बिहिबार २१ साउन २०७८

कोभिड-१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम सुरु भएको छ।

सूचना र सल्लाह भ्रमपूर्ण हुन सक्छन् तर केही आधारभूत तथ्य र सूचनाले त्यस्ता वास्तविकता ठम्याउन सहयोग गर्छन्।

खोप के हो?
खोपले भाइरस, रोग वा सङ्क्रमणसँग लड्न शरीरलाई तयार गर्छ। यसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई आक्रमण गर्ने तत्त्वको पहिचान गर्न सघाउँछ।

यसले एन्टीबडी उत्पादन गरेपछि धेरै बिरामी बनाउने सम्भावना कम हुन्छ तर मानिसहरूले केही असर अनुभव गर्न सक्छन्।

अस्थायी खालको ज्वरो र दुखाइको महसुस हुनसक्छ। त्यसपछि तपाईँको शरीरमा रोगसँग लड्ने प्रतिरोधी क्षमताको विकास हुन्छ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीले त्यसैले खोप निकै शक्तिशाली हुने बताएको छ।

किनकि त्यसले बिरामी निको पार्न र उपचार गर्न प्रयोग हुने अधिकांश औषधिहरूभन्दा खोपले धेरै जीवन बचाउँछ।

खोप सुरक्षित छ ?
प्रारम्भिक चरणमा १० औँ शताब्दीमा चिनियाँले खोपको अवधारणा पत्ता लगाएका थिए। तर त्यो सन् १७९६ मा एडवार्ड जेनेरले तुलनात्मक रूपमा सामान्य काउपोक्सको सङ्क्रमणले बिफरबाट जोगाउने कुराको भेउ नपाउँदासम्म सम्भव भएन।

दुई वर्षपछि उनले आफ्नो अवधारणाको परीक्षण गरे र तथ्याङ्क प्रकाशित गरे। गाई जनाउने ल्याटीन शब्द भेक्का शब्दबाट विश्वभरि भ्याक्सिन भनी खोपको नामकरण भयो।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार २० वटा रोगहरूबाट जोगाउन र बर्सेनि २० देखि ३० लाख मानिसको मृत्यु रोक्न खोपलाई आधुनिक विश्वको एउटा महान् उपलब्धिको रूपमा लिइयो।

सीडीसीले भनेको छ, बजारमा पठाउनुअघि खोपहरूको व्यापक रूपमा परीक्षण गरिन्छ। मानिसहरूमा क्लिनिकल परीक्षण गर्नुअघि त्यसको ल्याब र जनावरमा परीक्षण गरिन्छ।

जोखिमहरू पनि हुन्छन् तर सबै औषधिहरू जस्तै जोखिमको तुलनामा खोपको लाभको निकै धेरै हुन्छ।

उदाहरणका लागि बाल्यकालको रोग करिब एक पुस्ता अघिसम्म आम रूपमा थियो जुन खोपकै कारण निकै कम हुँदै गएको छ। र, करोडौँ मानिसको ज्यान लिएको बिफर अहिले पूर्ण रूपमा निर्मूल भइसकेको छ।

तर सफलता प्राप्त गर्न दशकौँ लाग्छ। विश्वव्यापी खोप अभियान सुरु भएको करिब ३० वर्षपछि अफ्रिकाले गत अगस्ट महिनामा मात्र पोलियोमुक्त घोषणा गर्‍यो।

विज्ञहरूले चेतावनी दिएका छ कि हामी सामान्य अवस्थामा पुग्ने गरी कोभिड-१९ विरुद्ध विश्वभरिको जनसङ्ख्यालाई खोप दिन महिनौँ वा सम्भवतः केही वर्ष लाग्न सक्छ।

खोप कसरी बनाइयो ?
ब्याक्टेरिया, भाइरस, प्यारासाइट वा फङ्गसजस्ता रोगका कारक शरीरभित्र प्रवेश गरेपछि शरीरले त्योसँग लड्न एन्टीबडी उत्पादन गर्न थाल्छ।

परम्परागत खोपले दैनिक क्रियाकलापमा किटाणुहरूसँग लड्नुअघि एन्टीजेनको कमजोर वा निष्क्रिय अंश मानिसको शरीरमा उत्पादन गरेर सहयोग गर्छ।

त्यसले प्रतिरक्षा प्रणालीलाई वास्तविक किटाणुसँग लडेको जस्तो कार्य गर्न प्रेरित गर्छ।तर कतिपय कोरोनाभाइरस खोप बनाउन नयाँ तरिका अपनाइएका छन्।

कोभिड खोपको तुलना
फाइजर-बायोएनटेक र मोडेर्ना दुवै भाइरसको आनुवंशिक सङ्केतको रूपमा प्रयोग हुने म्यासेन्जर आरएनए (एम-आरएनए) खोप हुन्।

कमजोर वा निष्क्रिय एन्टीजेनलाई प्रयोग गर्नुको बदला तीनले एन्टीबडी बनाउन आवश्यक पर्ने प्रतिरोधी क्षमता सक्रिय तुल्याउन कोभिड-१९ को भाइरसको सतहमा भेटिने प्रोटिन तीव्र वृद्धि कसरी गर्ने भन्ने सिकाउँछ।

अक्सफोर्ड-एस्ट्राजेनेका खोप फरक छ। यही खोप नेपालमा भारतको सहयोगले आइपुगेको हो।वैज्ञानिकहरूले चिम्पान्जीहरूलाई सङ्क्रमित गर्ने सामान्य रुघाको भाइरसलाई परिवर्तन र कोभिड-१९ को अनुवांशिक सङ्केतका अंशलाई थप गरेका छन्।

तीनवटै खोपले अमेरिका र ब्रिटेनमा प्रयोगको निम्ति अनुमति पाएका छन्।मेक्सिको, चिले र कोस्टारिकाले फाइजर भ्याक्सिन प्रयोगमा ल्याइसकेका छन्। ब्रजिल सरकारले अक्सफोर्ड र सिनोभ्याक खोपलाई अनुमति दिने सङ्केत दिएको छ।

अरू खोप पनि छन् ?
बेइजिङस्थित सिनोभ्याकले विकास गरेको कोरोनाभ्याक खोप पनि चीन, सिंगापुर, मलेशिया, इन्डोनेसिया र फिलिपिन्समा लगाइँदै छ र त्यसमा मृत भाइरसको अंशको प्रयोगको परम्परागत विधि अपनाइएको छ।

टर्की र इन्डोनेसियामा गरिएको पछिल्लो परीक्षणबाट प्राप्त अन्तरिम तथ्याङ्कलाई लिएर त्यसको वास्तविक प्रभावकारितामाथि प्रश्न उठाइएको छ। ब्रजिलमा अनुसन्धानकर्ताहरूले ५०.४ प्रतिशत मात्र प्रभावकारी देखिएको बताएका छन्।

भारतमा अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर एक्ट्राजेनेकाले विकास गरेको कोभिशील्ड र स्थानीय भारत बायोटेकको कोभ्याक्सिन खोप लगाउन थालिएको छ।

रुसले भाइरसको परिवर्तित संस्करण प्रयोग गरिएको आफ्नै खोप स्पुतनिक भी प्रयोग गरिरहेको छ।

के सबैलाई खोप चाहिन्छ ?
खोप सबैतिर अनिवार्य गरिएको छैन। तर मेडिकल कारणले गर्दा लगाउन नहुने सानो सङ्ख्या बाहेक अधिकांशलाई लगाउन ठिक भनिएको छ।

सीडीसीका अनुसार खोपले जसले लगाउँछ उसलाई कोभिड-१९ हुन दिन्न र त्यो व्यक्तिबाट सर्नबाट अरूलाई पनि जोगाउँछ।

जसलाई उसले महामारी नियन्त्रणको महत्त्वपूर्ण साधन भनेको छ। डब्ल्यूएचओले ६५ देखि ७० प्रतिशत मानिसहरूलाई खोपको खाँचो पर्ने अनुमान गरेको छ। जसको अर्थ धेरै मानिसलाई त्यसको निम्ति प्रेरित गर्ने देखिन्छ।

केही मानिसले कोभिड खोपको उत्पादनको गतिलाई लिएर चिन्ता व्यक्त गरेको पाइन्छ। सत्य पनि हो वैज्ञानिकहरूले खोपको परीक्षण र योजनामा वर्षौँ बिताउँछन् र विश्वव्यापी स्वार्थको निम्ति समाधान खोज्न कामलाई गति दिएका छन्। त्यसैका निम्ति डब्ल्यूएचओले वैज्ञानिक, व्यापारी र स्वास्थ्य सङ्गठनहरूसँग संयोजन गरिरहेको छ।

संक्षेपमा अर्बौँ मानिसलाई खोप दिँदा कोभिड-१९ को सङ्क्रमण रोक्छ र प्रतिरोध क्षमता विकास भएको अवस्था अर्थात् हर्ड इम्यूनिटीको बाटो खुला गर्छ। त्यसरी खोप दिइएपछि हामी छिट्टै सामान्य जनजीवनमा फर्किन सक्छौँ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।


Last Updated on: January 23rd, 2021 at 5:33 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया