मंगलबार १९ साउन २०७८

एक दशकअघिको २०६१ माघ १९ को त्रासदीपूर्ण बिहान । माघको त्यो चिसो बिहानीमै सरकारी सञ्चारमाध्यमले तत्कालीन राजा ज्ञानेन्द्रबाट शाही सम्बोधन आउने समाचार फुकिरहेको थियो । निरन्तर रूपमा सरकारी टेलिभिजनमा छाइरहेको सम्बोधनको सूचनाले चारैतिर किन र केका लागि ‘शाही सम्बोधन’ भन्ने ‘कौतूहल’ जगाएको थियो ।

त्यसभन्दा अघि दरबारले अप्ठ्यारा किसिमका ठूला राजनीतिक निर्णयहरू मध्यरातमा गर्ने परम्परा बसाएको थियो । त्यही कारण सत्तापलटजस्तो गम्भीर राजनीतिक घटना एकाबिहानै हुन्छ भन्ने कल्पना कमैले गरेका थिए । शाही सम्बोधनबाट ठूलो राजनीतिक फेरबदल हुँदैन भन्ने अनुमान गरिंदै थियो । किनभने, ज्ञानेन्द्रले २०५८ जेठ ८ को मध्यरातमै प्रतिनिधिसभा विघटन गरेका थिए भने २०५९ असोज १८ मा निर्वाचित सरकारलाई अपदस्थ गर्ने घोषणा पनि मध्यरातमै भएको थियो । तर, मुलुकको शासकीय राजनीतिमा ‘नसोचेको दिनमा परिणत भयोे, माघ १९ ।’ ज्ञानेन्द्रको त्यो कदम विशेषगरी राजनीति र पत्रकारिता दुवैका निम्ति पीडादायी र त्रासद क्षणमा परिणत भयो । शाही घोषणासँगसँगै मुलुक ‘मध्ययुगीन’ शासकीय स्वरूपमा परिवर्तित भइसकेको थियो । त्यो दिन ‘संवैधानिक राजतन्त्र’ ले पन्ध्र वर्षपछि फेरि मर्यादा उल्लंघन गरेर आफूलाई ‘निरंकुश राजतन्त्र’ मा बदलेको थियो ।

एकातिर तत्कालीन राजा ज्ञानेन्द्र सरकारी सञ्चारमाध्यमबाट देशबासीलाई सम्बोधन गरिरहेका थिए, अर्कातिर सञ्चारमाध्यमका कार्यालय -शाही) नेपाली सेनाको घेराबन्दीमा परिसकेका थिए । शाही घोषणामा भनिंदै थियो, ‘स्वतन्त्र सञ्चार क्षेत्र प्रजातन्त्रका चेतना वृद्धि गर्ने माध्यम हुन् । राष्ट्रिय हितको संवर्द्धनमा यसको विशेष भूमिका रहन्छ । शासन शैलीसँगै जीवन पद्धतिलाई प्रजातान्त्रिक मूल्य र आदर्शबाट प्रेरित बनाउन सञ्चारमाध्यमले सशक्त योगदान दिने छ भन्ने हामीले विश्वास गरेका छौं ।’ तर, उता शाही सम्बोधन भइरहँदा न इमेल चल्थ्यो न टेलिफोन, न मोबाइल नै । मुलुकभर एकाएक सूचना सम्पर्कविहीन भएपछि मानिसमा कोलाहल छाउने नै भयो । आममानिसहरू सन्नाटामा परे । सडकमा पूरै सेना र पुलिसले भरिएको थियो । आममानिस त्रासद अनुहारमा प्रश्न गरिरहन्थे,¬ ‘अब के हुन्छ ?’ किनभने पञ्चायती निरंकुश शासनशैली नभोगेका युवा पुस्ताका जमातका निम्ति मोबाइल सम्पर्क काटिनु र इमेल चलाउन नपाउनु अनौठो घटना थियो । सूचना सम्पर्कको अभावसँगै मानिसमा स्वाभाविक त्रासदी उत्पन्न गरायो नै ।

आधुनिक युग र स्वतन्त्रता उपभोग गरिसकेका नेपालीलाई नियन्त्रित सूचना प्रवाह गर्ने आदेशहरू जारी हुन थाले । समाचार प्रसारण गर्न पाउने अधिकार एफएम रेडियोबाट खोसियो । संविधान र कानुनप्रदत्त ‘सम्पूर्ण स्वतन्त्रता’ एउटा अमूर्त प्रयोग मार्फत कटौती हुन पुग्यो । शासनसत्ता लिएको भोलिपल्ट सूचना तथा सञ्चार मन्त्रालयले सरकारी सञ्चार माध्यम प्रयोग गरी ‘नियन्त्रणसम्बन्धी आदेश’ जारी गर्‍यो, पञ्चायतकालमा जसरी नै । आदेशमा उल्लेख थियो, ‘शाही घोषणाको भावना र मर्मविपरीत एवं आतंककारी तथा विध्वंसात्मक र आतंकवादलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रोत्साहन वा सघाउ पुग्न जाने प्रकृतिका अन्तर्वार्ता, लेख, समाचार, सूचना, अभिमत वा व्यक्तिगत विचार समेत’ मा ६ महिना निषेध गरिने छ ।’

राजाको सम्बोधनले एकाएक निकै छटपटी बढायो । जब सन्नाटाकै बीच कान्तिपुर पब्लिकेसन्स छिरियो । पब्लिकेसन्स परिसर सेनाले कब्जामा लिइसकेको थियो । कान्तिपुर टेलिभिजनको ‘स्टुडियो’ सेनाको कब्जामा परिसकेको थियो । सैन्य ट्रकले कार्यालय परिसर भरिएका थिए । अर्थात् शाही भाषणसँगसँगै कान्तिपुर पब्लिकेसन्स सैन्य ब्यारेकमा परिणत भइसकेको थियो । बाहिरी मुलुकमा सैन्य ‘कु’ को घटना सुनेको, देखेको र पढेको हुँदा अब मुलुकमा सैन्य शासनको सूत्रपात भएछ भन्ने स्पष्ट भयो । परिसरमा हतियारधारी सैनिकहरू दायाँबायाँ छरिएका थिए, मूलढोका र भित्रसमेत सैनिकहरूले पहरा दिइरहेका थिए । हतियारधारी सेनाको चहलपहलका दृश्यले उकुसमुकुसको वातावरण सिर्जना गर्‍यो ।

त्यो घटनासँगै पत्रकारिताको कार्यशैली परिवर्तन भयो । सम्पादकका अघिल्तिर सैनिक अधिकारीहरू ‘प्रधानसम्पादक’ का रूपमा खडा भए । संवाददाताले संकलन गरेका राजनीतिक समाचार छाप्न सक्ने अवस्था थिएन । तर पनि उनीहरू समाचार संकलन गरेर ल्याउँथे र लेख्थे । ज्ञानेन्द्र सरकारका निर्णयसम्बन्धी समाचार सरकार नियन्त्रित एजेन्सी रासस प्रयोग गरियो । एक सातासम्म कार्यालय आउनु र फर्किनुमा सीमित भयो । बुट बजार्दै हिंड्ने सेना अधिकारीका आवत-जावतले ‘न्युजरुम’ को हविगत त्रासदीपूर्ण थियो । एक सातापछि मात्रै सेना अधिकारीले कार्यालय छाडे तर निगरानी छाडेनन् ।

समाचार तथा लेखको सम्पादन सम्पादकले होइन, सेनाका अधिकारीहरूले गर्थे । चर्का राजनीतिक समाचार र विश्लेषणले भरिने पत्रिकामा बेग्लै प्रकृतिका अनौठा समाचार देखेपछि ती सेनाका अधिकारी मुसुक्क हाँस्थे, अनि भन्थे, ‘हामीले पनि बुझेका छांै ।’ त्यस्ता समाचार र लेखका पनि उनीहरू शब्द-शब्द केलाउँथे । ती सेनाका अधिकारीहरू कुनै बेला त्रसित वातावरण सिर्जना गर्ने शैलीमा भन्थे- ‘हाम्रो पनि बाध्यता बुझिदिनुस् है ।’ दिनहुँ सम्पादकको कुर्सी अघिल्तिर बसेर सम्पादकबाट सम्पादित भइसकेका समाचार र लेखहरू फुलीवाला सैन्य अधिकारीहरू गहिरो सम्पादनमा तल्लीन हुन्थे । उनीहरूको प्रमुख धेय राजाको निर्णको बर्खिलापमा समाचार तथा लेखहरू नहुन् भन्नेमा केन्दि्रत हुन्थ्यो ।

त्यति ठूलो राजनीतिक घटना भएको भोलिपल्ट कान्तिपुरको पहिलो पृष्ठमा ‘श्री ५ बाट देउवा सरकार विघटन, मन्त्रिपरिषद् मौसुफकै अध्यक्षतामा हुने’ शीर्षकमा केवल औपचारिक समाचार मात्र प्रकाशित भयो ।


Last Updated on: February 17th, 2021 at 12:36 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया