शुक्रबार ०४ आषाढ २०७८

यौन सम्बन्ध राख्न चाहने जोडीको लागि सम्बन्धका लागि आफू राजी भएको भनी सहमति दिनको लागि मोबाइल एप लञ्च गरिएको छ । यो एपमार्फत कसैले पनि एक पटक दिएको सहमति वैधानिक हुनेछ । २४ घण्टा बितिसकेपछि भने यो सहमति अवैधानिक मानिनेछ । यसरी दिइएको सहमति एक पटकको यौन सम्बन्धको लागि मात्रै हुनेछ । यस्तो अनौठो एक डेनमार्कमा लञ्च गरिएको हो । यसरी सहमति दिने यौनसाथीले कुनै पनि समयमा सहमति फिर्ता लिन भने सक्नेछ ।

डेलीमेलको रिपोर्टअनुसार केही समय पहिले डेनमार्कमा बलात्कार सम्बन्धी नयाँ कानुन लागू गरिएको छ । यो नयाँ कानुन लागू भएसँगै यो नयाँ एप लञ्च गरिएको हो । आइकन्सेन्ट नाम दिइएको यो एपका विकासकर्ताका अनुसार यो एपमार्फत यौनको सहमति लिने वा दिने प्रयोगकर्ताको डाटा सुरक्षित राखिनेछ । यदि कुनै पनि आपराधिक मामिलामा यो डाटाको आवश्यक परेमा अनुसन्धानको लागि उपलब्ध गराइनेछ । विकासकर्ताले यो डाटाको प्रयोग अदालतमा मात्र गरिने बताए पनि विशेषज्ञहरुले अदालतबाहिर पनि यसको प्रयोग हुन सक्ने आशंका जनाएका छन् ।

डिसेम्बरमा डेनमार्कको संसदले बलात्कारविरुद्ध नयाँ कानुन पारित गरेको थियो । जनवरीदेखि यो कानुन लागू गरिएको छ । यो नयाँ कानुन अनुसार ‘स्पष्ट सहमति’ बिना कुनै पनि यौन सम्बन्धलाई बलात्कार मानिने व्यवस्था छ । यसअघिको कानुनमा भने बलात्कार प्रमाणित गर्नको लागि महिलामाथि हिंसा भएको र महिला बलात्कारको विरोध गर्न सक्षम नभएको पनि प्रमाणित गर्नुपर्ने बाध्यता थियो ।

आइकन्सेन्ट एपका विकासकर्ताका अनुसार यो एपले जोडीको आपसी सहमतिलाई दस्तावेजको रुपमा रेकर्ड राख्न सहयोग गर्नेछ । यो एपको माध्यमबाट कसैले पनि यौन सम्बन्धको सहमति दिन सक्छन् र सहमति माग्न अर्थात अनुरोध पनि गर्न सक्छन् । एक विकासकर्ताका अनुसार एपमा सहमति दिएर मात्र पुग्दैन, यौन सम्बन्धको ठिक अगाडि, सम्बन्धको क्रममा र ठिक पछि पनि सहमति दिनुपर्नेछ ।


Last Updated on: February 8th, 2021 at 3:43 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया