सोमबार ०७ आषाढ २०७८

५ माघ, काठमाडौं । चालु खाता सधैं जसो घाटामा रहने गरेकोमा कोरोना महामारीपछि अवस्था फरक बन्यो । गत आर्थिक वर्षको अन्त्यसम्म पनि देशमा चालु खाता घाटामै थियो । चालु आर्थिक वर्षको सुरुवाती अवस्थादेखि भने चालु खातामा सुधार भएको देखिएको थियो ।चालु आवको पहिलो महिना साउनदेखि नै बचतमा गएको चालु खाता आर्थिक वर्षको पहिलो चौमास अर्थात कात्तिक मसान्तसम्ममा पनि बचतमै थियो । मंसिर मसान्त्सम्म आइपुग्दा भने चालु खाता पुनः घाटामा गएको नेपाल राष्ट्र बैंकको आर्थिक नीति तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउछन्।

उनका अनुसार मंसिर मसान्तसम्म चालु खाता २१ अर्ब ३२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको राष्ट्र बैंकले बताएको छ ।

(पछिल्लो ५ महिनाको अवस्था)

गत आर्थिक वर्ष २०७६/०७७ मा चालु खाता घाटा ८७.९ प्रतिशतले घटेर ३२ अर्ब ६ करोड रुपैयाँ कायम भएको थियो । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ६५ अर्ब ३६ करोड थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालु खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख छ । चालु आवको साउनमा चालु खाता २५ अर्ब ४१ करोड रुपैयाँ बचतमा रह्यो । अमेरिकी डलरमा हेर्ने हो भने २१ करोड २१ लाखले बचतमा रहेको राष्ट्र बैंकले बताएको छ।

दोस्रो महिनामा चालु खाता २६ अर्ब ७ करोडले बचतमा रहेको थियो भने तेस्रो महिना ३४ अर्ब ३६ करोडले बचतमा थियो । चौथो महिना अर्थात कात्तिक मसान्तसम्म चालु खाता २० अर्ब ४६ करोड रुपैयाँ बचतमा थियो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३४ अर्ब १२ करोड रुपैयाँ घाटामा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा छ ।

देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर चालु खाता हो । विदेशी मुद्रा धेरै भित्रने र कम बाहिरिने भयो भने बचतमा रहन्छ । यस विपरीत कम भित्रने र धेरै बाहिरिए घाटामा जान्छ ।

निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्ति र संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारहरूको सारांश चालु खाता सन्तुलन हो । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको बुझिन्छ ।

निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, रेमिटेन्स आदीका रुपमा विदेशी मुद्रा भित्रिरहेको हुन्छ । त्यस्तै, पेट्रोलियम पदार्थ, यातायातका साधन, औद्योगिक सामग्री आदीको आयातमा विदेशी मुद्रा बाहिरीरहेको हुन्छ ।

(चालु खाता घाटाका तीन कारण)

अर्थविद डा. चन्द्रमणि अधिकारी चालु खाता अहिले घाटामा जानुको मूख्य तीन कारण रहेको बताउछन् । पहिलो– पर्यटक आवागमन ठप्प हुनु । कोरोना संक्रमण फैलन नदिन सरकारले ११ चैतमा लकडाउन गरेको सिधा असर नेपाल घुम्म आउने पर्यटक संख्यामा पर्यो । त्यसबाट पर्यटन आय पनि ठप्प भयो ।दोस्रोमा विदेशबाट आउने अनुदान र तेस्रोमा निर्यात पनि घट्यो । यी कारणले पनि चालु खाता घाटामा गयो ।                                    लामो समयसम्मका लागि आएको पैसा पुँजीगत खातामा जान्छ । रेमिट्यान्स तथा पर्यटनबाट आएको पैसा भने चालु खातामा जान्छ । अर्थविद अधिकारीका अनुसार अहिले चालु खातामा धेरै योगदान रेमिट्यान्स कै छ ।

निर्यातबाट आएको पैसा पनि चालु खातामै जान्छ । प्रोजेक्ट चलाउन अनुदान आएको र बाहिर सेवा दिएर आएको पैसा पनि चालु खातामै जान्छ । आयात गर्ने पैसाको उपयोग चालु खाताबाटै हुन्छ ।

उपभोगका लागि मात्र आयात उच्च छ र चालु खाता घाटा बढेको छ भने चिन्ता लिनु पर्ने हुन्छ । चालु खाता घट्दै गयो भने वस्तु र सेवा आयात गर्ने पैसा घट्दै जाने अर्थविद अधिकारी बताउँछन् ।

आउने पैसा कम र जाने धेरै भयो भने घाटा हुन्छ । ‘विद्यार्थीलाई पठाउने रकम यसमै जान्छ’ अधिकारी भन्छन्, ‘पर्यटक आएनन्, अनुदान आउन सकेको छैन । निर्यात पनि बढ्न सकेको छैन । यसले गर्दा हाम्रो चालु खाता घाटामा गयो ।’

उनका अनुसार चालु खाता घाटा बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाव पर्छ । अहिले विदेशी मुद्रा सञ्चितिको अवस्था भने राम्रै छ । व्यापार व्यवसाय ठप्प हुँदा धेरै वस्तु आयात हुन पाएनन् । यसले गर्दा १४ महिना आयात धान्ने विदेशी विनिमय सञ्चिति छ ।

राष्ट्र बैंकका अनुसार, २०७७ असार मसान्त रहेको १४ खर्ब १ अर्ब ८४ करोड कुल विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशत बढेर मसान्तमा १४ खर्ब ७४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।


Last Updated on: January 19th, 2021 at 10:59 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया