मंगलबार १९ साउन २०७८

बिरामीले रगत बान्ता गर्ने र केही घण्टामै मर्ने रहस्यमय रोगबाट १५ जना बिरामीको मृत्यु भएको छ । यो रोगबाट अन्य ५० जना बिरामी गम्भीर अवस्थामा अस्पताल भर्ना भएका छन् । पूर्वी अफ्रिकी देश तान्जानियामा देखिएको यो रोग के हो भन्ने अझैसम्म थाहा हुन नसकेको अधिकारीहरुलाई उद्धृत गर्दै द सनले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यो रोगबाट पीडित केही व्यक्तिहरुको लक्षण देखिएको केही घण्टामै मृत्यु भएको छ । मृत्यु हुनेहरु अधिकांश पुरुष छन् ।

देशको दक्षिणमा रहेको एम्बेया क्षेत्रको चुन्या जिल्लाकी प्रमुख स्वास्थ्य अधिकारी फेलिस्ता किसान्डुका अनुसार समस्या देखिएको क्षेत्रमा विशेषज्ञको टोली परिचालन गरिएको छ र महामारीको कारण पत्ता लगाउने प्रयास भइरहेको छ । ‘यो समस्या ठूलो क्षेत्रमा भने फैलिइसकेको छैन’ उनले भनिन् ‘यो इफुम्बोको एउटा प्रशासकीय वार्डमा मात्र देखिएको छ जहाँ मानिसहरु रगत बान्ता गर्छन् र अस्पताल पुर्याउन केही घण्टा ढिलो भएमा मर्छन् ।’

किसान्डुले अहिलेसम्म यो समस्याको कारण थाहा हुन नसकेको बताइन् । तान्जानियाको स्वास्थ्य मन्त्रालयले भने यो महामारी भएको अस्वीकार गरेको छ । किसान्डुका अनुसार सम्भावित पारो प्रदूषणबारे पत्ता लगाउन बिरामीको रगतको नमूना र स्थानीय पानीको नमूना लिएर जाँच भइरहेको छ । ‘प्रारम्भिक जाँचमा बिरामीहरु, धेरैजसो पुरुषहरु पेटको अल्सर र कलेजोको रोगबाट ग्रसित भएको पाइएको छ’ उनले भनिन् ‘हामीले उनीहरुलाई अवैध पेय पदार्थ र अन्य हार्ड ड्रिंक्स नपिउन र धुम्रपान नगर्न सल्लाह दिएका छौं ।’

अर्कोतर्फ शनिबार डा. किसान्डुको बयान आएपछि देशका स्वास्थ्य मन्त्री डोरोथी ग्वाजिकाले डा. किसान्डुलाई पदबाट निलम्बन गर्न आदेश दिएकी छिन् । स्वास्थ्य मन्त्री ग्वाजिकाले डा. किसान्डुको बयानले स्थानीयहरुमा अनावश्यक त्रास सृजना गरेको बताएकी छिन् । उनले भनेकी छिन् ‘स्थानीयमा अनावश्यक त्रास सृजना गरेकोमा म डा. फेलिस्ता किसान्डुका रोजगारदातालाई उनलाई पदबाट निलम्बन गर्न आदेश दिन्छु ताकि मेडिकल काउन्सिलले यस विषयमा जाँच गर्न र १० दिनभित्र मलाई रिपोर्ट पेश गर्न बाटो खुला होस् ।’

सरकारी अधिकारीहरुले देशमा यस्तै समस्या २०१८ मा पनि देखिएको र त्यतिबेला बिरामीहरुलाई उच्च ज्वरो, वाकवाकी लाग्ने र रगत बान्ता हुने समस्या देखिएको बताएका छन् । स्वास्थ्य मन्त्रीले जनतालाई धेर्य गर्न आग्रह गर्दै छिटै थप जानकारी दिने बाचा गरेकी छिन् । देशका राष्ट्रपति जोन मागुफुलीले देशमा प्रार्थनाको शक्तिका कारण कोभिड रोकिएको दावी गरेलगत्तै यो समस्या देखिएको हो । उनले सरकारले कोभिडको डाटा सार्वजनिक गर्न बन्द गरेको ६ हप्तापछि ९ जनवरीमा यस्तो दावी गरेका थिए ।


Last Updated on: February 9th, 2021 at 11:42 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया