सोमबार १३ मंसिर २०७८

हजारौं फिट माथिसम्म आकाश खरानीले ढाकिने गरी ज्वालामुखी विष्फोट भएको छ । विष्फोटपछि नीलो आकाश पूरै खरानीले ढाकिएको थियो र तल बसेर स्थानीयले यो भयानक विष्फोटको दृश्य हेरेका थिए । इण्डोनेसियाको सिनाबुङ पर्वतमा १३ वटा विस्फोट भएको रेकर्ड गरिएको छ जहाँ विष्फोटको खरानी सुमात्राभन्दा ५ हजार मिटर माथिसम्म उछिट्टिएको थियो ।

पछिल्ला वर्षहरुमा यो ज्वालामुखीबाट ५ किलोमिटरको दायरामा कोही पनि नबस्ने भएकोले यसबाट मानविय वा अन्य क्षतिको सम्भावना तत्कालका लागि नरहेको बताइएको छ । तत्कालको लागि आसपासका क्षेत्र खाली गर्न आदेश दिइएको छैन र कुनै उडानहरु पनि प्रभावित भएको खबर छैन तर स्थानीयहरु पनि कुनै जोखिम लिने पक्षमा छैनन् । ‘त्यहाँका बासिन्दा त्रसित छन्, बाक्लो ज्वालामुखीको खरानीबाट बच्न धेरै जना घरभित्रै बसिरहेका छन्,’ ४१ वर्षका रोय बांगुनले एएफपी समाचार एजेन्सीलाई बताए।

सिनाबुङका निगरानी अधिकृत मुहम्मद नुरुल अस्टोरीले मंगलबारको धुवाँ र खरानीको बादल सन् २०१० पछि उनले देखेको सबैभन्दा ठूलो थियो र उनले यो अझै ठूलो हुन सक्ने चेतावनी दिए । ‘कुनै पनि बेला ठूलो लाभाको डोम फुट्न सक्छ, जसले गर्दा तातो बादलको ठूलो पहिरो आउन सक्छ,’ उनले भने । अहिलेसम्म कोही पनि घाइते भएको रिपोर्ट गरिएको छैन । अधिकारीहरुले भने मानिसहरूलाई क्रेटरबाट कम्तीमा २ किलोमिटर टाढा बस्न आग्रह गरेका थिए ।

८,५३० फिट अग्लो सिनाबुङ ज्वालामुखी शताब्दीऔंसम्म सुषुप्त थियो । सन् २०१० मा सयौं वर्षपछि यो पुनः जीवित भएर विस्फोट हुँदा दुई जना मानिसको मृत्यु भएको थियो । केही समयको निष्क्रियतापछि सन् २०१३ मा फेरि यो विस्फोट भयो र त्यसबेलादेखि यो एकदमै सक्रिय रहेको छ । सन् २०१४ मा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने सन् २०१६ मा भएको विस्फोटमा सात जनाको मृत्यु भएको थियो । माउन्ट सिनाबुङको सक्रियता गत वर्षदेखि बढेको छ र यसलाई उत्तरी सुमात्रा प्रान्तको लागि दोस्रो स्तरको सतर्कतामा राखिएको छ ।


Last Updated on: March 3rd, 2021 at 11:41 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया