मंगलबार ०८ आषाढ २०७८

****झण्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष पुग्न नपाउँदै पार्टीको आन्तरिक विवादका कारण एकाएक संसद् विघटन गरे । संसद् विघटन गरेसँगै २० वर्ष शासन गर्ने भन्दै प्रतिपक्षी वा विरोधीलाई देख्न नसहने कम्युनिस्ट चरित्रको अहिले अन्त्य भएको अवस्थामा छ । झण्डै दुई तिहाइको सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न किन सकेन ? भन्ने विषयमा धेरै कोणबाट बहस र छलफल गर्न सकिन्छ । तर म यो लेखमा नेकपाले सरकार चलाउन नसकेर विघटनतर्फ अघि बढ्नुको कारण र परिणामभन्दा पनि त्यो घटनाले प्रमुख प्रतिपक्षी नेपाली ****काँग्रेसको आन्तरिक राजनीतिक दाउपेचमा केन्द्रित भएको छु ।केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरेर नेकपालाई दुई टुक्रा बनाएका छन् । त्यो घटना गलत हो । अर्थात असंवैधानिक हो भन्ने विषय काँग्रेसभित्र सबैभन्दा पहिला सार्वजनिक गर्ने व्यक्ति सभापति शेरबहादुर देउवा हुन् । पुस ५ गते १ बजे औपचारिक रूपमा संसद् विघटनको विज्ञप्ति ****राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको थियो । अपरान्ह ३ बजे देउवाले संसद् विघटन गर्ने ओलीको कदम असंवैधानिक हो भनेर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरिसक्नुभएको थियो । ****त्यो बेलासम्म रामचन्द्र पौडेल लगायतका काँग्रेसका नेताहरुको औपचारिक धारणा आएको थिएन । तर संसद् विघटनले एउटा राजनीतिक कोर्स लिन थालेपछि एकाएक पुस ६ गते युवा नेता गगन थापाले पार्टीभित्र सामान्य छलफल पनि नगरी र जानकारी नै नगराई बानेश्वरमा पार्टीको नाममा व्यक्तिगत जुलुस निकालेर संसद् विघटनको विरोध गरे । उक्त जुलुसमा आएका व्यक्तिको अनुहार र हतार हतार चर्का माइक र चिटिक्क बनेको कार्यक्रम स्थलले त्यो कार्यक्रम स्वतस्फुर्त हो कि नियोजित भन्ने विषय अस्पष्ट थियो । ****गगन थापा राम्रो वाक पटुता भएका युवा नेता हुन् । उनले मिडियादेखि सामाजिक सञ्जालसम्म आफ्नो पक्षमा बनाउन सक्ने क्षमता राख्छन् । राजनीतिमा यस्तो क्षमता निकै कम व्यक्तिसँग मात्रै हुन्छ । त्यो क्षमता गगन थापासँग हुनुमा व्यक्तिगत रूपमा एउटा लोकतन्त्रमा विश्वास गर्ने व्यक्तिको नाताले म पनि खुसी छु । तर अधिकांश यस्ता घटना वा पार्टीभित्र र बाहिर देखापर्ने विभिन्न मुद्दाहरुमा केही व्यक्तिहरुको एकाङ्गी अर्थात व्यक्ति केन्द्रित धारणाले कतै पार्टीलाई अनावश्यक असर त गरेको छैन ? भन्ने विषय सोच्नुपर्ने देखिँदैन । ****सायद् उहाँहरुमा आफू बलियो भइयो र नेताहरु कमजोर भए भने चाँडै अवसर पाइन्छ भन्ने मनोविज्ञानले काम गरेको हुन सक्छ । आफ्नै नेताहरुलाई प्रहार गर्ने गतिविधि गगन थापाहरुले पटक पटक देखाएका छन् । पार्टीको आन्तरिक बैठकमा छलफल नगर्ने तर मिडियामार्फत नेताहरुलाई अनावश्यक आरोप लगाउने उनको चरित्र नै हो ।


Last Updated on: January 26th, 2021 at 5:17 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया