आइतबार १२ मंसिर २०७८

काठमाडौ । बसमा यात्रा गरेका एक युवक बसेको सिटमै मृत फेला परेका छन् । झापाको केर्खाबाट विराटनगरका लागि हिँडेका एक युवक गाडीभित्रै मृत अवस्थामा फेला परेका हुन् । झापाको कमल गाउँपालिकास्थित केर्खाका २५ वर्षीय राजकुमार थापा गाडीमै आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ । उनलाई बिहान करिब साढे ९ बजे मृत अवस्थामा फेला पारिएको थियो ।

आइतबार बिहान केर्खाबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रालिको बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा गाडीभित्रै मृत अवस्था फेला परेका प्रहरीले जनाएको छ ।

गाडीका सबै यात्रु ओर्लिसकेपछि पछि पनि उनी बसमै बसिरहे । किन बसवाट ओर्लिएनन् भनेर नजिक गएर हेर्दा उनको निधन भइसकेको थियो । उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको बसका कर्मचारी प्रशन्न प्रसाईंले बताए । प्रहरीले झापाको केर्खामा रहेका उनका आफन्तलाई उनकै मोबाइलमा रहेको फोन नम्बरका आधारमा सम्पर्क गरेर बोलाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

उनी मिर्गौलापीडित भएको र विराटनगरस्थित नेसनल किड्नी सेन्टरमा उपचारका लागि आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए । पोष्टमार्टमका लागि उनको शव विराटनगरस्थित कोसी अस्पताल लैजाने तयारी गरिएको डीएसपी राईले बताए ।


Last Updated on: January 10th, 2021 at 4:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया