शुक्रबार ०४ आषाढ २०७८

सरकारले प्रतिबन्धित् नेकपालाई वार्तामा बोलाउन लागेको समाचार सार्वजनिक भएको भोलिपल्टै मंगलबार खानेपानीमन्त्री मणि थापाले नेत्रविक्रम चन्द्र विप्लवका नेतासँग जेलमै पुगेर भेटेका छन् ।

सरकारद्वारा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । मुलुक विखण्डन नारा बोकेर हिँडेको सिके राउतको समूहलाई वार्तामा ल्याएर राजनीतिक मूलधारमा ल्याउँदै मौजुदा संविधानलाई स्वीकार्न लगाएको सरकारले अब विप्लव समूहलाई पनि वार्तामा ल्याएर समस्या समाधान गर्ने प्रयास गरेको हो ।

वार्ताको प्रयास थाल्ने बताएको सरकारका मन्त्री मणि थापाले मंगलबार नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेटेर कुराकानी गरेका छन् ।

पानी तथा सरसफाइको समस्याबारे गुनासो आएको भन्दै मंगलबार नख्खु जेलको अवलोकन गर्न पुगेका मन्त्री थापाले काभ्रेबाट पक्राउ परी सोही जेलमा बन्दी जीवन बिताइरहेका सुदर्शनलाई भेटर कुराकानी गरेका हुन् । पक्राउ पर्नु अघि उनी विप्लव समूहको मध्यकमाण्ड इञ्चार्ज थिए ।

वार्ता पक्षधरका नेताको रुपमा चिनिएका सुदर्शनलाई भेट्नकै लागि मन्त्री थापा जेल पुगेका बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको वर्तमान सरकारले पूर्वमाओवादीका नेता तथा तत्कालीन जनमुक्ति सेनामा काम गरेका लडाकुहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरेको भनिएका बेला मन्त्री थापा जेल पुगेर सुदर्शनलाई भेटेका छन् ।

सो क्रममा मन्त्री थापाले वार्ता प्रक्रिया अगाडि बढाउनु प¥यो भन्दै गरेको प्रस्तावलाई सुदर्शनले पनि आफू र आफ्नो पार्टी वार्ता विरोधी नभएको जवाफ दिएका छन् ।

जेलमा रहेका कारण वार्ता गर्ने सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताउँदै महासचिव विप्लव पनि वार्ताको पक्षधर नै रहेको नेता सुदर्शनले मन्त्री थापालाई भनेका छन् ।

सुदर्शनको सन्देश बोकेर जेलबाट फर्किएका मन्त्री थापाले यसबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन् ।


Last Updated on: February 2nd, 2021 at 5:28 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया