मंगलबार १९ साउन २०७८

एक महिला र उनकी ९ वर्षकी छोरीलाई महिलाका भागेका पार्टनरले आफ्नो चिहान आफैं खन्न बाध्य पारेको र पछि उनीहरुलाई त्यही चिहानमा गाडेको एक किशोरीले खुलासा गरेकी छिन् । मृत महिलाकी किशोरी छोरीले ब्राजिलका जाँचकर्ताहरुसँगको कुराकानीको क्रममा यस्तो खुलासा गरेकी हुन् । फेब्रिसियो बुइम एरेना बेलिनातोकी पार्टनर क्रिस्टियान एरेना र उनकी ९ वर्षकी छोरी केरोलिन भिटोरिया गएको नोभेम्बर महिनादेखि बेपत्ता थिए ।

द सनको रिपोर्टअनुसार उनीहरुको शव साओ पाउलोको पोम्पेइयामा रहेको घरको पछाडिको आँगनमा गाडिएको अवस्थामा फेला परेको छ । शवको अवशेषको जाँचमा क्रिस्टियानलाई चक्कु प्रहार गरेर मारिएको र छोरी केरोलिनलाई कुनै वस्तुले टाउकोमा हिर्काएर मारिएको पाइएको छ । पुलिसले घरको पछाडिको आँगनमा शंकास्पद रुपमा भुइँ चलाइएको देखेपछि जाँच गर्दा शव फेला पारेको थियो ।

आरोप लागेका बेलिनातोले यसअघि आमाछोरी बेपत्ता भएपछि पनि पुलिसलाई बयान दिएका थिए र पुलिसले उनलाई छाडेको थियो । बेलिनातो मनोवैज्ञानिक हुन् । दुई शव फेला परेपछि भने पुलिसले बेलिनातोलाई फेला पार्न सकेको छैन । छिमेकीहरुका अनुसार बेलिनातोले ती किशोरीलाई घरबाहिर निस्किन दिँदैनथे र धेरै नियन्त्रण गर्न खोज्थे । ग्लोबोको समाचारअनुसार १६ वर्षकी ती किशोरी छोरीलाई पनि अपराधमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको छ ।

पुलिस प्रमुख क्लाउडियो अनुसियाटो फिल्होका अनुसार पुलिसले बेलिनातो र उनकी ठूली सौतेनी छोरीबीच कुनै किसिमको प्रेम सम्बन्ध रहेको हुन सक्ने आशंका गरेको छ । अनुसन्धान अधिकारीहरुका अनुसार १६ वर्षीया किशोरीले आफ्नी बहिनीको शव आँगनमा प्लास्टिक पोखरी नजिकै गाडिएको संकेत गरेकी थिइन् र अधिकारीहरुले पनि शव त्यहीँ फेला पारेका थिए । सुरुमा पुलिसले ती किशोरी खतरामा भएको खबर पाएपछि त्यो घरमा जाँचको लागि गएको थियो ।

पुलिस प्रमुख फिल्होका अनुसार किशोरीले आफ्नी आमाले नयाँ ब्वाइफ्रेण्ड पाएपछि बहिनीलाई लिएर गएको बताएकी थिइन् तर उनको बयानमा विरोधाभाष देखिएपछि पुलिस अनुसन्धानको लागि पुगेको थियो । पुलिसले बेलिनातोले पीडित महिलाको बैंक खाता चलाइरहेको समेत फेला पारेको थियो । पुलिसले दुवैको हत्या नोभेम्बरको अन्त्यमा भएको र त्यतिबेलै शव गाडिएको विश्वास गरेको छ ।


Last Updated on: February 15th, 2021 at 8:35 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया