आइतबार १९ मंसिर २०७८

भारतीय हिमालयस्थित एउटा हिमाली उपत्यकामा रहेको विकट तालमा सयौँ मानव अस्थितपंजर छरिएका छन्। उत्तराखण्ड राज्यस्थित भारतको एउटा अग्लो हिमाल त्रिशूलको चुचुरोको ठाडो भिरालोमा रहेको रूपकुण्ड समुद्र सतहबाट ५०२९ मिटर उचाइमा छ।

‘अस्थिपञ्जरको ताल’मा मानव अपशेषहरू छरिएको र हिउँमा दबेको कुरा सन् १९४२ मा एउटा ब्रिटिस रेन्जरको गस्तीले पत्ता लगाएको हो।

वर्षको अधिकांश समय हिउँ जमिरहने उक्त तालको आकार मौसम अनुसार घट्ने र बढ्ने हुन्छ। हिउँ पग्लिएका बेला अस्थिपञ्जर देखिन्छन्। कहिलेकाहीँ त त्यसमा मासु टाँसिएको र सग्लै रहेको देखिन्छ। अहिलेसम्म त्यहाँ ६०० देखि ८०० जना मानिसको शरीरको अवशेष फेला परेको अनुमान छ।

‘रहस्य’मा पुरिएका को थिए ती?

पर्यटन प्रवर्द्धनको निम्ति स्थानीय सरकारले त्यसलाई ‘रहस्यपूर्ण ताल’ भन्ने गरेको छ। आधा शताब्दीभन्दा लामो समयदेखि मानवशास्त्री र वैज्ञानिकहरूले अवशेषको अध्ययन गरेका छन् तर गुत्थी सुल्झिएको छैन। ती मानिस को हुन्? कहिले मृत्यु भयो? ती कहाँबाट त्यहाँ पुगेका थिए?

त्यससँग एउटा पुरानो कथा जोडिन्छ जसमा भारतीय राजा, उनकी पत्नी र सेवकहरू करिब ८७० वर्षअघि हिउँको सिरेटोको सिकार भएका थिए। अर्को कथा पनि छ, केही मानव अवशेष सन् १८४१ मा तिब्बत कब्जा गर्न गएका भारतीय सुरक्षाकर्मीहरूको हो जसलाई परास्त गरेर भगाइएको थियो।

उक्त भनाइअनुसार ७० भन्दा धेरै सुरक्षाकर्मीहरूलाई हिमालयको बाटो हुँदै घर फर्किन बाध्य बनाइए र बाटोमै उनीहरूको मृत्यु भएको थियो। एउटा अर्को मान्यता अनुसार त्यो एउटा अन्त्येष्टिस्थल पनि हुनसक्छ जहाँ महामारीका पीडितहरूको अन्त्येष्टि गरिएको होस्।

त्यस क्षेत्रमा पर्ने गाउँहरूमा चर्चित एउटा लोकगीतमा भगवती नन्दादेवीले फलाम जत्तिकै कडा आँधीको सृष्टि गरिन् जसले गर्दा ती मानिस त्यही पुरिए। भारतको दोस्रो अग्लो हिमाल नन्दादेवीलाई भगवतीको रूपमा श्रद्धा गरिन्छ।

पाको उमेरका महिला पनि

अस्थिपंजरबारे यसअघिका अध्ययनहरूले मारिएका अधिकांश मानिसहरू ‘औसत संरचनाभन्दा’ अग्ला रहेको पत्ता लगाएका छन्। धेरैजसो ३५ देखि ४० वर्षका रहेको एवम् शिशु र बालबालिका नरहेको पत्ता लगाइएको छ। केही पाको उमेरका महिला थिए जो सबैको स्वास्थ्य सामान्यता राम्रो थियो। साथै त्यो अवशेष नवौँ शताब्दीमा कुनै महाविपत्तिमा परेर ज्यान गुमाएका एउटै समूहका मानिसको भएको आम मान्यता पनि पाइन्छ।

भारत, अमेरिका र जर्मनीका १६ वटा संस्थाका २८ जना सहअध्येताहरू संलग्न पछिल्लो पाँच वर्ष लामो अध्ययनले ती अनुमानहरू सत्य नहुन सक्ने उल्लेख गरेको छ। वैज्ञानिकहरूले जेनेटिक विश्लेषण र कार्बन डेटेड विधिबाट १५ जना महिला सहित ३८ वटा मानव अवशेषको अध्ययन गरेका थिए जसमा केही १,२०० सय वर्षअघिका थिए।जसअनुसार मृतकहरू वंशाणुगत रूपमा फरक-फरक छन् र मृत्यु पनि एक हजार वर्षसम्मको अन्तरमा भएको छ।

“यसले एउटै प्रलयका कारण सबैको मृत्यु भएको मान्यताको खण्डन गरेको छ,” अध्ययनको नेतृत्व गरेकी हार्वर्ड विश्वविश्वविद्यालयमा विद्यावारिधिकी विद्यार्थी एडाओइन हार्नी भन्छिन्। “रूपकुण्डमा के भएको थियो भन्ने अझैँ अस्पष्ट छ तर एउटा घटनामा सबैको मृत्यु भएको थियो भनेर व्याख्या गर्न नसकिने निष्कर्षमा अब हामी निश्चिन्त भएका छौँ।”

एउटै घटनामा मारिएका हुन्?

तर थप चाखलाग्दो कुरा के हो भने वंशाणुगत अध्ययनले मृतकहरूको एउटा समूह अहिले दक्षिण एसियामा बसिरहेका मानिसहरूसँग मिल्दो देखिन्छ। अर्को समूह अहिले युरोप खासगरी ग्रिकको क्रिट टापुमा बस्नेहरूसँग ‘निकट सम्बन्धित’ देखिन्छ। अनि दक्षिण एसियालीसँग मिल्ने मृतकहरू पनि ‘एउटै समुदायको भएको देखिन्न’।

“तीमध्ये केहीको वंश उपमहाद्वीपको उत्तर र केहीको दक्षिणतर्फका मानिसहरूसँग मिल्दो जुल्दो छ,” हार्नीले भनिन्।त्यसो भए केही सय वर्षअघि फरक-फरक समूहका मानिसहरू ससाना समूहमा यात्रामा गएका थिए? तीमध्ये केही एउटै घटनामा मारिएका हुन्?ताल व्यापारिक मार्गमा पर्दैन र त्यहाँ हातहतियार वा व्यापारिक सामग्री भेटिएका छैनन्।

वंशाणुगत अध्ययनले कुनै प्राचीन जैविक कीटाणु पनि फेला परेको छैन जसले गर्दा रोगका कारण ती मानिस मारिएको बताउन सकियोस्।

युरोपबाट हिन्दु तीर्थाटनमा?

मानिसहरू त्यो क्षेत्रमा किन यात्रा गर्दै थिए भन्ने कुरा सम्भवतः तालको बाटोमा पर्ने तीर्थस्थलले जनाउँछ। अध्ययनहरूले १९औँ शताब्दीको अन्त्यसम्म त्यस क्षेत्रमा तीर्थस्थलको विश्वसनीय प्रमाण नरहेको देखाएका छन्।

तर स्थानीय मन्दिरहरूका आठौँ र १०औँ शताब्दीको बीचका शिलालेखले ‘सम्भावित तीर्थाटन औँल्याउँछन्।’ त्यसैले वैज्ञानिकहरूले त्यस क्षेत्रमा फेला परेका केही अवशेषहरू ‘तीर्थाटनकै क्रममा सामूहिक मृत्यु’ भएकाहरूको हुनसक्ने विश्वास गर्छन्।

तर पूर्वी भूमध्यसागर भूमिबाट कसरी मानिसहरू भारतको अग्लो हिमालस्थित विकट तालसम्म पुगे? युरोपबाट लामो बाटो हुँदै हिन्दु तीर्थस्थलमा सहभागी हुन रूपकुण्ड मानिसहरू पुग्ने सम्भावना कम देखिन्छ।

वा वंशाणुगत रूपमा अलग पूर्वी भूमध्यसागर क्षेत्रका पूर्वजका कैयौँ पुस्ता त्यस क्षेत्रमा बस्दै आएका थिए? “हामी अझैँ पनि जबाफहरूको खोजी गरिरहेका छौँ,” हार्नीले भनिन्।


Last Updated on: March 2nd, 2021 at 6:24 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया