हो ।

घरमा त्यो कुरा पनि नबुझ्ने । फलानोले त यति कमाउँछ भनेर तनाब दिने । कामबाट घरमा जति ढिलो गए पनि खाना बनाएर खुवाउनु पर्ने ।

हाम्रो पश्चिमेली समाजमा त बुहारी भनेपछि उसलाई बुहारीको रुपमा मात्र हेरिन्छ । यो कुरा बुझिदैन कि ऊ कसैको छोरी हो, उसका पनि इच्छा र चाहना छन् भनेर । बुहारीका लागि सबै नाता बिर्सिन्छन् । यो बुहारी हो, यसले हाम्रो लागि सबै कुरा गर्नुपर्छ भनिन्छ तर यसका लागि हामीले पनि केही गर्नुपर्छ भनेर चाहिँ सोचिदैन । पढेलेखेको मानिसमा त यो सोच छ भने झन् पढलेख नगरेका मानिसमा त कस्तो होला भनेर कल्पनासम्म गर्न सकिँदैन ।

बिहे भएको चार महिनासम्म चाहिँ यी सबै कुरा झेल्दै मैले काम गरेँ । त्यसपछि भने सकिनँ । कामबाट आउँदा ढिलो हुने । मेरो कामको प्रकृति नै त्यस्तै खालको थियो । दिउँसो पार्टटाइम जसरी काममा जान्थें काम सकेर फर्कंदा कहिले त रातको ८ पनि बज्थ्यो । तर ९ बजे नै घर पुग्दा पनि चुलो बलेको हुँदैन थियो । मैले नै गएर खाना बनाउनु पर्थ्याे ।

अझ तनाव के भने अरुको घरमा खाना खाएर सुतिसके हाम्रो घरमा चाहिँ केही छैन भनेर वचन सुन्नु पर्ने । मानिसले मानिसलाई किन यस्तो पशुको जस्तो व्यवहार गर्छन् भनेर म सोच्न नै सक्दिन थिएँ । मानसिक रुपमा दिइने तनाव भनेको यस्तो हो कि तपाईंलाई कसैले दुई झापड कानमा हान्यो भने बिर्सिहालिन्छ पीडा पनि धेरै हुँदैन । तर तपाईंले कसैका लागि आफ्नो ख्याल नगरी काम गर्नुभएको छ र गर्दा गर्दै पनि देखिँदैन भने यति पीडा हुन्छ कि, मानसिक सन्तुलन नै बिग्रने रहेछ । मेलाई पनि त्यस्तै भयो ।

काम र घर व्यवहार सँगसँगै लैजान नसक्ने भएपछि म काम छाडेर बसेँ । त्यसबेला फेरि अर्को तनाव सुरु भयो । त्यो बेरोजगार भएर बस्दाको चार महिना त मैले यति तनाव सहेँ कि, जागिर गर्दाको भन्दा बढी भयो । किनभने आउँने बाटो केही भएन । अनि घरमा बसेर मात्र त खान पुग्दैन । घरमा काम नगरी बस्दा मैले खाएको भन्दा पनि बढी वचनहरु सुन्नु पर्ने । मेरो श्रीमान् पनि टाढा हुनुहुन्थ्यो । एक्लै यी सबै कुरा झेल्दा मलाई त कतिबेला डिप्रेसन भयो पत्तै भएन ।

म बेहाल भएको अवस्थामा थिएँ । त्यही बेला एउटा कामको ‘अफर’ आयो । जस्तो होस् काम गर्छु भनेर काम थालेँ । तर मेरो अवस्था यस्तो थियो कि ती दिनहरु अहिले म सोच्न पनि सक्दिनँ ।

त्यो ठाउँका मानिसले कसरी झेले होलान् जस्तो लाग्छ । त्यो बेला म मानिसका कुरा सुनिरहेकी हुन्थ्यें । तर एकछिनमै बिर्सिन्थे । भन्ने मानिसलाई लाग्थ्यो कि त्यो कुरा मैले सुनिरहेछु । तर मलाई याद नै हुँदैन थियो । मानसिक तनाव भएपछि काम गर्न पनि जाँगर नलाग्ने रहेछ । जतिसुकै क्षमतावान भए पनि सबै क्षमताहरु हराएर जाँदा रहेछन् ।

म यो गर्न सक्दिन, त्यो गर्न सक्दिन जस्तो मात्र लाग्ने । बोल्न डर लाग्ने, कसैसँग आँखामा हेरेर कुरा गर्न डराउने । तर त्यो बेलामा मलाई म डिप्रेसनमा छु भन्ने थाहा नै भएन । खासमा मलाई के भइरहेको छ भनेर थाहा पाउने हालमासमेत म थिइनँ सायद । (उज्यालो बाट)


Last Updated on: April 3rd, 2021 at 10:10 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया