मंगलबार १९ साउन २०७८

काठमाडौं : ‘ध्रुव’ शब्द अटल र अपरिहार्यताको पर्याय सूचक हो । जो अटल हुन्छ, त्यो नै ‘ध्रुव’ कहलाउँछ । ‘ध्रुवपंक्ति’ सरह अटल, ‘ध्रुवसत्य’ सरह सम्पूर्ण, ‘ध्रुवतारा’ जस्तै अडिग ! ‘धुरी’ लाई एउटा एउटा रेखा मान्ने हो भने ‘ध्रुव’ त्यो रेखाको दुई किनार, दुई टुप्पा, दुइ छोर सरह हुन्छ ।

धुरीलाई ‘अक्ष’ भनिन्छ । ‘ध्रव’ कतिसम्म विपरीत हुन्छन् भने ‘ध्रवीकरण’ जस्तो शब्द शायद यसै कारण जन्मियो । ‘ध्रुव’ले नै यस शब्दको पनि जन्म भयो, ‘पोल्स् अपार्ट’। मनुष्यले जब आफ्नो वरपरको संसारलाई हेर्न–बुझ्न शुरु गरे, उनीहरुले के पत्ता लगाए भने कुनै चीज आफ्नो स्थानमा घुम्नका लागि ‘धुरी’ आवश्यक पर्ने रहेछ । घुम्ने चीजको आफ्नो कुनै ‘धुरी’ हुनैपर्छ र धुरी भने अडिग हुनु अनिवार्य छ ।

‘किला’ अडिग भएमा मात्र पाङ्ग्रा घुमिरहन्छ । घुमिरहेको ‘पाङग्रा’ हजारौं कोस दूरी पार गर्नसक्छ, तर ‘किला’ आफ्नो ‘धुरी’बाट डेग चल्दैन । यो अर्कै सन्दर्भ हो, अचल रहेको किला पनि गुडि रहेको पाङग्राकै साथ हजारौं कोस यात्रा गर्छ । यी जीवनका केही सुन्दर रहस्य हुन्, जुन हाम्रै वरिपरि छन् । पृथ्वी भकुण्डो जस्तो होस् वा जस्तोसुकै होस्, गोलो छ र घुमिरहन्छ ।

मनुष्यले सोच्यो, पक्कै पृथ्वी पनि कुनै ‘धुरी’ मै घुम्छ होला । तर, पृथ्वीको त त्यसतो कुनै ‘किला’ भेटिएन, अथवा त्यो ‘किला’ भौतिक आँखाले देख्न नसकिएको हो कि ! त्यसपछि मनुष्यले एउटा ‘धुरी’को कल्पना गर्यो, जो पृथ्वीको अक्ष थियो । यसअनुसार ‘उत्तरी’ र ‘दक्षिणी’ दुई ध्रुव स्वीकार गरियो ।

‘उत्तरी ध्रुव’बाट सीधा रेखामा जुन तारा आकाशमा सदैव देखिन्थ्यो, त्यसलाई मनुष्यले ‘ध्रुवतारा’को संज्ञा दिए । पुरानो जमानामा लामो दूरीको यात्रामा निस्कने यात्रीहरुले यही ‘ध्रुवतारा’ हेरेर आफ्नो निर्दिष्ट दिशा तय गर्ने गर्थे । ‘ध्रुवतारा’ लाई अनेक संस्कृतिहरु मा विभिन्न नामले सम्बोधन गरियो । यो तारालाई ‘उत्तरी तारा’ भनियो, अर्थात ‘नर्थ स्टार’ ।

यसलाई ‘पोलारिस’ भनियो अर्थात ‘पोल स्टार’ । अरबीहरुले यसलाई ‘नजूम–अल–शुमाली’ भने । फारसीमा यसलाई ‘कुतबी सितारा’ भनियो । चीनमा यो तारालाई ‘राजनक्षत्र’ को संज्ञा दिइयो। जुन संसारमा सबै चीजवस्तु क्षणभंगुर थिए, सबै मरणधर्मा थिए। पलपल परिवर्तित प्रकृति ! यस्तो स्थितिमा आकाशमा टाँगिएको ‘ध्रुवतारा’ मनुष्यलाई पूर्णताको छनक दिन्थ्यो, यसले उसलाई सन्तुष्टि बोध गराउँथ्यो ।

अरु चाहे जे सुकै होस , यो ‘ध्रुवतारा’ हरहमेशा आकाशमा त्यही स्थानमा स्थित रहनेछ… आ–आफ्नो डुँगामा आफ्नो अज्ञात नियतितर्फ प्रस्थानरत यात्री यही सोचेर तथा यसै विश्वासमा आनन्दले निदाउँथ्ये- रमाउथे ।यो त धेरै पछि मात्र पत्ता लाग्यो, आकाशमा कुनै एकमात्र ‘ध्रुवतारा’ हुँदैन, कैयन् ‘ध्रुवतारा’ हुन्छन् । यो संज्ञानमा आएपछि मनुष्यको अन्तस्करणमा कति कम्पन भयो होला ?

‘शेष’ को फणा पनि कम्पित हुनगयो । धुरी नै डगमगायो । ‘ध्रुवतारा’ पनि एक रहेन । ‘ध्रुवतारा’ पनि अटल रहेन । ज्ञान साँच्चि नै एक किसिमको ‘मरण’ हो ! कहिले ‘अल्फा’ ध्रुवतारा बन्न पुग्छ, कहिले ‘बीटा’ । कहिले ‘पोलारिस’ ध्रुवतारा कहलिन्थ्यो, त कहिले ‘भेगा’ । कहिले ‘क्रतु’ ध्रुवतारा त कहिले ‘पुलह’ ध्रुवतारा ।

पहिले ध्रुवतारा ‘सप्तर्षि मण्डल’ मा रहेको मानिन्थ्यो । पछि मात्र पत्ता लाग्यो, यो त ‘लघु सप्तर्षि मण्डल’मा पो रहेछ । वैदिक कालमा जसलाई ‘ध्रुवतारा’को मान्यता दिइएको थियो, त्यो ‘ध्रुवतारा’ त अब छँदै छैन । यसको कारण, पृथ्वीको ‘धुरी’ संधै चला यमान रहन्छ । पृथ्वीको ‘धुरी’ अचल छैन । यसैले उत्तरी तारा पनि सतत् गतिमान रहन्छ । धरतीको धुरी २६ हजार वर्षमा आफ्नो एक अग्रगमन पूर्ण गर्छ ।

यस अवधिमा ‘ध्रुवतारा’ पनि बदलिन्छ । धरती धुरीमा चलायमान छ, धुरी के मा चलायमान छ ? धुरीको ‘धुरी’ पनि कहीं त होला… ? यो पत्ता नलगाए सम्म ‘मोक्ष’ सम्भव छैन । र, हाम्रो चेतनाको कुन बिन्दूमा हाम्रो अस्तित्वको ध्रुवतारा प्रदीप्त हुन्छ ? यो नजानेसम्म मुक्ति कसरी पाउन सकिन्छ, बन्धुवर ! लेखक – सुशोभित सिंह सक्तावत , पुनर्लेखन – ज्ञानमित्र


Last Updated on: January 22nd, 2021 at 2:54 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया