सोमबार ०७ आषाढ २०७८

स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुण धर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानि पु¥याउन सक्छ । यी खानेकुरालाई हामी विरूद्ध आहार भनेर चिन्छौं । विरूद्ध आहारहरू छुट्टाछुट्टै खाँदा त्यसले स्वास्थ्यलाई फाइदा गरेपनि एकसाथ खाँदा यो नोक्सानदायक हुने गर्छ ।
विरुद्ध आहार सेवन गर्दा तत्कालै वा कालान्तरमा अनेकौं रोगहरूको खतरा रहन्छ । अधिकांश अवस्थामा हामीलाई यस्ता रोगहरूको कारणै थाहा नहुन सक्छ । तर विरूद्ध आहारको सेवनले पनि धेरै प्रकारका रोगहरू उत्पन्न गराउन सक्छ । यी खाद्य पदार्थहरूको विरूद्ध थाहा नहुँदा हामी रोगको चपेटामा जानी नजानी परिरहेका हुन्छौं । यसर्थ विरूद्ध आहारका विषयमा तपाईं हामी सबैजना जानकार हुनुपर्छ । कस्ता कस्ता विरूद्ध आहार ?

आहारसंयोगको आधारमा मात्र विरूद्ध हुँदैन । देश, काल, परिस्थिति, मौसम, पाचन क्षमता, मात्रा, दोष, प्रकृति, विकृति (रोग), बल, बय, संस्कार, वीर्य अदिका आधारमा पनि विरूद्ध हुन्छ ।

१.( देश वा स्थान विरुद्ध आहार )

स्वास्थ्यका लागि सबैभन्दा हितकर खानेकुरा भनेको व्यक्ति बसिरहेकै स्थानमा फलेफूलेको खानेकुराहरू हुन् । स्थानीय वा क्षेत्रीय खानेकुराहरू खाँदा व्यक्ति र खानेकुराको प्रकृति मिल्छ तर एक क्षेत्रमा फलेफूलेको खानेकुरा अर्को क्षेत्रका मान्छेले खाँदा विरूद्ध हुन्छ ।

२.( कालविरूद्ध आहार )

काल अथवा समयका आधारमा पनि आहार विरूद्ध हुन सक्छ । जस्तो काँक्रो बिहान १० बजेभन्दा पहिले खानु अति उत्तम, १० देखि ४ बजेसम्म खानु ठिकै तर चार बजे पश्चात खानु हानिकारक हुन जान्छ । यसैगरी दही, सातु, अमिलो खानेकुराहरू राति खान हँुदैन ।

३.( परिस्थिति विरूद्ध आहार) मान्छेको जीवनमा युद्ध, शान्ति, तनाव, चिन्ता, शोक, उदाशीनता, प्रणय जस्ता अनेक परिस्थितिहरू आइलाग्छन् र खानेकुरा यी परिस्थति अनुरूपको हुनुपर्छ । जस्तै, शोकको घडीमा नुनको सेवन, तनावको परिस्थितिमा गरिष्ठ भोजनलाई विरूद्ध मानिन्छ ।

४.( मौसमविरूद्धको आहार)जाडो–गर्मी, वर्षा–सुख्खा वा भिन्न–भिन्न मौसममा जे फल्छ त्यही खाए राम्रो हुन्छ । जस्तै, असारको आँप पुषमा खानु राम्रो होइन यसैगरी पुषको सुन्तला असारमा खानु राम्रो होइन । यसैगरी जाडोको चिसो र सुख्खा खानेकुरा खानु र गर्मी मौसममा तातो खानेकुरा खानु मौसम विरूद्धका आहार हुन् ।

५. (पाचनविरूद्ध आहार )

हरेक मान्छेमा पाचन क्षमता भिन्नभिन्न हुन्छ । कसैले गरिष्ठ भोजन पनि मजाले पचाइदिन्छन् त कसैले सामान्य भोजन पनि पचाउन सक्दैनन् । यसर्थ कमजोर पाचन क्षमता भएकाहरूले तारेको र भुटेको धेरै तेल हालेको माछा–मासु, अण्डाजस्ता गरिष्ठ खानेकुरा खानुहुँदैन ।

६.( मात्राविरूद्धको आहार) मह र घिउलाई समान मात्रामा सेवन गर्दा विषाक्त हुने मानिएको छ ।

७.(दोषविरूद्ध आहार) वात प्रकृतिको मान्छेका लागि वात बढाउने खालको, कफ प्रकृतिको मान्छेका लागि कफ बढाउने खालको र पित्त प्रकृतिको मान्छेका लागि पित्त बढाउने खालको खानेकुरा विरूद्ध आहार हुन् ।

८. (प्रकृतिविरूद्ध आहार) मान्छे सात्विक, राजसिक र तामसिक गरेर तीन प्रकृतिको छ । सात्विक प्रकृतिको मान्छेलाई तारेको र भूटेको, गरिष्ठ र उत्तेजक खानेकुरा दिँदा त्यो खाना गरिष्ठ हुन जान्छ भने राजसिक व्यक्तिलाई सादा खानादिँदा त्यो खाना पनि विरूद्ध खाना हुन्छ ।

९.(विकृति(रोग)विरूद्ध आहार) हरेक रोगमा खानुहुने र खानु नहुने कुराहरूको सूची हुन्छ । रोग अनुरूप नभएको खानेहुरूलाई विकृति विरूद्धको आहार भनिन्छ ।

१०. बल (परिश्रम)विरूद्ध आहारः मान्छे परिश्रमका आधारमा निष्क्रिय, सामान्य र सक्रिय जीवनशैलीको हुन सक्छ र उसले गर्ने परिश्रम पनि सामान्य मध्यम र कठिन हुन सक्छ । यसर्थ कठिन परिश्रमीलाई कम खान दिनु र सामान्य परिश्रमीलाई धेरै खानदिनु बलविरूद्धको आहार मानिन्छ ।

११. बय (उमेर)विरूद्ध आहार) लिटो खानेलाई भात खान दिनु र भातखानेलाई लिटो खानदिनु बय विरूद्धको आहार हो ।

१२. (पाक संस्कारविरूद्ध आहार) अमिलो खानेकुरालाई तामा वा पित्तलको भाडामा राख्दा वा पकाउँदा खाना विषाक्त हुन्छ । यसैगरी मह वा दहीलाई तताउँदा पनि हानिकारक हुन्छ । यस्ता खानेकुरालाई पाक संस्कारविरूद्धको आहार भनिन्छ ।

१३.( वीर्यविरूद्ध आहार ) शीतवीर्य पदार्थहरूलाई उष्णवीर्य पदार्थहरूसँग खाएको आहारलाई वीर्य विरूद्धको आहार भनिन्छ ।

१४.( रूचिविरूद्ध आहार)

आफूलाई रूचि नभएको खानेकुराहरू परिस्थितिबस खानुपरेको खानेकुरालाई हामी रूचिविरूद्धको आहार भन्छौं ।

१५. (संयोगका विरूद्ध आहार) दुई वा दुईभन्दा धेरै पदार्थको मिश्रण स्वास्थ्यका लागि हानिकारक हुन सक्छ भने त्यस खानेकुरालाई संयोगविरूद्ध आहार भनिन्छ ।


Last Updated on: January 18th, 2021 at 2:59 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया