आइतबार १९ मंसिर २०७८

नेकपा प्रचण्ड- नेपाल समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको समूहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रूपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन्।

विप्लव नेतृत्वको समूहसँग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेसँगै संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरूले सरकार र विद्रोही पक्ष दुवैलाई प्रचारबाजी र जनताको भावनासँग खेल्ने काम नगर्न सचेत गराएका हुन्।

विप्लव नेतृत्वको विद्रोही समूहसँग वार्ता गर्ने सरकारको कदमलाई नेपाली कांग्रेसले स्वागत गरे पनि प्रचारबाजीको रूपमा प्रयोग नगर्न सरकारलाई र शक्ति सञ्चयको रूपमा प्रयोग नगर्न विप्लव समूहलाई सचेत गराएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले विद्रोहको अन्तत निकास शान्तिपूर्ण राजनीति नै भएकाले वार्ताको प्रयास सकारात्मक भएको प्रतिक्रिया दिए। तर बदलिँदो राजनीतिक घटनाक्रमले एउटा आकार नलिँदै वार्ता टोली गठन गरेर प्रचारबाजीमात्रै गर्न खोजिएको भए त्यस किसिमको गल्ती नगर्न सरकारलाई सचेत गराए।

उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिसकेपछि नेपालको राष्ट्रिय राजनीतिले एउटा निश्चित आकार लिन बाँकी छ। त्यो आकार लिएर अगाडि बढ्ने प्रक्रियाले निश्चित परिदृश्य उत्पन्न हुनुपूर्व नै एकाएक अहिले जुन समिति बनेका छन् , यो केबल जनता शान्तिको अपेक्षा राख्छ भन्ने हिसाबले यसलाई वार्ताका लागि वार्ता गरे जस्तो गरेर, वार्ता समिति बनाएर हामीले काम गर्न खोजेका थियौं भन्ने अवस्था बनाएर केबल प्रचारबाजीमा गएर भावनामा खेल्ने कर्म सरकारले गर्नुहुन्न र सँगै विद्रोहीहरूले पनि गर्नुहुन्न। यो सन्दर्भमा हामी सरकार र विद्रोही पक्षलाई चेतावनीयुक्त भाषामा नेपाली कांगेस पार्टीको तर्फबाट तपाईंहरूले जनताको भावनालाई खेलवाड नगरेर वार्तालाई केवल प्रचारबाजी, सरकारले प्रचारबाजीमा र विद्रोहीले केवल शक्ति सञ्चय गर्ने रणनीतिमा प्रयोग गर्ने दिशामा तपाईंहरू जानुहुन्न र इमान्दार ढंगले वार्ता गरेर समाधानमा पुग्नुपर्छ भन्ने अपिल गर्न चाहन्छौं।’
विप्लव समेतको सहभागितामा भएको जनयुद्ध र नेपाली कांग्रेस लगायत दलहरूले गरेको शान्तिपूर्ण आन्दोलनपछिको १२ बुँदे समझदारी र सोही समझदारीको जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको परिधिभित्रैबाट समाधान खोजी देशलाई निकास दिन पनि अपिल गरे।

उनले भने, ‘स्वागतयोग्य छ। सकारात्मक छ। तत्कालै विप्लव समूहबाट पनि वार्ता समिति बन्यो। हामीले दुवै समिति बन्ने कुरालाई सकारात्मक रूपमा लिएका छौं। नेपाली कांग्रेस पार्टीले पहाड जत्रो आकारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई शान्तिपूर्णरूपमा रूपान्तरण गर्ने क्षमता राख्छ भने शासकीय योग्यता तपाईंहरूले राख्नुपर्छ र आफ्नै एउटै रूप रंग भन्ने नेपाल कम्युनिष्ट पार्टीलाई उही रूप रंगमा ल्याउनुहोस् भनेर हामीले अपिल गरेका थियौं। त्यसैले सरकारले प्रतिबन्ध लगाएर बल प्रयोगबाट समाधान गर्न खोज्नु सरकारले गलत गर्दैछ र हिंसाको बाटोबाट अगाडि गएर गतिविधि गर्दैहुनुहुन्छ ,विप्लवले गलत गर्दै हुनुहुन्छ भनेर हामीले वार्ताबाट समाधान खोजी गरेका थियौं। त्यसकारण अहिले सरकारले बनाएको वार्ता समिति र विप्लव समूहले बनाएको वार्ता समितिलाई सकारात्मक रूपमा लिन्छौैं। स्वागतयोग्य मान्छौं।’

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता गंगाालाल तुलाधरले सरकारले समस्यालाई तार्किक निष्कर्षमा पुर्याउन नभई अहिलेको राजनीतिक घटनाक्रमबाट ध्यान अन्यत्र मोड्नका लागि गरिएको ‘प्रपञ्ज’को संज्ञा दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट छ भन्नु, सर्वोच्च अदालतले मैले भनेजस्तो गर्दिएन भने आन्दोलन गर्छु भन्नु र अहिले वार्ताका लागि टोली गठन गर्नु प्रधानमन्त्रीको विक्षिप्त मानसिकताको श्रृंखलाकै रूपमा आएको टिप्पणी उनले गरे।


Last Updated on: March 2nd, 2021 at 8:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया