आइतबार ०७ कार्तिक २०७८

मानिसमा धार्मिक आस्था निकै बलियो हुन्छ । आस्थाकै कारण कैयौं भक्तहरु धर्मगुरुको कुनै पनि आदेश दायाँबायाँ केही नसोची पालना गर्न तयार हुन्छन् । आज अर्थात नोभेम्बर १८ को दिनको इतिहासमा यस्तो कालो इतिहास छ जुन दिन एक धर्मगुरुको आदेशमा ९ सय जनाभन्दा धेरैले आत्महत्या गरेका थिए । ४२ वर्ष पहिले आजकै दिन दक्षिण अफ्रिकाको गुएनाको जोन्सटाउनमा यो डरलाग्दो घटना भएको थियो ।

यी सबै मानिसहरु एक धार्मिक विचारधारा पिपुल्स टेम्पल ग्रुपलाई मान्दथे । यो विचारधाराको स्थापना गर्ने जिम जोनसले पनि अरु अनुयायीसँगै आतमहत्या गरेका थिए । यसलाई आधुनिक इतिहासमा सामूहिक आत्महत्याको सबैभन्दा ठूलो घटना मानिन्छ । जिम जोन्स एक पादरी थिए जसले १९५० को दशकमा पिपुल्स टेम्पलको स्थापना गरेका थिए । उनी सुरुवाती समयमा नस्लभेदको विरुद्ध कुरा गर्थे त्यसैले उनको समूहमा कैयौं अफ्रिकी अमेरिकी सहभागी भए किनकि त्यो समयमा अमेरिकामा काला मानिसहरु आफ्नो अधिकारको लागि बोल्न थालेका थिए ।

जिमले नस्लभेदका साथै नागरिक अधिकारको पक्षमा पनि वकालत गर्थे । उनले कैयौं रंगका बालबालिकाहरुलाई शरण दिएका थिए । उनका एकमात्र छोरा थिए जसको बीचको नाम गान्धी थियो । जिमले आफ्नो विचारधारासँग जोडिएका मानिसहरुलाई यो महसुस गराउन चाहन्थे कि युद्ध, डिप्रेसन र कठिनाइबाट गुज्रिरहेका अमेरिकीहरुको लागि एक आदर्श समाजको स्थापना गर्न सकिन्छ । ६० र ७० को दशकमा अमेरिकामा फैलिएको युगचेतनाको जिमले लाभ लिएका थिए । उनले मानिसहरुमा व्याप्त डर र असुरक्षालाई मध्यनजर गर्दै आफू एक नयाँ समाज बनाउन गइरहेको जहाँ सबै एक समान हुने विश्वास दिलाए ।

जिमकी एक पूर्व अनुयायीका अनुसार उनी आफूलाई गान्धी, बुद्ध र लेनिनको रुप बताउँथे । कसैलाई एक पिताको आवश्यकता हुनथ्यो भने उनी उसँग त्यस्तै व्यवहार गर्थे । उनी आफ्नो विचारधारामा सहभागी हरेक व्यक्तिलाई उसको असुरक्षाको हिसाबले सुनिश्चित गर्थे । जिमको यो विचारधारामा धेरैजसो अफ्रिकी अमेरिकी थिए । यसका अलावा मेक्सिकन, यहूदी र गोराहरु पनि थिए । यी अनुयायीहरुमा कैयौं अनपढ थिए भने केही यस्ता पनि थिए जो धेरै शिक्षित थिए । यी सबै एक आदर्श समाज स्थापनाको लागि परिश्रम गरिरहेका थिए र जिमले उनीहरुलाई जो सपना देखाएका थिए त्यसको लागि लागिपरेका थिए ।

१९७० को दशकमा जिमको समूहमाथि आर्थिक अनियमितताको आरोप लाग्न थाले । उनीमाथि आफ्ना अनुयायीमाथि दुराचारको पनि आरोप लाग्न थाले । आफूविरुद्ध बढिरहेको आलोचनाका कारण उनले आफ्नो समूहलाई गुयाना लिएर गए । उनले आफ्ना अनुयायीसँग गुयानामा एक आदर्श समाजको स्थापना गर्ने बाचा गरे । यद्यपि गुयानाको जोनसटाउनमा जुन आदर्श समाजको आशा जिमका अनुयायीले गरेका थिए उनीहरुले त्यो पाएनन् । टेम्पलका सदस्यहरुले कडा मेहनत गर्नुपर्थ्यो र जिमको प्रशासनमाथि प्रश्न उठाउनेलाई कडा सजाय दिइन्थ्यो । उनीहरुको पासपोर्ट खोसिन्थ्यो ।

अर्कोतर्फ जिम लागूपदार्थको लतमा फसिसकेका थिए र उनको मानसिक हालत निकै खराब भइसकेको थियो । उनलाई अमेरिका सरकारले आफूलाई मार्दैछ भन्ने विश्वास हुन थालेको थियो । १९७८ मा पिपुल्स टेम्पलका पूर्व सदस्यहरुले अमेरिकाका एक नेता लियो रायनलाई मनाएर यस विषयमा जाँच गर्नको लागि आग्रह गरे । १७ नोभेम्बर १९७८ मा लियो जोनसटाउनमा केही पत्रकारलाई साथमा लिएर पुगे । लियो त्यहाँबाट फर्कने क्रममा त्यहाँ भएका कैयौं मानिसहरुले आफूलाई पनि साथमै लैजान आग्रह गरे ।

जिम यो घटनाबाट चिन्तित भए र उनले आफ्ना अनुयायीहरुलाई लियो लायनलाई मार्न भने । आदेशको पालना गर्दै जिमका अनुयायीहरुले लियो रायन र उनका ४ साथीहरुलाई मारिदिए । भोलिपल्ट जोनसटाउनमा जिमले सबैलाई मुख्य पभेलियनमा बोलाएर अब एक क्रान्तिकारी कदम उठाउनुपर्ने बताए । सबैभन्दा पहिले त्यहाँका कम उमेरका बालबालिकालाई साइनाइड दिएर मारियो । त्यसपछि युवाहरुलाई साइनाइड दिइयो । जो यसरी आत्महत्या गर्न चाहँदैनथे उनीहरुलाई बन्दूकको बलमा यस्तो गर्न बाध्य पारियो । यसरी हेर्दाहेर्दै ९ सयभन्दा धेरैले सामूहिक आत्महत्या गरे । यीमध्ये एक तिहाइ बालबालिका थिए ।


Last Updated on: February 7th, 2021 at 9:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१०७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया