शुक्रबार ०४ आषाढ २०७८

कोरोनाभाइरस कहाँबाट आयो भन्ने विषयमा अहिलेसम्म पनि ठूलो बहस छ । चीनको वुहानस्थित पशुपन्छी बजारबाट यो भाइरस मानिसमा सरेको भनिए पनि धेरैले यसलाई विश्वास गरिरहेका छैनन् । अमेरिका र युरोपका कैयौं देशहरुले अझै पनि कोरोनाभाइरस वुहानस्थित प्रयोगशालाबाट बाहिरिएको दावी गरिरहेका छन् । यही बीचमा अमेरिकाका २ जना विशेषज्ञले कोरोनाभाइरस उत्पत्तिको विषयमा ठूलो चेतावनी दिएका छन् ।

ब्लुमबर्गको एक रिपोर्टअनुसार यी विशेषज्ञहरुले कोरोनाभाइरस कहाँबाट उत्पत्ति भयो भन्ने कुरा पत्ता लगाउनुपर्ने अन्यथा कोभिड–२६ र कोभिड–३२ को लागि तयार रहन चेतावनी दिएका छन् । अमेरिकाको डोनाल्ड ट्रम्प सरकारमा फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनका कमिश्नर रहेका स्कट गटलिब र टेक्सासको चिल्ड्रेन्स हस्पिटल सेन्टर फर भ्याक्सिन डेभलपमेन्टका उपनिर्देशक पिटर होट्सले दिएका हुन् । गटलिब अहिले औषधि कम्पनी फाइजरको बोर्ड सदस्य पनि हुन् । फाइजरले विकास गरेको कोरोनाभाइरस भ्याक्सिन अमेरिकासहित थुप्रै देशमा लगाइँदैछ ।

यी दुवै विशेषज्ञले कोभिड–१९ को उत्पत्तिको पत्ता लगाउन र भविष्यमा महामारीहरुको खतरा रोक्नको लागि चीन सरकारले विश्वलाई सहयोग गर्नुपर्ने बताएका छन् । गटलिबका अनुसार चीनको प्रयोगशालाबाट भाइरस लिक भएको दावीलाई अझ बलियो बनाउने जानकारीहरु बढेका छन् । साथमा चीनले यो दावीलाई गलत प्रमाणित गर्ने प्रमाणहरु पनि दिएको छैन । होट्सले विश्वमा जसरी कोरोना फैलिएको छ त्यसैगरी अरु महामारी फैलिने खतरा बढेको तर विश्वलाई यसको आभास नभएको बताए ।


Last Updated on: June 1st, 2021 at 7:22 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया