मंगलबार १४ मंसिर २०७८

नायक पल शाहले माफी नमागे उनी अभिनित चलचित्र प्रदेश १ मा चल्न नदिने पीडित अरुण प्रधानले बताएका छन् ।

चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष प्रधानले आफूमाथि दुव्र्यवहार गर्ने पल शाहले माफी नमागे उनी अभिनित चलचित्र प्रदेश १ मा चल्न नदिने बताएका हुन् ।

उनले पल शाह र उनका सहयोगीले माफी माग्नुपर्ने बताए ।

बिहीबार आफूमाथि कुटपिट भएपछि प्रधानले पल शाह र उनका सहयोगी कृष्णप्रसाद जोसीविरुद्ध उजुरी दिएका छन् । प्रहरी कार्यालयले शुक्रबार दिउँसो छलफलका लागि बोलाएको छ । माफी नमागे कानुनअनुसार प्रक्रिया अघि बढाउने र शाहद्वारा अभिनित चलचित्र प्रदर्शन रोक्ने उनले बताए ।

घटना यस्तो थियो : अरुण प्रधान

प्रदेश १ लाई सुन्दर चलचित्र नगरी बनाउने परिकल्पनासहित नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ स्थापना गरी काम गरिरहेका छौँ । प्रदेशमा आएको चलचित्रको छायाङ्कन टोली र कलाकारलाई सम्मान र स्वागत गर्छाैं ।

म्युजिक भिडियोको छायाङ्कनका लागि पल शाहसहितको टोली धरानमा आउने जानकारी प्राप्त भयो । लोकेसनको खोजीसहित गीत छायाङ्कन गर्न साथीहरू फागुन १० गते धरान आउनुभयो । मैले साथीहरूलाई गीतको लोकेसन हेर्नेदेखि अन्य उपकरणका लागि पनि सहयोग गरँे ।

फागुन १२ गते पल शाह आफ्ना दुई सहयोगी कृष्णप्रसाद जोशी र अर्जुनचन्द ठकुरीसहित आइपुगे । खाना खानका लागि ज्वाइँ खाना होटलमा लग्यौँ । नायकलाई स्वागत गर्न खादा लिएर बसेको थिएँ । मेरा मित्रले मेरो परिचय गराएपछि मैले उहाँलाई खादा लगाइदिएँ । फोटो खिच्न जोशीले रोके ।

त्यसपछि खाना खान बस्यौँ । खाना आउनुअघि शनिबार धरानमा आयोजना गरिने कार्यक्रमका बारेमा छलफल गर्यांै । शाहलाई सहभागिताका लागि आग्रह गर्दा रुखो तरिकाले सहभागी नहुने बताउनुभयो । हामीले उहाँ सहभागी हुनुहुन्छ भनेर तयारी गरेका थियौँ । तर सहभागी नहुने भएपछि फेसबुकमा लेखिएको निमन्त्रणाबाट उहाँको नाम हटायौँ ।

त्यसपछि असिस्टेन्ट कृष्णले एकदमै अमर्यादित तरिकाले विवाद गर्न खोजे । त्यसपछि म्युजिक भिडियोका निर्देशक जनकदीप पराजुलीले यो च्याप्टर क्लोज गरौँ भनेपछि हामी छयाङ्कनका बारेमा छलफलमा जुट्यौं । नायक र उहाँका सहयोगी अर्काे टेबुलमा बस्नुभयो ।

हामीले खाना खानैगर्दा होटलमा १०–१५ जना केटाहरू आए । आउने सबै धरानकै स्थानीय युवा हुन् । मलगायत अन्य साथीसँग चिनजान भएकाले कुनै विवाद गेनन् । तर ती युवाहरू आएपछि अचानक नायक पल शाहका सहयोगी कृष्णप्रसाद जोशी आक्रमक शैलीमा ममाथि खनिए ।

सुरुमा मैले लगाइदिएको खादा फाल्दै ममाथि धक्का–मुक्का गरे । सोच्दै नसोचेको दुव्र्यवहारले गर्दा म आफैँ अवाक भएँ । त्यसपछि साथीहरूले कृष्णलाई तानेर लगे । मैले आफ्नो संयमतालाई कन्ट्रोलमा नै राखेँ ।

कलाकारहरू धरानको मात्र नभई प्रदेश १ को पाहुना भएका कारण कुनै पनि किसिमको आक्रमण गरिनँ । साथीहरूले छुट्याए पनि कृष्णले पटक–पटक झम्टिने प्रयास गरिराखे । छेउको टेबुलमा रहेका पल शाहले आफ्नो असिस्टेन्ट लाई सम्झाउने र रोक्ने प्रयाससम्म गरेनन् । पल शाहकै निर्देशनमा ममाथि आक्रमण भयो ।

फागुन १२ गते राति करिब साढे ९ बजेको घटना बारेमा उहाँहरूको छायाङ्कन सकिएपछि इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएको छु । इप्रका धरानले १३ गते नै पल शाहसहित उनको असिस्टेन्ट लाई झिकाउने कुरा भएको थियो तर मैले १४ गतेसम्म गीतको छायाङ्कन हुँदै छ । यो छयाङ्कन सकेर मात्र झिकाउँ भन्ने आग्रह गरेअनुसार नै १४ गते दिनको २ः३० बजे इलाका प्रहरी कार्यलय धरानले बोलाएको छ ।

पल शाहको निर्देशनमा भएको कार्यप्रति चलचित्रकर्मी महासङ्घ प्रदेश १ परिवार घोर विरोध गर्दछ । पल शाह र उनका असिस्टेन्ट कृष्णप्रसाद जोशीले इलाका प्रहरी कार्यालयमा लिखितरूपमा माफी माग्नुपर्नेछ । यदि उनीहरूले अटेर गरेमा कानुनी प्रक्रिया अघि बढ्नेछ । प्रदेश १ मा पल शाहद्वारा अभिनित चलचित्र प्रदर्शनमा पूर्णरूपमा रोक लगाउनेछौँ ।


Last Updated on: February 27th, 2021 at 10:53 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया