शनिबार ३० आश्विन २०७८

संका गर्नु । कसैको बानी, व्यवहार, बोली, काम, प्रवृत्ति, चालढाल हेरेर त्यसमाथि आफ्नो धारणा बनाउनु ।

संका गर्नु अर्थात एक हिसाबले अनुमान गर्नु ।

अड्कल गर्नु । त्यसैले संका सधै सही हुन्छ भन्ने हुँदैन ।

नेपालीमा उखान छ, ‘संकाले लंका जलाउँछ ।’

संका गर्नु आफैमा दुर्गुण होइन । संकाले नै हरेक कुराको तथ्य खोज्छ ।

जहाँ संका हुन्छ, त्यही विज्ञान जन्मन्छ भन्ने भनाई पनि छ । कुनै कुरा देखेर, सुनेर, अनुभूत गरेर मनमा संका पैदा हुन्छ ।

यो एक मानविय स्वभाव हो । यद्यपी संका लागेपछि त्यसको निवारण गर्नुपर्छ । आफ्नो संका सही छ वा गलत ? परीक्षण गर्नुपर्छ ।

यसको सरल र छोटो विधी भनेकै प्रश्न हो।

यद्यपी हामी प्रश्न गर्दैनौं । जबसम्म प्रश्न गरिदैन, हाम्रा इन्दि्रयहरु भ्रमित रहन्छन् ।

हामीले देखेका, सुनेका कुरा सत्य हो भन्ने हुँदैन । त्यसैले संका लागेपछि प्रश्न गर्नुपर्छ । प्रश्नले नै सत्यको खोजी गर्छ ।

संकाले कसरी जलउँछ

हामी प्राय संका गरिरहेका हुन्छौं । आफुभन्दा कनिष्ठ कर्मचारीले नमस्कार गर्दैन, हामी उनीमाथि संका गर्न थाल्छौं ।

किन उसले मलाई आज सम्मान गरेन ? किन अपमान गर्‍यो ? के उनमा दम्भ बढेको हो ? के कसैले उनलाई मेरो विरुद्धमा कुरा लगायो ?

यस्तै मनगढन्ते धारणा बनाउन थाल्छौं । तर सोध्दैनौं, आज तिमीलाई मसँग चित्त बुझेको छैन ? संकै संकामा उनीहरुको सम्बन्ध चिसिन्छ ।

आफ्ना छिमेक ठूलठूलो स्वरमा कराउँछ । हामी सशंकित हुन्छौं, कतै मलाई पो गाली गरिरहेका हुन् कि ?

मैले उनीसँग यस्तो व्यवहार गरेको थिएँ, यस्तो वचन बोलेको थिएँ । त्यही कारण आज उनी बिच्किएर मलाई गाली गरेका हुन् कि ?

अर्को दिन तिनै छिमेकीसँग भेट्दा हामी हार्दिकतापूर्वक बोल्दैनौं। हामी ठान्छौं, हिजो यसले मलाई नै गाली गरेको होला । संकै संकामा उनीहरुवीच बोलचाल बन्द हुन्छ ।

श्रीमान् हाँस्दै र रमाउँदै फोनमा कसैसँग कुराकानी गरिरहेको देखेर श्रीमतीको मनमा संका उब्जन्छ ।

कुनै अर्की महिलासँग उनी छिल्लिएका हुन् कि ? मलाई छलेर उनी अर्कैसँग लागेका छन् कि ?

श्रीमान् फोनवार्ता सकेर र्फकन्छन् । श्रीमती ठुस्किएकी हुन्छिन्। किन ठुस्किए ? श्रीमान्ले भेउ पाउँदैनन् । अब उनी पनि श्रीमती ठुस्किएको कुरामा अनेक अड्कलबाजी गर्न थाल्छन् । संकै संकामा उनीहरुबीच झगडा सुरु हुन्छ ।

कुनैपनि कुरामा संका लाग्न सक्छ । तर, संकालाई मनमै गुम्साएर बस्दा त्यसले गलत नतिजा दिन्छ ।

संका लागेपछि प्रश्न गर्नुपर्छ । हरेक संकामाथि प्रश्न हुन्छ । र, हरेक प्रश्नले नै सही एवं सत्यको खोज गर्छ ।

प्रश्न गरौं

संसारमा आज जे, जति उपब्धी भएका छन्, ति सबैमा प्रश्न गरिएर नै हो । सर आइज्याक न्युटनको मनमा प्रश्न उठ्यो, स्याउ किन भूँइमा खस्यो ?

पाकेर आफै खसेको स्याउ आकासतर्फ जानसक्थ्यो । दायाँबायाँ जान सक्थ्यो । जतापनि खाली ठाउँ थियो ।

भूँईमै किन खस्यो ? उनको मनमा उब्जिएको यही प्रश्नले पृथ्वीमा गुरुत्वबल रहेको रहस्य उद्घाटन भयो ।

महाभारतको युद्धमा आफ्नो रथ हाँकिरहेका कृष्णसँग अर्जुनले प्रश्न गरे । उनको हरेक प्रश्नको कृष्णले सिलसिलाबद्ध उत्तर दिए ।

त्यही उत्तर आज श्रीमदभागवत गीताको रुपमा आएको छ । यदि अर्जुनले जीवन र जगतमाथि उठेका प्रश्नहरु मनभित्रै गुम्साएक भए आज यति शक्तिशाली र सर्वकालिन ग्रन्थको जन्म हुने नै थिएन ।

राज घरानामा जन्मी हुर्केका सिद्धार्थ गौतममा सांसरीक दुःखमाथि प्रश्न नउब्जिएको भए उनी बुद्ध बन्ने नै थिएनन् ।

प्रश्न समाधान मात्र होइन, सृजना पनि हो । संभावना पनि हो। यद्यपी हामी प्रश्न गर्दैनौं । हरेक कुरामा मनगढन्ते विचार बनाएर बस्छौं ।

देखेको र सुनेको भरमा आफ्नो धारणा बनाउँछौं । सामुन्नेमा उभिएर प्रश्न गर्न नसक्ने हामी भित्रभित्रै भने मुर्मुरिएर बस्छौं ।

जहाँ संका उठ्छ, त्यहाँ प्रश्न गरौं । मनको कुरा मनभित्रै गुम्साएर नबसौं । यो मनोविकार हो । यसले अन्ततः हामीलाई नै दुषित बनाइदिन्छ


Last Updated on: February 12th, 2021 at 10:19 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया