सोमबार ३१ जेठ २०७८

षय र सन्दर्भ अनेकौ हुन सक्छन्। म एउटा केटा मान्छे हो। अझ समाजले स्थापित गरिदिएको मर्दपन मभित्र पनि छ।

लजालु हुनु,आँसु निकालेरै धरधरि रुनु सबै केटी मान्छेका गुणहरू भन्नु विरोधाभास हुन जान्छ। किनकी भावनात्मक हुन केटाहरूले पनि पाउनुपर्छ वा यी परिचयमा बाँच्न पाउँदा जीवन धेरै सहज हुन्छ।

अब आफ्नो वृत्तान्त सुनाउनतर्फ लाग्छु म। म पेशाले एउटा चिकित्सक र दिदी पनि पेशाले चिकित्सक। यो पेशा जति बौद्धिक भनिन्छ, त्यति नै परिश्रम लाग्ने पनि छ। हामी दुवै जना घरमा कामका हिस्साहरू आधा आधा भाग लगाएर गर्छौं।

एका बिहानै उठेर यसो भान्सातिर लाग्दा,आइज खाना खान भनेर बोलाइदिने कोही हुँदैन। आफैं खाना पकाएर खाँदासम्म अस्पताल जानको हतार हुन्छ हामी दुवैलाई।

जसोतसो हतार/हतार खाना खाएर बेलुका आएर भाँडा माझ्ने सर्तमा हामी दुवै अस्पतालतिर लाग्छौं। अनि सुरू हुन्छ कान्तिपुर यातायातको सास्ती।

आफैंमा बिरामी देखिने कान्तिपुर यातायात,अलि अलि बिरामी भएका यात्रुलाई कोच्नुसम्म कोचेर चक्रपथ परिक्रमा गर्दै टिचिङ, कान्तिको यात्रा गर्छ। कान्तिपुर यातायातसँगको नाता यति बलियो छ कि, विद्यार्थी हुँदा सहचालकले चिनेर नै परिचय पत्र नहेरी छुट दिन्थे।

कहिले कहिले त नामैले बोलाउँथे। तर अति नै कोचाकोचको सास्तीपूर्ण आवतजावतले जोडेको कान्तिपुर यातायातसँगको नातालाई खै म कसरी व्याख्या गरूँ?हो यति नै बेला मलाई भूपि शेरचनको कविता याद आउँछ, “मरेर शहीद हुनेहरू जिएर त हेर जिउन झन् गाह्रो छ।”

बेलुका घर फर्कियो अनि यसो फेसबुकका भित्ताहरूमा नजर डुलायो। समुद्रका किनारमा फोटो खिचाउनेहरूको लर्को हुन्छ। हाँस्न मन नलागी नलागी देशबाट पलायन हुनेहरूका नाममा एउटा हलुका हाँसो हाँस्दै लागिन्छ भान्सातिर।

तरकारी पकाउन लाग्दा तेल बसाल्दा बसाल्दै दिउँसोका बिरामीका चर्तिकलाहरू विस्तारमा चर्चा हुन्छ। कुन बिरामीले के गर्यो?के गर्न हुन्थेन?यस्ता गफ गर्दागर्दै खाना पकाएर पनि खाइसकिन्छ। त्यसपछि भाँडा माझ्ने कालखण्डमा हामी प्रवेश गर्छौं। यो अति नै कठिनाइपूर्ण कालखण्ड रहन्छ तर यसलाई मैले सहजता पूर्वक स्वीकार्छु।

सानो हुँदा मलाई याद छ,घरमा झूठा भाँडा दिदीहरूले माझ्ने गर्नु हुन्थ्यो। मामाघर जाँदा खाएपछि भाँडा उठाउन पनि दिनुहुन्नथ्यो। यस्तो पृष्ठभूमिमा हरेक केटा मान्छेहरू हुर्किएका हुन्छन्। तर जब पढाइको सिलसिलामा काठमाडौंमा थुप्रिन्छन् तब घरको धन्दा गर्न सिक्छन्।

लेखक
केटा मान्छेले दैलो लिप्नु हुँदैन,चामल निफन्न हुँदैन,ढिकी जाँतो गर्नु हुँदैन। यी यावत समाजका कपोकल्पित चालचलनहरूले पुरुषलाई परिपक्व होइन महिलामाथि शोषण गर्न सिकाएको छ।

चिकित्सक हुनुको सम्बन्ध भाँडा माझ्नु वा नमाझ्नुसँग मेल नखाला तर कसैले आफू खाएको थाल अरु कसैलाई माझ्न लगाउँछ भने त्यो पनि सम्भावित शोषणभित्र पर्छ।

प्रगतिशील भनिएकाहरू समेत घरमा नै हुँदा समेत भाँडा मस्काउन हिच्किचाउँछन्। नितान्त कर्म विभाजन लिंगका आधारमा हुने भेदभावमा आश्रित हुनु विडम्बना हो।

चिकित्सक समाजको प्रतिष्ठित पेशा होला तर ऊ बाँच्नका निम्ति उसले खाने हरेक गाँसको मूल्य रहन्छ। आफ्नो गाँसको मूल्यका निम्ति जाबो भाँडा माझ्न पछाडि हट्नु पर्ने कारणै छैन र आजकालका केटीहरूको छनोट बाइकमा पछाडि राखेर गोदावरी घुमाउनेभन्दा आफूलाई साह्रो गाह्रो पर्दा खाना पकाएर खुवाउने अनि भाँडा माझ्न पनि सहयोग गरिदिने केटाको खोजीमा हुनुपर्छ।

नत्र अबका कृत्रिम पुस्ताहरूमा प्लास्टिकका प्लेटमा खाएर असहज परिस्थिति युक्त देखावटी मायामा बाँच्ने दिन नआउला भन्न सकिन्न।

कर्म सत्य रहे जहाँ पनि सुन्दर प्रकाशन हुन सक्छ। कर्मद्वारा नै मानव प्रेरणा जागृत गराउन सकिन्छ। कर्ममार्फत् मानिसले वस्तुगत रचनाको अध्ययनद्वारा दिव्य चैतन्य, दिव्य सौन्दर्य र दिव्य ज्ञानद्वारा समाजमा स्पष्ट संकेतहरू व्यक्त गर्न सक्नु पर्छ।

चाहे त्यो ठूलो होस् वा सानो, कर्ममा मन पूर्ण रूपमा समर्पित हुनुपर्छ। आत्मप्रकाशन स्वरूप हामीले गर्ने कर्महरु इन्द्रियग्राह्य भएर धर्तीमा ओर्लिनुपर्छ र व्यवहारिक अन्वेषण प्राप्त गर्न सक्नुपर्छ।

आज भोलि समाजमा भाँडा माझ्नुलाई तल्लो दर्जाको कर्मका रूपमा व्याख्या गरिन्छ जुन उपयुक्त छैन। घरमा छोरा भएकै कारणले,ससुरालीमा ज्वाइँ भएकै कारणले, मामाघरमा भाञ्जा भएकै कारणले खाएकै थालमा चुठेर उठ्ने बानीको अन्त्य हुनु पर्छ।

केटाहरूले छुट पाउने परम्परा खारेज हुनुपर्छ। महिला र पुरुषबीचको श्रम विभाजनसँगै मातृसत्ताबाट पितृसत्तामा संक्रमण हुँदै गएको वर्ग संघर्षले समाज र देशलाई समेत असर पुर्याउँदछ।

समाजवादको विज्ञान सामाजिक सम्बन्ध र चालचलनले जन्माउँछन्।

यसलाई तुरुन्तातुरुन्तै बदल्न पनि सकिन्न तर निर्मूल पार्ने ध्येयका साथ अघि बढेमा सामाजिक अराजकताहरू भविष्यमा बिलाएर जानेछन्।


Last Updated on: February 12th, 2021 at 12:57 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया