आइतबार १७ साउन २०७८

कोरोना संक्रमणको महामारीले विश्वभर उथल पुथल मच्चाइरहेको छ । यो रोगबाट कम उमेरदेखि लिएर बृद्ध उमेरसम्मका थुप्रै मानिसहरुको ज्यान लिईसकेको छ । विज्ञहरुका अनुसार दीर्घ रोग भएका र बढी उमेर पुगेका बृद्ध बृद्धाहरु कोरोना संक्रमणको अधिक जोखिममा छन ।

विज्ञहरुको यो तर्कलाई चुनौती दिंदै युरोपकी सबैभन्दा जेठी महिलाले कोरोलाई जित्न सफल भएकी छिन । फ्रान्सकी ११७ बर्षीया सिस्टर आन्द्रे कोरोना संक्रमणबाट विरामी भएर उपचारपछि निको भएकी हुन । उनले बिहीबार आफ्नो ११७औं जन्म दिन पनि मनाइन ।


सन १९०४ मा फ्रान्समा जन्मिएकी सिस्टर आन्द्रे टूलान शहरस्थित एक ज्येष्ठ नागरिक आश्रममा बस्दै आएकी छिन । उनी गत महिना कोरोना संक्रमित भएकी थिइन । उनमा कुनै लक्षण देखिएको थिएन । आँखा देख्न नसक्ने आन्द्रे ह्विल चियरको सहयोगमा आफ्नो काम गर्न सक्थिन ।


आफ्नो उमेर र जवानीका बेला सिस्टर आन्द्रेले शिक्षिकाको पनि काम गरिसकेकी छिन । सन १९४० मा उनले एक कन्भेन्ट स्कुलमा पढाउने काम गरेकी थिइन । त्यसको केही समयपछि देखि सन १९७९ सम्म उनले नर्सिङ होममा पनि सेवा गरेकी थिइन । सन २००९ देखि उनी बृद्धा आश्रममा बस्दै आएकी थिइन ।

टुलान होम भनिने बृद्धा आश्रममा ८८ जना बृद्ध बृद्धाहरु बस्थे । जसमध्ये ८१ जना कोरोना संक्रमित भएका थिए । १० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको थियो ।

आफ्नो जन्मोत्सव मनाउने दिन भन्दा एक दिन अघि अर्थात गत बुधबार सिस्टर आन्द्रे कोरोनामुक्त भएकी हुन ।

उनलाई कोरोना संक्रमण भएपछि अलग्गै राखेर उपचार शुरु गरिएको थियो । आफुलाई त्यसरी अरुभन्दा छुट्टै राखेको भन्दै उनले अझै पनि गुनासो गर्ने गर्छिन ।

आफ्ना सुख दुखका दिनहरु सम्झंदै आन्द्रे भन्छिन, “मलाई मृत्युसंग डर लाग्दैन । म निश्चिन्त छु ।”

सन १९०४ फेब्रुअरी ११ मा जन्मिएकी सिस्टर आन्द्रे युरोपको सबैभन्दा जेठी नागरिक भएको बिबिसीले जनाएको छ ।


Last Updated on: February 13th, 2021 at 1:50 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया