आइतबार १२ मंसिर २०७८

एक्लै सानो डुंगामा समुद्रमा सयर गर्न गएका बेला गम्भीर घाइते भएका एक व्यक्ति बालुवामा लेखेको सन्देशका कारण जीवितै बाँच्न सफल भएका छन् । न्यूजिल्याण्डको दुर्गम समुद्र किनारमा ती व्यक्तिले बेहोस हुनुअघि बालुवामा ‘हेल्प’ लेखेका थिए । टाढैबाट देख्न सकिने गरी ठूला अक्षरमा लेखिएको त्यही सन्देशका कारण उनको जीवन बाँचेको छ ।

ती व्यक्ति अकल्याण्डको कारेकारे बीचमा एक्लै गएका थिए । न्यूजिल्याण्ड हेराल्डका अनुसार उनी गएको सानो डुंगालाई पानीको छालले हुत्याइदियो र उनी चट्टानमा ठोक्किएर गम्भीर घाइते भए । उनले आफू गएको डुंगा गुमाए र बल्लतल्ल किनारसम्म आए । त्यसपछि उनी बाक्लो झाडीमा हिँड्दै गर्दा हराए । उनले त्यहाँबाट बाहिर निस्कनको लागि करिब २ घण्टा प्रयास गरे तर नसकेपछि बालुवामा सन्देश लेखे । अरु कुनै विकल्प नभएपछि उनले घस्रिँदै बालुवामा ‘हेल्प’ लेखे त्यसपछि ढले ।

उनी भाग्यमानी थिए किनकि पर हिँडिरहेकी एक महिलाले उनले बालुवामा लेखेको सन्देश देखिन् । उनले स्थानीय स्कर्फ क्लवलाई खबर गरिन् तत्कालै २ जना उद्धारकर्मीहरु जेटस्कीमा घटनास्थलतर्फ लागे । उनीहरुले तत्कालै उनलाई आकस्मिक प्राथमिक उपचार गरेर अस्पताल पठाए । अकल्याण्डमा कोभिड लकडाउनका कारण नम्बर ३ अलर्ट भएकोले निकै कम मानिसहरु बाहिर भएका बेला ती व्यक्ति निकै भाग्यमानी भएको प्रहरीले बताएको छ ।


Last Updated on: February 17th, 2021 at 6:10 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया