मंगलबार ०८ आषाढ २०७८

काठमाडौं। आज पुसा २७ गते। आधुनिक नेपालको निर्माण गर्ने बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म दिन तथा राष्ट्रिय एकता दिवस। देशभर पृथ्वीनारायणको योगदानको सम्झना गरी मनाइँदैछ।

नेपालमा २०६२/६३ को जनआन्दोलनपछि राष्ट्रिय एकता दिवसको दिनमा दिइँदै आइएको सार्वजनिक विदा कटौटी गरियो। राष्ट्रिय एकता दिवस पनि मनाउन छोडियो। २०७१ सालमा नेपाल सरकारकै तर्फबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रिय एकता दिवस मनाउँन पुनः सुरु गरियो। त्यसयता सरकारले औपचारिक रुपमै पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवश मनाउँदै आएको छ।

२००७ सालको प्रजातन्त्रपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गरेका थिए। २००९ सालदेखि योगी नरहरिनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको रूपमा मनाउन प्रारम्भ गरेका हुन।

को हुन पृथ्वीनारायण शाह ?

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म वि.सं.१७७९ पुष २७ गते भएको थियो। उनी स–साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकीकरण गरइ एउटै देशको सृजना गरी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्।

पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भूभाग नेपालको अधिनमा थियो।

राष्ट्रनिर्माता शाह सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती रहेको इतिहासमा पाइन्छ।

सानै उमेरदेखि उनलाई रामायण, महाभारत र शुक्रनीतिको ज्ञान तथा धनुवाण, तरबार, घोडसवारी दौडमा निपूर्ण पारिएको थियो। शाहको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो।

तर, पछि हेमकर्ण सेनले असमर्थता जनाए। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भयो। गोरखा र मकवानपुर आउजाउ गर्दा काठमाडौं उपत्यकाको भू–बनोट र आर्थिक अवस्थालाई पृथ्वीनारायण शाहले उनले राम्रोसँग नियाले।

वि.स १७९८ मा काठमाडौं आएका शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए । मल्लले राजकुमार वीरनरसिंह मल्लसँग उनको मितेरी लगाई दरबारमा स–सम्मान लामो अवधिसम्म राखे। पछि काठमाडौंका राजा जयप्रकाश मल्लले पनि उनीसँग मितेरी लगाएका थिए।

वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यु भएपछि उनी २० वर्षको उमेरमा गोरखाका राजा भए। वि.स. १७९८ मा काठमाडौं उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका शाहको काठमाडौं उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसँग दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाको काठ कास्कीलाई दिने भनि वि.स. १७९९ मा एक सन्धि गरे। एकीकरणको यात्रा उनले वि.सं. १८०० मा विराज थापा मगर र महेश्वर पन्तको नेतृत्वमा नुवाकोट आक्रमण गराए।

तर, गोर्खालीहरूले पराजयको सामना गर्नु पर्यो। युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरू संकलनार्थ पृथ्वीनारायण शाह वनारस पुगे। पिता नरभूपालले पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा गोत्र परिवर्तन गरे। दोस्रो पटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथी हमला गरे।

गोरखाबाट पृथ्वीनारायण शाह, दलदर्मन शाह, चौतारा विष्णु शाह, काजी शुरप्रताप शाह आदिले नुवाकोटलाई घेरा हाली एकैपटक आक्रमण गरे। दलदर्मन शाहको हातबाट शखमणी राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरे। लगतै बेलकोटमा पनि आक्रमण गरे र विजयी भए। नुवाकोट र वेलकोटको विजयपछि पृथ्वीनारायण शाहको सेनाले लामीडाँडामा कब्जा गरे।

तर, तनहुँका राजाले पनि लामीडाँडा कब्जा गर्ने इच्छा रहेकाले तनहुँ र गोरखालीहरूबीच भिडन्तको सम्भावना बढ्यो। तर पृथ्वीनारायण शाहले गुरु गौरेश्वर पन्तलाई पठाई तनहुँको राजा त्रिविक्रम सेनसँग सन्धि गरे। वार्ता चलिरहेका अवस्थामा लुकेर बसेमा गोर्खाली सैनिकहरूले सेनलाई वन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरे।

यस प्रकारको कामबाट लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुने सम्भावना भएकाले वि.स. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरे। वि.स. १८१२ मा गोर्खाली सैनिकले लमजुङ र तनहुँका संयुक्त फौजसँग युद्ध गर्न परेको थियो। यस युद्धमा गोर्खाले ठूलो जनधनको क्षति वेहोर्न पर्यो। तर पनि नालदुम, दहचोक, महादेव पोखरी, सिरानचोकको साथै कुलेखानि, इपा, माल्टा आदिमा कब्जा भएकाले गोरखाको सिमाना मकवानपुर सम्म पुग्यो। वि.स. १८१४ मा पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गरे।

यसमा गोरखाको तर्फ १२०० सैनिक थिए। तर कीर्तिपुरले काठमाडौं, ललितपुर र भक्तपुरका सैनिक समेत सहयोग मागेकाले कीर्तिपुरतर्फ ३०० जति सैनिक थिए। कीर्तिपुरको पहिलो युद्धमा काजी कालु पाण्डेले विरगति प्राप्त गरे। उनको ठाउँमा छोरा वंशराज पाण्डेलाई र सेनापति पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिए।

वि.स. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरे। वि.स. १८१९ को भाद्र महिनामा बंशराजपाडे र केहरसिंहले संगठन गरेको सैनिक साथै महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरुका साथ पठाएको ठूलो संख्यामा मकवानपुरमा आक्रमण गरे। दिग्वन्ध्न सेनले आत्मासम्पर्ण गरेपछि पृथ्वीनारायण शाहले विजय प्राप्त गरे।

वि.स १८२१ को भाद्र महिनामा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा कीर्तिपुर माथि दोश्रोे आक्रमण भयो। यस युद्धमा पनि कीर्तिपुरलाई पहिले जस्तै उपत्यकाबाट सैनिक सहयोग प्राप्त नभए पनि कीर्तिपुरका जनताले गोर्खाली सैनिकलाई गोपुर किल्ला तोडी कीर्तिपुरमा प्रवेश गर्ने मौका दिएनन्। यस युद्धमा कीर्तिपुरद्वारा निशाना लगाइएको तिरबाट शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केही फौज फर्कन वाध्य भए।

कीर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिए। उनले चारैतिरबाट गोपुर किल्लालाई घेरी खेतालाका रुपमा केहि सैनिक कीर्तिपुर पठाए। त्यसबखत कीर्तिपुरमा धान भित्राउने समय परेकाले वंशराज कीर्तिपुरेहरुलाई आत्मसम्पर्ण गर्न भने। यो युद्धमा कीर्तिपुरलाई छिमेकी राज्यहरुबाट सैनिक सहयोग भएको थिएन।

वि.स. १८२२ चैत्र ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरेपछि पृथ्वीनाराण शाहले विजयी प्राप्त गरे। कीर्तिपुर गोर्खाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसंग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए।

तर ललितपुर र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अंग्रेजहरूसँग सैनिक तथा हातहतियारको सहयोग मागे। राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुदै काठमाडौंतिर बढ्यो।

यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ बिरभद्र पाँडे र वीरभद्र उपाध्याय र वंशु गुरुङको समुह ढुंगेवासमाथि आइपुग्दा वंशु गुरुङले प्रत्यासित रुपमा चढाई गरे भने अघि बढीसकेको फौजमाथि वंशराज र वीरभद्र उपाध्यायको फौजले पौवागढीमा आक्रमण गरेकाले सारा अंग्रेज फौज आफूसँग रहेको हातहतियार र बन्दुकहरू छाडी आफ्नो प्राण बचाउन जंगलतर्फ भागाभाग गरे।

यस्तो स्थिति बुझेर पृथ्वीनारायण शाहले वि.स. १८२५ आश्विन १३ मा इन्द्र जात्राको समय पारि नरदेवी, टुडिखेल र भिमसेनस्थान गरी ३ तर्फबाट आक्रमण गरी कान्तिपुर माथि विजय गरे। राजा जयप्रकाश मल्ल भागेर ललितपुरका राजा तेजनरसिह मल्लकोमा शरण लिए। वि.स १८२५ आश्विन २५ गते पृथ्वीनारायण शाहले धनवन्त र केहरसिंहलाई ललितपुर पठाई आत्मसम्पर्ण गराउन पठाए।

पाटनका राजाले विना कुनै युद्ध भागे। काठमाडौंका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगे। राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अंग्रेजसँग समेत सीक सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिहं थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाए।

वि.स. १८२६ मंसिर १ गते रणजित मल्लले आत्मासम्पर्ण गरे। उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भयो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगति प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरु पनि शत्रुको कब्जामा परे ।

रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौं पुगे। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरुको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए।

यो पराजयले गोर्कालीहरुको महत्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरुमा गोर्खा विरुद्ध कडा प्रस्तुत भएमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो। पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे।

नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल (अङ्ग्रेज एङ्गलो(नेपाल युद्ध (१८१४–१६) पछि भयो। वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।


Last Updated on: January 11th, 2021 at 7:33 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया