शनिबार ११ मंसिर २०७८

पछिल्लो समय धेरैको मन मुटुमा बसेका गायक हुन पशुपति शर्मा ।

पिताको सपना डाक्टर बनाउने थियो । आमा छोराले प्रतिष्ठाको काम गरेको हेर्न चाहन्थिन् । पशुपतिलाई भने आफ्नै सपनाले डोर्‍यायो । परिवारको इच्छा विपरीत उनी गायनमा लागे ।

छोरालाई ‘डाक्टर साब’ भनेर सम्बोधन गर्ने बाबुको सपना कुल्चेर आफ्नै सपनाको बाटोमा डोरिएका शर्मा आफैंले बनाएको सम्बोधनमा आज धेरैको सपना बनेका छन् । उनको गायन, व्यस्तता र लोकप्रियता देखेर उनकै बाटोमा हिँड्न चाहने अनुज पुस्ता ठूलो संख्यामा छ ।

पशुपति शर्माको उत्ताउलो बाल्यकाल :

२०४० साल कात्तिक १४ गते स्याङ्जाको पुतली बजारमा जन्मिएका पशुपति शर्माको बाल्यकाल पुतली जस्तै गाउँमै रमाएर बित्यो । स्कुल तहको पढाइ स्याङ्जाको पुतली बजारमै बिताएका उनी सानामा साह्रै चञ्चले थिए । ३ दिदी तथा १ दाजुका कान्छा भाइ उनी सबैको माया पाएर होला अलि बढी उटपट्याङ गर्थे । आज पुराना दिन सम्झिँदा उनलाई कलाकार हुन सानैबाट चञ्चले हुनुपर्दो रहेछ जस्तो लाग्छ ।

गाउँको जीवनशैली घरमा कहिलेकहीँ आटो–ढिडो पनि पाक्थ्यो । त्यो दिन आमाले अन्तिममा भात खाएर बाहिर चुठ्न निस्कनु पर्छ है भन्नु हुन्थ्यो । तर, उनी ढिडोको ढल्लै हातमा लिएर खाँदै बाहिर निस्कन्थे । खाको पनि लुकाएर हुन्छ, देखाएर खानुपर्छ भन्ने उट्पट्याङ स्वभावका कारण उनी त्यसरी बाहिर आएको आज पनि सम्झिन्छन् ।

खेतमा काम गर्न आउने खेतालालाई पनि उनी हँसाएर काम गर्नै नसक्ने बनाउँथे । उनकी आमाले हरेक सिजनका खेताला लगाउने बेलामा ‘बरु तँ काम नगर कान्छा खेतालासँग नबोल है’ भन्नुहुन्थ्यो । तर, आमाले भनेर उनलाई कहाँ लाग्थ्यो र उनी खेतमा उटपट्याङ गरेरै छाडेथे ।

सानामा उनले आफ्ना आमा–बाबुलाई खुब सताएका छन् । गाली त कसैले गर्नै हुँदैनथ्यो, उनी झन् धेरै निहुँ खोज्थे । उनलाई जति गल्ती गरे पनि फकाउनु पथ्र्यो । अहिले उनको यो सम्पूर्ण गुण उनकी छोरीमा सरेको छ ।

स्कुलमा सधैं प्रथम हुन्थे तर उनी स्कुल जान खुब अल्छी थिए । आमाले अनुशासित हुनुपर्छ छोरा भनेर सिकाएको कुरा उनी स्कुलमा चाहिँ सधैं सम्झन्थे । स्कुलमा राम्रा विद्यार्थी थिए ।

गायनका सुरुवाती संघर्ष :

गायनमा लाग्दाका सुरुवाती दिनमा उनलाई यसमा निक्कै संघर्ष गर्नु पर्‍यो । परिवारको सहयोग थिएन । लुकीछिपी गायनका हिँड्नु पथ्र्यो । कुनै समय यस्तो थियो उनी कजेलमा काम छ भनेर घरबाट निस्कन्थे र विभिन्न कार्यक्रममा गीत गाउन पुग्थे ।

त्यही समय हो, उनका पिताले गाउँदा गाउँदै स्टेजमा भेटेको । त्यो दिन उनी प्रथम भए, तर, प्रथम भएको खुसीभन्दा घरको पाएको सजाय उनका लागि भारी भएको थियो । त्यसपछि उनी झन् कडा निगरानीमा परे ।

उनमा कुनै सांगीतिक ज्ञान थिएन । राजधानीको २ वर्षको बसाइपछि दोहोरी साँझमा गाउन थालेका पशुपतिलाई एल्बम निकाल्ने धुन चढ्यो । चढ्नु के थियो उनी त्यसैमा लागे ।

अग्रजहरूले एल्बम ननिकाल्न सुझाव दिए । ‘तिमीले गाउने होइन, तिमीले गाएर हुँदैन’ भनिरहे । उनले सुन्ने कान दिएनन् । आफ्नै मनको आवाज सुने । थुप्रै पटक राष्ट्रिय लोकगायनमा प्रथम बनेका उनलाई गायनका सुरुवाती दिन सम्झँदा आज कसरी त्यति धेरै सघर्ष गरें हुँला भन्ने लाग्छ । ‘सपना देखेर मात्रै कहाँ हुन्थ्यो र उज्यालो पाउन आफू जल्नै पर्छ’, शर्मा भन्छन् । आफू पटक–पटक मरेर कलाकार बनेको बताउने उनले गायनमा सबैको माया पाएकाले पनि ती सबै संघर्षलाई बिर्सिएका छन् ।

राजधानीमा नवदुलही जस्तै भएँ :

एसएलसीको पढाइ सकेर शर्मा राजधानी पस्दा १६ वर्षका थिए । एसएलसीपछि दाजुको सटको फेरो समातेर राजधानी पसेका शर्माका सुरुका २ वर्ष दाजुको सेवामै बित्यो ।

त्यसबेला उनका दाजु डाक्टरी पढ्दै थिए । उनलाई त्यो समय उनका पिताको ‘दाइ डाक्टर पढ्ने मान्छे, उसले धेरै पढ्नु पर्छ दाजुको लुगा धुने, भात पकाउने काम तैंले गरेस् है’ भनेर फोन आउँथ्यो । उनी १६ वर्षका हुँदा उनका दाजु १८ वर्षका थिए । उनले उनका दाजुलाई तँ बिहान भात पका म बेलुका पकाउँछु भन्न सक्थे तर, त्यसो गरेनन् ।

दाजुको २ वर्ष पूर्ण रूपमा सेवा गरे । उनी राजधानी बसाइका २ वर्ष घरमा भित्रिएकी नव दुलही जस्तै भएर बसे । पिताको आग्रहलाई कहिल्यै काटेनन्, र पनि दाजु–भाइबीचको सम्बन्ध कहिल्यै आत्मीय हुन सकेन । दाजुसँग सधैं औपचारिक कुरा मात्रै भए । आज पनि दाजुभाइको भेट हुँदा धेरै खुलेर कुराकानी हुँदैन । उनका दाजु अहिले डाक्टर बनिसकेका छन् ।

राजधानी बसाइका ती दिनको सम्झनाले उनी पनि कुरा गर्दैनन् । उनका दाजुले पनि कुरा निकाल्दैनन् । दाजुले मनमा चाहिँ सम्झिएका होलान् भन्ने लाग्छ उनलाई ।

उनलाई सधैं दाजुका लुगा धुन, खाना खाजा बनाउन गाह्रो नलाग्ने चाहिँ होइन । त्यसैले त उनी हरेकपल्ट घरबाट निस्कनेबेलामा अन्मिएकी छोरी जस्तै रुँदै निस्कन्थे । उनी जीवनमा थुप्रै पटक रोएका छन् । उनलाई अहिले पनि आफू जस्तो रुन्चे मान्छे अरू छ जस्तो लाग्दैन । आफ्ना दुःखमा भन्दा अरूका दुःख देखेर धेरै रुने पशुपति पछिल्ला केही वर्षयता भने पहिलेको तुलनामा रुन छाडेका छन् ।

गायक बन्नकै लागि अन्धो :

पशुपति शर्मा जीवनका रंगीन सपना फुलाउने बेलामा पनि गायनमा अन्धो भएर लागे । किशोर वयको सुरुवात दोहोरी साँझमा पुगेका उनको संगत अग्रज गायिकाहरूसँग भयो ।

उनले केटीप्रति आकर्षित हुने र माया गर्ने मुटु बोकेर पनि विवाहअघि प्रेममा अल्झिन पाएनन् । त्यसो त उनी आज गायनमा जुन स्थानमा छन् त्यो स्थान बनाउँला भनेर गायनमा लागेकै थिएनन् । एउटा गीत रेकर्ड गर्ने र गायकको सूचीमा आफ्नो नाम लेखाउने मात्रै उनको सपना थियो । तर, उनले सुरुमा निकालेको गीत नै सबैको रोजाइमा परेपछि उनले कहिल्यै पछाडि फर्किनु परेन ।

उनका दाजु दिदी सबैले बाबुले भने जस्तै गरे । उनी मात्रै बाबु–आमाको सपनाको बाटो लत्याएर गायनमा उत्रिए । उनी घर जाँदा हरेक पल्ट ‘तँ बिग्रिस्’ भन्ने कुरा हुन्थे । उनी आमालाई छोराले गीत गाएकोमा भन्दा छोराले कस्ती केटी बोकेर आउँने हो भन्ने चिन्ता थियो । गाउँमा पनि उनको कुरा काट्ने ठूलै जमात थियो । उनलाई चुनौती थियो, कलाकारहरू पनि अनुशासित हुन्छन् भनेर प्रमाणित गर्ने । सँगै उनलाई पढ्नु पनि थियो । उनले मास्टर पनि गरे र आमा–बाबुकै रोजाइमा पर्वतकी रेखा शर्मासँग मागी विवाह गरे ।

गीत संगीतसँग रेखाको खासै लगाव होइन । तर, उनले जीवन सँगिनीबाट चाहिँ गायनमा राम्रो साथ पाए । उनका ‘क्याम्पस पढ्न आउनी’ पछि सबै गीत उनका विवाहपछि चलेका हुन् । त्यसैले पनि उनलाई जीवन सँगिनी फापेकी हुन् जस्तो लाग्छ ।

पर्दाको यात्रा :

एक समयको कुरा हो उनी गाउँ जाँदा टेलिभिजनमा उनको गीत बजिरहेको थियो । गीतको म्युजिक भिडियोमा किरण केसी ‘राता मकै’ ले अभिनय गरेका थिए । उनले उनका बुवालाई खाना खान बोलाउँदा बुवाले भनेका थिए ‘पख न यहाँ राता मकैले गीत गाउँदै छ, सकेपछि आउँछु ।’ त्यसपछि उनलाई आफूले गाएको गीतमा आफैंले अभिनय गर्नु पर्ने रहेछ भन्ने लागेको थियो । पछि अभिनयमा पनि उनलाई धेरैले रुचाए । त्यसयता आफ्ना प्रायः गीतमा उनी आफैंले अभिनय गरेका छन् ।


Last Updated on: March 1st, 2021 at 7:31 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया