आइतबार ३० जेठ २०७८

रुसको टुंड्रालाई संसारकै खतरनाक युद्धभूमि मानिन्छ। १९४२ को चिसो मौसममा स्टालिनग्राडमा रुसी सेनाको हातबाट हिटलरसेनाले हार व्यहोरेपछि दोस्रो विश्वयुद्धको दिशा नै बदलिदिएको थियो।

सन् १९४८ मा हिँउले ढाकिएको स्कर्दू र गिलगितमा पाकिस्तानी कबाइलियाहरुको विरोधमा मेजर जनरल थिम्याय्याको १९ इन्फ्रिन्ट्री डिभिजनले गरेको सैन्य कारबाहीलाई पनि खतरनाक युद्धको उदाहरणका रुपमा चर्चा गरिन्छ।

तर यी सबै युद्ध सियाचिनमा पछिल्लो ३६ वर्षदेखि चलिरहेको भारत र पाकिस्तानबीचको संघर्षका अगाडि फिका लाग्छन्। यो त्यस्तो क्षेत्र हो जहाँ युद्ध त टाढाको कुरा हो, स्वास लिन पनि ठूलो कुरा हुन्छ।

कुरा १३ अप्रिल १९८४ को हो। बिहान पाँच बजेर ३० मिनेटको समय। क्याप्टेन संजय कुलकर्णी र उनका साथी सैनिकहरुलाई लिएर चिता हेलिकोप्टरबाट बेस क्याम्पका लागि उडान भरे। त्यसका पछाडि अन्य दुई हेलिकोप्टर पनि उडे। दिउँसोसम्म स्क्वार्डन लिडर सुरिन्दर ब्यांस र रोहित रायले यस किसिमका १७ उडान भरे। क्याप्टेन संजय कुलकर्णीले एक जेसीओ र २७ जना भारतीय सैनिक सियाचिनको बिलाफोन्ड लामा हेलिकोप्टरबाट उतारे।

नितिन गोखलेले आफ्नो किताब ‘बियोण्ड एन जे ९८४२ द सियाचिन सागा’मा लेखेका छन्, ‘लेफ्टिनेन्ट जनरलको पदबाट रिटायर भएका संसजय कुलकर्णीले मलाई भनेका थिए, बिहान ६ बजे जमिनबाट केही फिटमाथि उडिरहेका हेलिकोप्टरबाट हामी मध्ये ४ जनाले हाम्फालेका थिए।’

‘मलाई स्मरण छ, मैले तल फैलिएको हिउँको गहिराई र बलियोपना मापदन गर्न २५ किलोको पिठोको प्याक तल फालेको थिएँ। यसबाट हामीले हिउँको बलियोपनाबारे अनुभुति गरेका थियौं। त्यहाँको हिँउ निकै बलियोसँग जमेको थियो।’

‘त्यहाँ हाम्फालेपछि हामीप्ले त्यहाँ एक किसिमको हेलिप्याड बनायौं। किनकी अन्य हेलिकोप्टरले आधा मिनेटका लागि ल्याण्ड गर्न सकुन। त्यो दिन पनि भुल्न नसकिने दिन हो। भिजिबिलिटी शून्य थियो, तापक्रम माइनस ३० डिग्री।’

बिलाफोन्ड लामा हेलिकोप्टरबाट उत्रिएको तीन घण्टामै रेडियो अपरेटर मण्डल अत्यधिक उँचाईमा हुने हेपको शिकार भएका थिए। बिलाफोन्ड लामा उत्रिएको केही समयपछि कुलकर्णी र उनको टिमको बाहिरी संसारसँग सम्पर्क टुटेको थियो।

सियाचिनमा चौकी बनाउनुभन्दा मुश्किल काम त्यहाँ जीवित हुनु थियो। त्यहाँको तापक्रम माइनस ३०–४० डिग्री थियो। योभन्दा पनि अझ नराम्रो अवस्था मृतक सैनिकहरुलाई बेस क्याम्पसम्म ल्याउनु थियो। ९० को दशकमा सोनम स्याण्डिलमा एक भारतीय सेनाका नेपाली युवाको मृत्यु भयो।

उनको शव हेलिप्याडसम्म ल्याइयो। तर पाइलटले अर्को दिन शव लैजाने भनेपछि सो शव फेरि उनका साथीहरुले आफूसँगैको बंकरमा फिर्ता ल्याए। भोलिपल्ट पनि होलिकोप्टरले सो शव लिएन। यो प्रक्रिया २० दिनसम्म टारियो।

योबीचमा ती मृतक नेपालीका साथीहरुले आफ्नो साथीको मृत्यु भएको मै भ्रममा परे। उनीहरुले साथीका लागि खानासमेत छुट्टै राख्न थाले। अवस्था निकै गम्भीर बन्यो। अन्ततः २० दिनपछि हेलिकोप्टरले सो शव बेस क्याम्पसम्म पुर्यायो।

सियाचिनमा ड्युटी गरिसकेका भारतीय सेनाका जनरलहरुका अनुसार घाइते व्यक्तिभन्दा शवलाई हेलिकोप्टरमा लिन गाह्रो हुन्थ्यो। किनकी चिसोले गर्दा शव जमेको हुन्छ। कतिपटक त शवको हड्डी भाँचेर हेलिकोप्टरमा राखिएको अधिकारीहरुले बताएका छन्। हेलिकोप्टरमा जमेको शव नअट्ने भएपछि हड्डी भाँचेर शवलाई सिलिपिंग ब्यागमा राखिएको भारतीय सेनाका अधिकारीहरुले बताएका छन्।

सियाचिन युद्धबारे एकजना स्वीडिसले भनेका छन्, ‘यो भारत र पाकिस्तानबीचको त्यस्तो युद्ध हो जहाँ दुई तालुखुइले काँगियोका लागि लडिरहेका छन्।’
(बीबीसी हिन्दीको सहयोगमा)


Last Updated on: February 13th, 2021 at 5:17 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया