आइतबार २६ बैशाख २०७८

अब स्वास्थ्य मन्त्रालयले थेग्न नसक्ने भयौं भनेर हात उठाउन खोज्नु भनेको स्थिति झन् बर्बाद जानु हो, सुझबुझ पुर्‍याएर केही गर्नुपर्ने छ, गरिहालौं !

विज्ञानमाथि प्रधानमन्त्रीको कहिल्यै विश्वास रहेन, संवेदनशीलताको कुरा गर्ने हो भने कोरोना महामारीको पहिलो लहरको समयमा हाम्रो प्रधानमन्त्रीको प्राथमिकता “दल विभाजन” आदिमा थियो ।

समयमै गर्नुपर्ने काम सरकारले गरेन तर अद्भुत काम गरिरहेको छ भनेर आत्मरतिमा रमाउनु भयो । जहिले पनि कोभिड महामारीका सन्दर्भमा हामी नेपालीहरुसँग एउटा अद्भुत क्षमता छ भनिरहनुभयो । कोरोनाको जोखिममा काम गरेका फ्रन्टलाइनरलाई समेत निरुत्साहित बनाउनुभयो ।

अहिले हामी धेरै अफ्ट्यारो अवस्थामा पुगिसकेका छौं । स्वास्थ्य मन्त्रालयले वैशाख १७ गतेको वक्तव्यमार्फत थेग्न नसक्ने भयौं भनेर हात उठाउन खोजेको जस्तो गर्‍यो भने त स्थिति झन् बर्बाद हुन जान्छ । सुझबुझ पुर्‍याएर केही गर्नुपर्ने छ, गरिहालौं । के गर्ने ? कसरी गर्ने ? यो सम्बन्धमा केही धारणा राख्छु ।

प्रधानमन्त्री ड्राइभिङ सिटमा हुनुहुन्छ। जुन बेलासम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ त्यो बेलासम्म यो भाइरसविरुद्धको लडाइँको हाम्रो सेनापति उहाँ नै हो ।

उहाँ नसुध्रिकन, उहाँको प्राथमिकतामा यो महामारी नपरेसम्म हामीले जति नै प्रयास गरेपनि धेरै कुरा बदलिंदैन । प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ न उहाँ चामत्कारिक हो न उहाँले दाबी गरेजस्तो हामी नेपालीसँग अद्भुत प्रतिरोध क्षमता भएर पहिलो लहरमा कम क्षति भएको हो ।

प्रधानमन्त्रीले आत्मसात् गर्नुपर्‍यो हामी अत्यन्त अफ्ठ्यारो अवस्थामा आइपुगेका छौं, यो बेला कोरोनाभन्दा अर्को कुनै प्राथमिकता हुनसक्दैन ।

त्यसैले प्रधानमन्त्रीलाई मेरो विनम्रतापूर्वक आग्रह छ- ‘यो लडाइँको कमाण्ड एण्ड कन्ट्रोल समालेर सिंगो देशलाई साथमा लिएर हिंड्ने साहस गर्नुहोस्, मुख बन्द गरेर कान खुला राख्नुहोस्, सबैको विज्ञ आफैँ बन्न नखोज्नुहोस्, सबैको कुरा सुन्नुहोस् अनि सबैलाई समन्वय गर्नुहोस् र सबैको साथ लिएर नेतृत्व गर्नुहोस् । ७ प्रदेश, ७५३ स्थानीय सरकार, प्रतिपक्ष, निजी क्षेत्र सबैलाई साथमा लिएर हिंड्नुहोस् ।’

यसरी संकटको महसुस प्रधानमन्त्रीलाई हुन सकेमात्रै तल्लो तहसम्म सञ्चार हुनसक्छ । सबैमा उत्साह र आत्मबल बढ्न सक्छ ।

हेर्दा स–साना लाग्ने यस्ता थुप्रै समस्या छन् । यसलाई समाधान गर्नुको साटो आदेशपछि आदेश दिंदै गयो भने सीसीएमसीको सान्दर्भिकता नै रहँदैन ।

यतिबेला हामी आपतकालीन अवस्थामा छौँ । यो दौडमा जबसम्म कोरोना भाइरसभन्दा अगाडि हुँदैनौँ तबसम्म यो लडाइँ जित्न सक्दैनौँ । यो आपतकालीन अवस्थामा मुलुकका ७६१ सरकारहरू, सबै सरोकारवाला निकायलगायत सिंगो राज्य प्रणालीलाई चलायमान बनाएर आफ्नो कमाण्ड र कन्ट्रोलमा यो युद्धको सामना गर्ने वातावरण प्रधानमन्त्रीले बनाउनुपर्छ ।

अन्यथा, आदेश दिने मात्रै कार्यले हाम्रो अवस्था केही दिनमा नियन्त्रण बाहिर जान्छ। यदि जनताको पीडालाई शासकले नबुझ्ने हो र हामी सक्दैनौं भनेर हात उठाउने हो भने रोगले होइन, शासकका कारण जनता मर्नुपरेको हो भन्नुपर्ने अवस्था आउँछ । त्यो भन्न नदिने अवस्था बनाऔं ।

त्यसैले फेरि पनि विनम्रतापूर्वक भन्छु,- प्रधानमन्त्रीज्यू, तपाईं हामी अहिले एउटै डुंगामा छौं, डुंगा डुब्दा हामी सबै डुब्छौं । यो कसैको जितहारको विषय होइन । यो संकटको सामना गर्न हामी सम्पूर्ण रूपमा साथ सहयोग दिन तयार छौं । अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुहोस् र समन्वयको हात फैलाएर यो महामारी विरुद्धको लडाइँको नेतृत्व गर्नुहोस् ।


Last Updated on: May 4th, 2021 at 4:21 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया