मंगलबार १४ मंसिर २०७८

अमेरिकाको टेक्सासमा हिउँको तुफानपछि अत्याधिक चिसो भएको मौसम विस्तारै तात्न थाल्दा निकै भयानक तस्वीर देखिन थालिएको छ । हिउँ पग्लिँदै जाँदा चिसोले कठ्याङ्ग्रिएर मरेका व्यक्तिहरुका लाशहरु धमाधम भेटिन थालेका छन् । टेक्सासमा हिउँको तुफन आएसँगै एक हप्तासम्म विद्युत आपूर्ति र पानीको आपूर्ति ठप्प थियो । विद्युत अवरुद्ध हुँदा तातो गराउने उपकरण चलाउन नपाएपछि यी व्यक्तिहरु चिसोसँग संघर्ष गर्दागर्दै मरेको विश्वस गरिएको छ ।

स्थानीय मिडिया केस्याट सान एन्टोनियोका अनुसार हिमपात र हिउँको आँधिका कारण अहिलेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ । यीमध्ये दर्जनभन्दा बढी व्यक्तिहरु घरभित्रै कठ्याङ्ग्रिएर मरेका छन् र यीमध्ये सबैभन्दा धेरै मृत्यु टेक्सासमा भएको छ । मृत्यु हुनेमध्ये एकजना ११ वर्षका बालक पनि छन् जो हस्टननजिकै कोनोरमा आफ्नो ओच्छ्यानमै कठ्याङ्ग्रिएर मरेका छन् । २ वृद्धहरु पश्चिमी टेक्सासको टेलर काउन्टीको बफेलो ग्याप शहरमा घरभित्रै मृत अवस्थामा भेटिएका छन् ।

टेलर काउन्टीका सेरिफ रिकी बिसपका अनुसार उनको कार्यालयमा आफ्ना आफन्त र साथीहरु चिसोमा संघर्षरत हुन सक्ने भन्दै जाँच गरिदिन आग्रहसहित कैयौं फोनहरु आउने गरेका छन् । ‘हामीलाई १ घण्टामा १० वटाजति यस्ता फोन आएका छन्’ उनले भने । उनका अनुसार काउन्टीका सडकहरु ४ फिटसम्म हिउँले ढाकिएका थिए । यहाँ पछिल्लो समय मृत पाइएकाहरु हाइपोथर्मियाका कारण मरेको विश्वास गरिएको छ । हाइपोथर्मिया अत्याधिक चिसोका कारण हुन्छ ।

मानव शरीरले उत्पादन गर्न सक्ने भन्दा तीब्र गतिमा बाहिरको तापक्रम घट्यो र यसका कारण मानव शरीरको तापक्रा ९५ डिग्री फरेनहाइटबाट कम भयो भने त्यो अवस्थालाई हाइपोथर्मिया भनिन्छ । सामान्य अवस्थामा मानव शरीरको तापक्रा ९८.६ डिग्री फरेनहाइट हुन्छ । ‘समय बित्दै जाँदा यसले अवस्था झनै गम्भीर बनाउँदै जान्छ’ न्यूयोर्कको लेनोक्स हिल हस्पिटलमा इमरजेन्सी फिजिसियन डा. रोबर्ड ग्लाटरले भने ।

फोर्ट वर्थ क्षेत्रमा एम्बुलेन्स उपलब्ध गराउने सेवा प्रदायक मेडस्टारका प्रवक्ता म्याट जाभादस्कीका अनुसार सबैभन्दा बढी फोन घरमै रहेका व्यक्तिहरु हाइपोथर्मियाको सिकार भएको भन्दै आउने गरेका छन् । मेडस्टारले हाइपोथर्मियाका सबैभन्दा धेरै केस बुधबार पाएको थियो जुन दिन ७७ जना बिरामी हाइपोथर्मियाबाट ग्रस्त भएको भन्दै फोन आएको थियो ।


Last Updated on: February 21st, 2021 at 2:08 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया