शनिबार १८ मंसिर २०७८

बीबीसी । सन् १८९४ मा हैजाबारे अध्ययन गर्न वाल्डेमार एम हाफ्किन भारतको कोलकाता आएका थिए। वसन्तयाममा प्रायः हैजाको फैलिने भएकाले उनी आशावादी थिए।

अघिल्लो वर्षको मार्चमा पनि उनी आफूले उक्त रोगको खोप भन्ठानेको सामग्रीसहित भारत आएका थिए। तर उनले आफ्नो उत्पादनको परीक्षणका लागि वर्षभरि सङ्घर्ष गर्नुपर्‍यो।

उनको आगमनसँगै वाल्डमेरले ब्रिटिश चिकित्सकीय संस्थापन र भारतीय जनताको शङ्का र विरोध खेप्नुपर्‍यो। उनी चिकित्सक नभई प्राणीशास्त्री थिए। उनी यहुदी मूलका रुसी थिए। रुसमा तालिम लिएर उनले आफ्नो सीपलाई प्यारिसमा तिखारेका थिए।

त्यस बेला ब्याक्टेरियाको अध्ययन गर्ने क्षेत्र गुटगत विभाजन र शङ्काको सिकार बनेको थियो। त्यसबेला हाफ्किन ३३ वर्षका थिए र उनले भारतमा आफूले विकास गरेको खोपको परीक्षणका लागि प्रयोगात्मक समस्या भोगे।

तर उनले मार्च १८९४ मा एउटा अवसर पाए। उनलाई कोलकाताका चिकित्सा अधिकारीहरूले गरिबहरू बसोबास गर्ने सहरको बाहिरी क्षेत्रमा हैजाको जीवाणु छ कि छैन भन्ने पत्ता लगाउन बोलाए।

उनका लागि अर्थपूर्ण नतिजा निकाल्ने एउटा अवसर थियो। उनले त्यहाँ केही व्यक्तिलाई खोप लगाएर र केहीलाई नलगाएर हेर्दा खोप नलगाएका व्यक्तिहरूमा घातक हैजा देखा पर्‍यो। उक्त नतिजाले कोलकाताका स्वास्थ्य अधिकारीहरूलाई अझ ठूलो तहमा परीक्षण गर्नलाई उत्प्रेरित गर्‍यो।

तर मानिसहरूमा खोपप्रति विश्वास जगाउन निकै गाह्रो थियो त्यसैले उनले ब्रिटिश चिकित्सकको साटो भारतीय चिकित्सकहरूसँग काम गर्न महत्त्व दिए। उनले सार्वजनिक रूपमा आफैँलाई खोप लगाएर पनि त्यो खोप सुरक्षित छ भनेर देखाए।

म्यान्चेस्टर विश्वविद्यालयस्थित विज्ञान र चिकित्सा इतिहास विभागका प्रमुख प्राध्यापक प्रतीक चक्रवर्ती भन्छन्, “यो कथामा सधैँ हराउने कुरा के हो भने सुरुमा विरोध भए पनि पछि हाफ्किनको खोप लगाउन कोलकाताका सुकुम्बासी बस्तीमा मानिसहरू दिनभरि पनि लाइन लागेका हुन्थे।”

कोलकाताका सुकुम्बासी बस्तीहरूमा गरेको कामले हाफ्किनलाई ती वैज्ञानिकहरूको समूहमा पुर्‍यायो जसले रोगलाई चिन्ने र उपचार गर्ने वैश्विक प्रणालीलाई नै परिवर्तन गरिदियो।

तर उनीभन्दा अगाडिका एड्वर्ड जेनर र उनीपछिका जोनस साल्कभन्दा विपरीत हाफ्किनको नाम न भारतमा न युरोपमा कसैले सम्झिएन। प्राध्यापक चक्रवर्ती भन्छन्, “भारतजस्तो ऊष्ण क्षेत्रको देशमा प्रयोगशालाको खोप पुर्‍याउने हाफ्किन नै पहिलो व्यक्ति हुन्।”

ओदेसा विश्वविद्यालयबाट सन् १८८४ मा प्राणीशास्त्रमा स्नातक भएपछि पनि उनी यहुदी भएकै कारणले त्यहाँ अध्यापक हुन पाएनन्। सन् १८८८ मा उनले देश छाडे र सुरुमा छोटो समयका लागि जनीभामा पढाउन पाए। त्यसपछि प्यारिस पुगेर उनले लुई पास्चर इन्टिट्यूटमा सहायक लाइब्रेरियनको जागिर पाए।

त्यहाँ उनले फुर्सदको समय सदुपयोग गर्दै ब्याक्टेरियोलजीबारे अध्ययन जारी राखे र चाँडै नै हैजाको खोप बनाउन लागे। सुरुमा गिनीपिगमा परीक्षण सफल भएपछि उनले खरायो र परेवामा त्यसको परीक्षण गरे। ती सबैमा सफल भएपछि उनी मानवमा खोप दिनका लागि तयार भए।

सन् १८९२ जुलाई १८ मा उनले हैजाका कीटाणुका साथ आफैँले खोप लगाएर आफ्नो ज्यान खतरामा पारे। कैयौँ दिन ज्वरो आए पनि उनी पूर्ण रूपमा निको भए र फेरि तीन रुसी साथीसहित केही स्वयंसेवकहरूलाई उक्त खोप लगाइदिए। कोही पनि खासै धेरै कडा रूपले बिरामी नबनेपछि उनी सामान्य रूपमा खोप प्रयोग गर्नु उपयुक्त छ भनेर ढुक्क भए।

कोलकातामा उनले हैजाको खोप लगाएर सफल भएपछि उनलाई असमको चिया बगानमा बोलाइयो। उनले त्यहाँ मजदुरहरूलाई खोप लगाइदिए। सुरुमा दुई मात्रा लगाउनुपर्ने खोपलाई उनले पछि एकै मात्र लगाए पुग्ने बनाए। भारत हैजाको महामारीबाट मुक्त हुँदाहुँदै विश्वको तेस्रो प्लेग महामारी सुरु भयो।

त्यसपछि उक्त रोगको खोप विकास गर्ने जिम्मा पनि उनैमा आइलाग्यो। त्यसका लागि उनलाई मुम्बई बोलाइयो। त्यहाँ उनले एकदमै साँघुरो स्थानमा तालिम नपाएका सहयोगीसँग मिलेर विश्वकै पहिलो प्लेगविरुद्ध खोप बनाउन सुरु गरे।

दिल्लीका सङ्क्रामक रोगविज्ञ चन्द्रकान्त लहरिया भन्छन्, “उनीसँग पर्याप्त स्थान, जनशक्ति र पूर्वाधार थिएन। तर उनी पहिलो पटक आफ्नै प्रयोगशालामा काम गर्दै थिए। उनलाई तीव्र रूपमा प्लेगको खोप बनाउनु भनिएको आफ्नो समयको नेतृत्वदायी वैज्ञानिक बन्नु थियो भन्ने थाहा थियो।”

उनले सन् १८९६ को डिसेम्बरमा खरायोमा सफलतापूर्वक प्लेगको खोप परीक्षण सम्पन्न गरे र सन् १८९७ को ज्यानुअरीमा मानिसमा परीक्षण गर्न तयार भए।

यस पटक पनि उनले सुरुमा आफैँमा उक्त खोपको परीक्षण गरे तर आवश्यकताभन्दा बढी मात्रामा प्रयोग गरेकाले कैयौँ दिन बिरामी परेर निको भए। त्यसपछि मुम्बईकै जेलमा नियन्त्रित रूपमा उक्त खोपको परीक्षण भयो।

उनले एक वर्षभित्रै हजारौँ मानिसलाई यो खोप लगाएर कैयौँको जीवन बचाए। उनलाई नयाँ सुविधा र जनशक्तिसहित सन् १९०१ मा मुम्बईमा स्थापित प्लेग अध्ययन प्रयोगशालाको प्रमुख बनाइयो।

दुर्घटना

सन् १९०१ मार्चमा पन्जाबको मुल्कोवालमा हाफ्किनको खोप लगाएका १९ जनाको टिटानसका कारण निधन भयो। उनीमाथि त्यसको आरोप लाग्यो र उनलाई पदमुक्त गरियो। उक्त विषय ब्रिटेनको हाउस अफ कमन्समा पनि उठ्यो।

सुरुमा उनलाई दोषी ठहर्‍याइएको थियो तर विभिन्न वैज्ञानिकहरूको अभियानका पश्चात् छानबिनबाट उक्त घटना दुर्घटनावश भएको पाइयो। उनका एक सहायकले खोपको बोतलमा फोहोर बिर्को लगाइदिँदा त्यस्तो भएको खुलासा भयो।

त्यसपछि उनी फेरि भारत फर्किए र उनलाई कोलकाताको बायोलजीकल प्रयोगशालाको निर्देशक बनाइयो। तर उनलाई प्रयोगात्मक परीक्षण गर्न दिइएन र सैद्धान्तिक अध्ययनमा सीमित पारियो। उनको सन् १९३० मा ७० वर्षको उमेरमा मृत्यु भयो।


Last Updated on: January 12th, 2021 at 6:17 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया