आइतबार १२ मंसिर २०७८

चितवन मेडिकल कलेजमा एक महिलाले श्रीमानलाई कलेजो दान गरेकी छन्।जाजरकोटको कुशे गाउँपालिका-९ की ४८ वर्षीया कमलादेवी शाहीले ४७ वर्षीय श्रीमान भरतविक्रम शाहीलाई कलेजो दिएकी हुन्। असार १८ गते श्रीमतीको ६० प्रतिशत कलेजो काटेर श्रीमानको शरीरमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।

एक दर्जन बढी चिकित्सक, स्वास्थ्यकर्मीको समूहले करिब १५ घन्टा लगाएर कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए।चितवन मेडिकल कलेजले दोस्रो पटक कलेजो प्रत्यारोपण गरेको हो। यसअघि गत चैत ८ गते धनकुमारी लामालाई उनकी छोरी उषा तामाङले कलेजो दिएकी थिइन्। आमालाई कलेजो दिने उषा नियमित काममा फर्किसकेकी छन् भने धनकुमारी स्वास्थ्यलाभ गर्दैछिन्। पछिल्लो प्रत्यारोपणमा श्रीमानलाई कलेजो दान गरेकी कमलादेवी असार २७ गते अस्पतालबाट डिस्चार्ज भइसकेकी छन्।

‘भरतविक्रमको अवस्थामा पनि सुधार भइरहेको छ, अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई पनि डिस्चार्ज गर्न सकिन्छ,’ प्रत्यारोपणमा सहभागी प्रमुख कलेजो प्रत्यारोपण शल्य चिकित्सक डाक्टर सञ्जयकुमार यादवले भने।उनका अनुसार कलेजो दिने र लिने दुबै जनाको कलेजो २ देखि ३ महिनासम्ममा ९० देखि ९५ प्रतिशतसम्म पलाउँछ।‘त्यसपछि त उहाँहरू सामान्य रूपमै जीवन बिताउन सकिहाल्नुहुन्छ,’ उनले भने।

डाक्टर यादवका अनुसार भरतविक्रम अस्पताल आइपुग्दा उनको अवस्था गम्भीर थियो। सिरोसिस अफ लिभर (कलजोको अवस्थाको ए, बी, सी तीन चरण हुनेमा) सी चरणमा थियो।

‘गत फागुनमै कलेजोको अवस्था सी चरणमा पुगेका कारण प्रत्यारोपण गर्नुपर्ने थियो,’ डाक्टर यादवले भने, ‘पेटमा पानी भरिएर ठूलो भएको थियो, अल्कोहलका कारण कलेजो बिग्रिएको थियो, हेपटाइटिस बी पनि थियो।’

शाहीको कलेजोमा रगत पास हुनै नसक्नेगरी नसामा ‘ब्लकेज’ थियो। नसाबाट कलेजोमा रगत पास हुन बन्द हुने समस्यालाई चिकित्सकीय भाषामा पिभिटी भनिन्छ। डाक्टर यादवले यस्तो अवस्थाका बिरामीको सफल प्रत्यारोपण नेपालमै पहिलो पटक भएको दाबी गरे।

‘कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल हुन्छ,’ यादवले भने, ‘नेपालमा नै पहिलो पटक चितवन मेडिकल कलेजमा पिभिटी भएको बिरामीमा कलेजो प्रत्यारोपण गरियो।’प्रत्यारोपणका क्रममा झन्डै १३ युनिट रगत खर्च भएको थियो। अघिल्लो प्रत्यारोपणमा १/२ युनिट रगतले नै पुगेको थियो।

जाजरकोटका भरतविक्रम शाहीको स्वस्थ्यमा समस्या आएको एक दशक बढी भयो। केही वर्ष अघि कलेजोमा समस्या रहेको पत्ता लागेपछि शाहीलाई उपचारका लागि काठामाडौंदेखि भारतसम्म लगियो। काठमाडौंका विभिन्न अस्पताल चहारेपछि उनी राम्रो उपचारको खोजीमा लखनऊको चरक अस्पतालसम्म पुगेका थिए। त्यहाँका चिकित्सकले शाहीलाई औषधी दिएर पठाए। तर त्यसले उनलाई निको भएन।
‘दुई महिना अघि स्वास्थ्यमा थप समस्या आएपछि नेपालगञ्जमा उपचार गर्दा बुबाको कलेजो प्रत्यारोपण नै गर्नुपर्ने जानकारी डाक्टरले गराउनुभयो,’ छोरा गणेश शाहीले भने, ‘त्यसपछि हामी तयारीमा लाग्यौं।’

नेपालमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र र चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने जानकारी पाएपछि उनीहरू सुरुमा काठमाडौं नै पुगे।‘तर कोरोनाका कारण हो कि काठमाडौंमा उपचार हुनेजस्तो देखिएन, बुबालाई लिएर चितवन आइपुग्यौं,’ उनले भने, ‘अहिले कलेजो प्रत्यारोपण भएर बुबा आमा आराम गरिरहनुभएको छ।’

कलेजो प्रत्यारोपणमा मेदान्त अस्पतालमा वर्षौं काम गरेका कलेजो प्रत्यारोपण विशेषज्ञहरु डाक्टर सञ्जयकुमार यादव, डाक्टर जयन्तकुमार साह, एनेस्थेसियोलोजिष्ट डाक्टर किरण अधिकारी, हेपाटोलोजिष्ट डाक्टर सागर पौडेल, एपोलो अस्पतालमा काम गरेको अनुभव भएका डाक्टर एकानन्द सिंहका साथै नेपालकै अनुभवी चिकित्सकहरू एनेस्थेसियोलोजिष्ट सुरेश गौतम, नविन यादव, वीरेन्द्र राउत, हेपाटोलोजिष्ट वरूण श्रेष्ठ, रेडियोलोजिष्ट दिपक अधिकारी, सुवास ओझाको सहभागी थिए। साथै नयाँ दिल्लीस्थित अपोलो अस्पतालका डाक्टर निरभ गोयलसहितको समूह पनि उपचारमा सहभागी रहेको देवकोटाले बताए।

हेपाटोलोजिष्ट डाक्टर सागर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा दैनिक १५ देखि २० जना बिरामीहरू कलेजोको समस्या लिएर आउँछन्। उनीहरूमध्ये करिब २५ प्रतिशतमा गम्भीर समस्या देखिने गरेको छ। कलेजो प्रत्यारोपणका लागि वर्षमा करिब ६० जना बिरामी विदेश जाने गरेको तथ्यांक रहेको उनले बताए। नेपालमा वार्षिक १ हजार बढीको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने गरेको छ।

‘तर कानुनी जटिलता र खर्चका कारण सबैले प्रत्यारोपण गर्न सकेका छैनन्,’ उनले भने।कलेजो प्रत्यारोपणका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने अस्पतालले जनायो। भरतविक्रमको उपचारमा अहिलेसम्म करिब ३० लाख रुपैयाँ खर्च भएको छोरा गणेश शाहीले बताए।

भारतको मेदान्त अस्पतालमा ५०० जना बढीको कलेजो प्रत्यारोपणको नेतृत्व गरेका विशेषज्ञ डाक्टर सञ्जयकुमार यादवले चितवनमा सुरू भएको सेवाले बिरामीलाई यसको उपचारका लागि विदेशिनु पर्ने बाध्यता हटेको बताए। उनले अंग प्रत्यारोपणसम्बन्धी कानुनको जटिलताका कारण धेरैले प्रत्यारोपण गर्न नसकेको बताए।‘हामी चितवनमा महिनामा ४ जनासम्मको कलेजो प्रत्यारोपण गर्न सक्छौं,’ उनले भने, ‘तर कानुनी जटिलता र दान गर्ने व्यक्ति सहजै नपाउने गरेका कारण धेरै काम हुन सकेको छैन।’

अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले कलेजो दुषित पानी र खानाका कारण बिग्रने बताए। साथै हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण पनि कलेजोमा समस्या आउँछ। नेपालमा ६० प्रतिशत कलेजोको समस्या मदिरा सेवन र हेपाटाइटिस ‘बी’ र ‘सी’ कै कारण देखिएको डाक्टर लम्सालले बताए। साथै मधुमेहका कारण कलेजोमा बोसो जमेर पनि समस्या आउने उनले बताए।कलेजो ५० देखि ६० प्रतिशत बिग्रिएपछि मात्र यसको लक्षण देखिन्छ। त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल पर्ने उनले बताए।‘त्यसैले कम्तीमा पनि वर्षमा एक पटक कलेजोको अवस्था के छ भनेर जाँच गराउन हामी आग्रह गर्छौं’, डाक्टर लम्सालले भने।(सेतो पाटी बाट)


Last Updated on: July 15th, 2021 at 2:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया